प्रदेश-२ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता


प्रकाशित मिति : March 12, 2020

काठमाडौं, २९ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले प्रदेश–२ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

नेकपा प्रदेश– का अध्यक्ष समेत रहेका सांसद साहले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह, समाजवादी पार्टीका उमाशंकर अरगरिया र राजपा नेपालका लक्ष्मणलाल कर्णको समर्थनमा संघीय संसदको प्रतिनिधिसभामा आज (विहिबार) उक्त सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

‘नेपालको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकन डलर रहेकोमा यस क्षेत्रका नागरिकको औसत आय अमेरिकन डलर ५७० मा सीमित रहनुपरेको छ, सबैभन्दा डरलाग्दो तथ्याङ्क यो छ कि, यस क्षेत्रको मृत्युदर पनि क्रमिक रूपमा बढ्दै गइरहेको छ’ साहले दर्ता गरेको प्रस्तावमा तथ्याङ्ग उल्लेख गर्दै भनिएको छ, ‘संघीय शासन प्रणाली लागू भएपश्चात नेपाल सरकारबाट घोषित नीति तथा कार्यक्रमअनुसार प्रदेश सरकारलाई प्राप्त अनुदान रकम खर्च हुन नसकी फ्रिज हुने क्रममा जारी नै छ, एक आर्थिक वर्षमा फ्रिज भएको रकम अर्को आािर्थक वर्षमा थप पठाउने अभ्यास पनि छैन ।’

जातीय विभेद, गरिबी तथा पछौटेपनको रोगबाट आक्रान्त प्रदेश–२ का नागरिकले मुक्ति पाउन नसकेको जनाउँदै सो प्रदेशका नागरिकको आयु वृद्धिका लागि आधारभूत स्वास्थ्य, शिक्षा र रोजगारी बढाउन पहल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । सबै प्रकारका विभेद अन्त्य गर्न तथा समानताको हकको प्रभावकारी कार्यान्वयन गर्दै संविधानको मर्म अनुरुप प्रस्ताव दर्ता गराइएको हो ।

यस्तो छ संसदमा दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्ताव

प्रतिक्रिया दिनुहोस्