म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेसियाली कम्पनीको लगानी


४ चैत्र २०७६, मंगलवार
narsinghgarh hydro
सांकेतिक तस्वीर

म्याग्दी, ४ चैत । म्याग्दीको धौलागिरी गाउँपालिकामा निर्माण हुन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेसियाको सेर्वा दिनामिक कम्पनीले लगानी गर्ने भएको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रोभिलज प्रालि र सेर्वा दिनामिकबीच शेयर खरिद, इञ्जिनियरिङ, निर्माण र उत्पादन (ईपीसीसी) मा सहभागी हुने सम्झौता भएको हो ।
मलेसियाको सेर्वा दिनामिक होल्डिङ्स बर्हाडको सहायक कम्पनी सेर्वा दिनामिकले परियोजनाको सञ्चालन तथा मर्मत पनि गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा सेर्वा दिनामिकका तर्फबाट डा. इर मोहम्मद अब्दुल करिम बिन अब्दुल्लाह तथा हाइड्रोभिलेजका प्रबन्ध निर्देशक सुशील पोखरेलले हस्ताक्षर गरेका छन् । सेर्वा दिनामिकअन्तर्गतका कम्पनीको समूहमा अन्तर्राष्ट्रिय ऊर्जा सेवा प्रदायक पनि छ जसले विश्वका विभिन्न पाँच क्षेत्रमा इञ्जिनियरिङ सेवादेखि सञ्चालन तथा मर्मत, खरिद, निर्माण र उत्पादन गर्दै आएको छ ।

१० करोड अमेरिकी डलर लागत अनुमान गरिएको म्याग्दी खोलाको २०७५ असोज पहिलो हप्ता नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । पाँच वर्षमा विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ ।

आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा आठ रुपैयाँ ४० पैसा र वर्षातमा चार रुपैयाँ ८० पैसाका दरले खरिद गर्नेछ । म्याग्दी खोलामा नदी प्रवाही (आरओआर) आयोजनाको बाँध धौलागिरि गाउँपालिका–४ मुदीको दोभान र विद्युत्गृह बगरको जेल्तलुङमा प्रस्ताव गरिएको छ ।

बाँधसम्म पुग्न कल्लेनीदेखि २४ किलोमिटर पहुँचमार्ग खन्नुपर्छ । अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउराको भिरसम्म पहुँचमार्ग खन्न शुरु गरेको छ । आयोजनाबाट उत्पादित विद्युत् मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा निर्माण हुन लागेको सवस्टेशनबाट १३२ केभी प्रसारण लाइनमा जोडिने छ ।

प्राधिकरणले डाँडाखेतमा सवस्टेशनसँगै त्यहाँदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटसम्म प्रसारण लाइन र राहुघाटमा अर्को सवस्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । आयोजनाले पहुँचमार्ग विस्तारपछि साढे तीन वर्षमा आयोजना बनाउन सकिन्छ । आयोजनाले ३३ करोड ५९ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७