कोरोनाले इटली, स्पेन र फ्रान्समा एकैदिन ५०१ जनाको मृत्यु


३ चैत्र २०७६, सोमबार
korona tanjug ap 1

काठमाडौं,३ चैत । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा कोरोनाले एकैदिनमा भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

बीबीसीका अनुसार, इटलीमा आइतबार ३ सय ६८ कोरोना संक्रमतिको ज्यान गएको छ । योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । आइतबारै ३ हजार ५ सय ९० नयाँ बिरामी थपिएका छन् । यहाँको कुल कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ४७ छ ।


युरोपेली युनियनमा आबद्ध अर्को मुलुक स्पेनमा पनि एकैदिन ९७ मानिसको मृत्यु भएको छ । हालसम्म १ हजार ४ सय ५४ को ज्यान गइसकेको स्पेनमा कुल संक्रमित संख्या ७ हजार ८ सय ४५ छ । बीबीसीका अनुसार, फ्रान्समा आइतबार ३६ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २७ पुगेको छ ।

कुनै संकेत विना नै सर्ने कोरना भाइरस

धेरै विज्ञहरुले सीएनएनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कति प्रतिशत रोग लक्षण देखिएका मानिसबाट सर्ने र कति प्रतिशत लक्षण नदेखिएका मानिसबाट सर्छ भन्ने पत्ता नलागेको बताएका थिए । यसअघि अनुमान गरिएको भन्दा कुनै लक्षण नदेखिएका मानिसबाट पनि यो भाइरस अरूमा धेरै सर्छ भन्ने कुरा भने पुष्टि भइसकेको छ ।

‘हामीले अहिले के थाहा पाएका छौं भने लक्षण नदेखिएका मानिसबाट सर्नुले यो भाइरसको संक्रमण बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ’, मिन्नेसोटा युनिभर्सिटीका संक्रमित रोग अनुसन्धान केन्द्रका निर्देशक माइकल ओस्टरहोल्मले भने । उनले यस किसिमको संक्रमण रोक्न निकै कठिन हुने पनि बताए ।

दुई साताअघि एक समाचार पत्रिकामा बिल गेट्सले पनि कुनै लक्षण नदेखिएका मानिसबाट यो रोग सर्नसक्ने भन्दै त्यसबारे चिन्ता व्यक्त गरेका थिए । उनले कुनै रोग नदेखिएका मानिसबाट सरेको पुष्टि भइसकेकाले यसअघिको सार्स र मार्सजस्ता भाइरसको तुलनामा यसलाई नियन्त्रण गर्नु निकै कठिन रहेको बताएका थिए । अन्य मानिसहरु पनि कुनै लक्षण नदेखिएका मानिसबाट यो रोग सर्ने सम्भावना बढी रहेकोमा सहमत छन् । अहिले कुनै लक्षण नदेखिएका मानिसबाट नै यो भाइरसको संक्रमण बढ्दो क्रममा रहेको अन्य विशेषज्ञहरुले पनि बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७