जातीय विभेद गर्ने सरकारी कर्मचारीसहित चार पक्राउ


२९ फाल्गुन २०७६, बिहीबार
chhuwachut2020 03 09 07 29 58

काठमाडौं, २८ फागुन । भाडामा बस्ने विद्यार्थीलाई जातीय विभेद गर्ने सरकारी कर्मचारी श्रीकृष्ण बिडारीसहित चारजना पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका–१० स्थित बिडारीको घरमा भाइबहिनीसहित डेरा गरी बस्ने दीपा नेपालीले जातीय विभेद गरी कोठा छाडेर जान दबाब दिएको भन्दै महानगरीय प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएकी थिइन् ।

प्रहरीले बिडारीकी श्रीमती राधिका, सोही घरमा डेरा गरी बस्ने जनक ढुंगाना र उनकी श्रीमती सन्तोषीलाई बुधबार नियन्त्रणमा लिएको हो । श्रीकृष्ण भने मंगलबार नै प्रहरीमा पुगेका थिए । बिडारी दोलखाको लामाबगरस्थित सीमा प्रशासन कार्यालयका प्रमुख हुन् ।

बिडारीसहितलाई काननु बमोजिम कारबाहीको माग गर्दै मंगलबार सांसदसहित दलित नेता र अधिकारकर्मीले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएका थिए । गृह प्रशासनले बिडारीलाई विभागीय कारबाही समेत गरेको स्रोतले जनाएको छ ।

बिडारीले घरमा कोठा भाडामा लिएर भाइ र बहिनीसहित बसेकी कैलालीकी दीपा नेपालीलाई जातकै कारण कोठा छाड्न दबाब दिने, पानीलगायत उपभोग्य वस्तुमा बन्देज लगाउने र दुर्व्यवहार गर्ने हर्कत गरेका थिए ।

१३ मंसिरदेखि डेरा गरी बस्न थालेकी नेपालीका दिदीभाइ त्यसको भोलिपल्टदेखि नै विभिन्न विभेद खेप्दै आएका छन् । कैलालीबाट काठमाडौं आएकी दीपा त्रिवि केन्द्रीय क्याम्पसमा अंग्रेजी स्नातकोत्तर र नेपाल ल क्याम्पसमा एलएलबी अध्ययनरत छिन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७