उद्योगीलाई मन्त्री भट्टको चेतावनी, ‘ग्याँस विक्री सहज नबनाए प्रहरी र सेना लगाउँछु’


३ चैत्र २०७६, सोमबार
Lekhraj bhatta

काठमाडौं, ३ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्याँस बिक्री वितरणलाई सहज नबनाएर उद्योगी–व्यवसायीमाथि बल प्रयोग गर्ने चेतावनी दिएका छन् ।

केही दिनदेखि बजारमा उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्याँस नपाएपछि सोमबार ग्याँस उद्योगीलाई मन्त्रालयमा बोलाएर यस्तो चेतावनी दिएका हुन् । छलफलका लागि भन्दै ग्याँस उद्योग संघलाई मन्त्रालयमा मन्त्री भट्टले बोलाएका थिए ।

मन्त्री भट्टले ग्याँस उद्योगीले सहयोग नगरे प्रहरी तथा सेना समेत परिचालन गर्न सक्ने चेतावनी ग्याँस उद्योगीलाई दिएका छन् । उनले भने, ‘ग्यासलाई कसरी सहज बनाउने विषयमा छलफल गरेको हो । ग्याँस बिक्री वितरण सहज नभए सेना लगाउन पनि सरकार पछि पर्दैन ।’

मन्त्री भट्टले संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप चेतावनी दिए । सो क्रममा मन्त्री भट्टले ग्याँसमा तत्काल सहजता नआए उद्योग, डिलर र सब–डिलरको लाइसेन्स खारेज गर्ने प्रक्रिया समेत अगाडि बढाउने चेतावनी दिएका थिए ।

छलफलका क्रममा ग्यास उद्योगीले कारबाही गर्ने वातावरण बन्न नदिने प्रतिबद्धता व्यक्त गरेको थिए । ग्याँस उद्योग संघका वरिष्ठ उपाध्यक्ष कुश मल्लीले होली मनाउन भारत गएका ड्राइभर आउन ढिला भएका कारण ग्याँस आपूर्ति केही असहज भएको जानकारी गराएका छन् ।

उनले अबको एक सातामा ग्याँस आपूर्ति सहज हुने पनि बताएका छन् । उनले थपे, ‘ग्याँस सहज बनाउने विषयमा मन्त्री ज्यूसँग छलफल भयो, मासिक ५० हजार मेट्रिक टन ग्याँस आयात गर्ने भन्ने भएको छ ।’ व्यवसायीले सरकारलाई कारबाही नै गरिहाल्नुपर्ने अवस्था सिर्जना हुने वातावरण बन्न नदिने बताएको उनले जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७