राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै


२८ फाल्गुन २०७६, बुधबार
Dordi A

काठमाडौं, २८ फागुन । जलविद्युतको ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ ।

दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो । विसं २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम तीव्र भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजनाको निर्माण हालसम्म ९७ प्रतिशत सम्पन्न भइसकको उनको भनाइ छ । उनका अनुसार बाँध क्षेत्र निर्माण, विद्युत्गृह, इलेक्ट्रोमेकानिकललगायतको काम केही प्रतिशत मात्र गर्न बाँकी रहेको छ ।

यहाँ विद्युत गृहमा उपकरण जडान गर्ने, सिभिल निर्माण गर्ने काम बाँकी रहेको आयोजनाले जनाएको छ । विसं २०७४ मै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्माण निर्धा्रित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

‘सम्झौताअनुसार अब यस आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने आगामी चैत ३० गतेसम्म रहेको छ, यस मितिभित्रै आयोजनाबाट बिजुली उत्पादन शुरु हुन्छ’, प्रवर्धक वस्तीले भने ।

यसरी आयोजनाको काम बढ्दा लागत पनि रु ६७ करोड ६० लाखभन्दा बढी लाग्ने अनुमान आयोजनाको रहेको छ । रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत गृहमा झारिने बताइएको छ ।

यस आयोजनामा १२ दशमलव पाँचका दुई गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । यस आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवर्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता भएको छ । जिल्लामा यस आयोजनासहित दोर्दी करिडोरमा मात्र पाँच आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । यी सबै आयोजनाको निर्माणपश्चात् वार्षिक करोडाँैको बिजुली उत्पादन हुने भएको छ ।

जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ । यस आयोजनाले मङ्गलबारदेखि आयोजना प्रभावित र जिल्लावासीका लागि रु १५ करोड बराबरको शेयर समेत खुला गरेको छ । रु एक हजारदेखि रु १० लाखसम्म शेयर हाल्न पाउने र आगामी चैत ३० गतेसम्म खुला रहने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७