वन क्षेत्रमा उत्खनन् गरिरहेका गाडी गिटी-बालुवासहित नियन्त्रण


३ चैत्र २०७६, सोमबार
2 4

सुन्दरहरैंचा, ३ चैत । सलकपुर सव–डिभिजन वन कार्यालयले वन क्षेत्रमा उत्खनन गरिरहेको अवस्थामा जेसिबी, ट्रयाक्टर र टिपर नियन्त्रणमा लिएको छ ।

सलकपुर सव–डिभिजन वन कार्यालयले को ९ ख ६०८४ नम्बरको टिपर, को १ क ३५११ नम्बरको जेसिबी र को १ त ७१२० नम्बरको ट्रयाक्टर गिट्टी–बालुवासहित नियन्त्रणमा लिएको हो ।

वन कार्यालयले उत्खनन गर्न निषेधित क्षेत्र केराबारी गाउँपालिका र सुन्दरहरैचा नगरपालिकाको सिमाना मोदुवा स्थित सुकुना खोलामा उत्खनन गरी रहेको अवस्थामा गिट्टी बालुवा सहित जेसिबी, टेक्टर र टिपरलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको सलकपुर सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत लालबहादुर माझीले बताएका छन् । उनले वन ऐन अनुसार कानुनी प्रक्रिया अगाडी बढाउने बताएका छन् ।

 

1 4

स्थानीयद्वारा वन क्षेत्रमा उत्खनन हुँदैछ भन्ने खबर पाएपछि श्री लोहोन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समूह, खोर्सानेमा बुझ्दा उत्खनन कार्य केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले गर्न लगाएको भनी जनाएको पूर्व संविधान सभा सदस्य सांसद चन्द्र गुरुङले बताएका छन् । उनले भने, ‘जङ्गलमा गिट्टीहरु खन्दै छ भनेर खबर आए पछि लोहोन्द्रा पोस्टको वन कर्मचारीलाई सोध्दा केरावरी गाउँपालिकाको अध्यक्षले खनेको भनेर भने ।’

उत्खनन भएको स्थान सुन्दरहरैचा भित्रै भएकोले प्रहरीलाई खबर गरेर सवारी साधन नियन्त्रणमा लिएर सलकपुर सव–डिभिजन वन कार्यालयमा लग्न आग्रह गरेको गुरुङले बताए ।
तर सुन्दरहरैचा भित्रै उत्खनन हुँदा पनि बेलबारी इलाका प्रहरी कार्यालयले उत्खनन कार्यमा प्रयोग भएको सवारी साधनलाई नियन्त्रण गर्न आएका प्रहरीलाई केराबारी लान आदेश फोनमार्फत भएको गुरुङको गुनासो रहेको छ ।

बेलबारी इलाका प्रहरी कार्यालयले भने केराबारी गाउँपालिकाको अनुमतिमा उत्खनन कार्य भएकोले नियन्त्रित सवारी साधन केराबारी लग्दा आवश्यक कानुनी प्रक्रिया बढाउन र अनुसन्धान गर्न सहज हुने भएकोले केराबारी वन कार्यालयमा लैजान अनुरोध गरेको जनाएको छ ।

 

3 1

इलाका प्रहरी कार्यालय केराबारीलाई विषय आवश्यक सहयोग गरिदिने सम्बन्धमा रहेको केराबारी गाउँपालिकाको पत्रको आधारमा उक्त वन क्षेत्रमा उत्खनन कार्य भएको सलकपुर सव–डिभिजन वन कार्यालयले जनाएको छ ।

२०७६ चैत २ गतेको उक्त पत्रमा ‘केराबारी गाउँपालिकाले लोहन्द्रा केराबारी बन व्यवस्थापन समूहसँगको सहकार्यमा लोहोन्द्रा केराबारी साझेदारी वनको त्रिकुटे मडुवा क्षेत्रमा फायरल्यान्ड विस्तार कार्य गर्ने र सोका लागि आवश्यक पर्ने गिटी, बालुवा सुकुना खोलाको त्रिकुटे मडुवा क्षेत्रबाट ल्याउनका लागि २०७६–१२–२ देखि ७ गतेसम्म तपसिल बमोजिमका साधन प्रयोग गरिने भएकोले आवश्यक सहयोग गरिदिनु हुन सिफारिस साथ अनुरोध छ’ भन्ने उल्लेख गरिएको छ ।

सवारीसाधनमा दुई वटा ट्रयाक्टर र एक जेसिवीको उल्लेख गरेता पनि आइतबार को ९ ख ६०८४ नम्बरको टिपर पनि नियन्त्रणमा परेको छ । पत्रमा को २ त ४०७८ र को २ त ७१२० नं.को ट्रयाक्टर र को १ क ३५११ नं. को जेसिवाको मात्र उल्लेख गरिएको छ । बोधार्थमा ४ वटा वन कार्यालयको नाम उल्लेख गरिएको छ ।

डिभिजन वन कार्यालय, विराटनगर, मोरङ, सव डिभिजन वन कार्यालय, केराबारी, मोरङ, सव डिभिजन वन कार्यालय, सलकपुर, मोरङ र लोहोन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समूह, खोर्साने मोरङ रहेको छ । पत्रमा केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीको हस्ताक्षर रहेको छ ।

letter

केराबारी गाउँपालिका अध्यक्ष कार्कीले भने पत्रमा उल्लेख विवरण बमोजिम फायरल्यान्ड विस्तारकार्यको निम्ति सलकपुर सव–डिभिजन वन कार्यालयसँगको सहकार्यमा नै विकास निर्माण कार्यमा सहयोग गर्ने समझदारी भए अनुसार उत्खनन कार्य सुरु गरेको बताएका छन् ।

सलकपुर सव–डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको सवारी साधनमा टिपरलाई उत्खननको लागि अनुमति नदिएको स्वीकार छन् । उनले भने, ‘मैले चैँ ट्रयाक्टर मात्र दिएको हो तर टिपर एउटा पक्राउ परेको छ भन्ने सुनेको छु । अरू टिपर पनि थियो भन्ने सुनेको हो ।’

फोहोर व्यवस्थापन गर्न फायरल्यान्ड विस्तार कार्यको लागि बाहेक अतिरिक्त उत्खनन नगर्न र गिट्टी बालुवा नबोक्न सहमति भए पनि सो कार्यको लागि जिम्मेवारी लिएका गिटीबलुवा ओसारपसार गर्ने व्यवसायले गाउँपालिकाको निर्णय उल्लघन गरेको खबर भने पाएको अध्यक्ष कार्कीले बताएका छन् ।

उक्त समयमा अनुगमन गर्न नसकेको पनि अध्यक्ष कार्की बताए । उनले भने, ‘सहमति भन्दा बढी उत्खनन भएको भनेर मैले पनि सुने तर दैनिक अनुगमन गर्न सकिएन । त्यही कारण स्थानीयबाट गुनासो आएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७