डेनीको एकल गायनमा डुबे श्रोता


४ चैत्र २०७६, मंगलवार
deni

काठमाडौं, ४ चैत । प्रविधिको बढ्दो प्रयोगका कारण आजभोलि ‘लाइभ’ कार्यक्रममा सहभागी हुने अवसर कम मात्र जुर्छ ।

म्युजिक ट्रयाकमा गाइने गीतहरुबाट वाक्कदिक्क भएका श्रोतालाई गायक तथा संगीतकार डेनी निरौलाले गीत–संगीतको ‘अग्र्यानिक’ स्वाद पस्किए । साँस्कृतिक संस्थानले हरेक महिना आयोजना गर्दै आएको एकल गायन श्रृंखला ‘सुर साधना’ को १८ औं श्रृंखला गायक तथा संगीतकार डेनी निरौलाले लाइभ म्युजिकमा गीत गाउँदा श्रोताहरुले ट्रयाक म्युजिकको दिक्दारी भुलेर उनकै गीत संगीतमा मस्तसँग झुमे । विरलै मात्र आयोजना हुने यस्ता सुगम संगीतको कार्यक्रममा सहभागी श्रोताले डेनीको सुगम संगीतप्रतिको मोह र गायकीको खुलेर प्रशंसा गरेका थिए ।

लामो समयदेखि गायन र संगीतलाई आफ्नो कर्म बनाउँदै आएका इलाम गायक–संगीतकार डेनी निरौलाले ‘म जिउँदो लाश’ बोल रहेको गीतबाट आफ्नो प्रस्तुतिको खाता खोलेका थिए ।
कार्यक्रममा डेनीले ‘धेरै धेरै लामो कथा’, ‘फूल दिन्छु भन्थ्यौ’, ‘लाली हुँदोरहेछ माया’ लगायतका गीत आफ्नी आमालाई समर्पण गरेर गाएका थिए ।

डेनीको एकल गायनमा गायिका बहिनी झुमा निरौलाले युगल गायनमा साथ दिएकी थिइन् । कार्यक्रममा डेनीको प्रस्तुतीमा खड्ग बुढामगर, लोकराज राई, अनुप दास, रोहित सुवेदी, दुर्गाप्रसाद खतिवडा, दीपेन्द्र बज्राचार्य, भगिरथ सुस्लिङ, सीतामैया राजचल र नरेश प्रजापतिले वाद्यवादनमा सहयोग गरेका थिए ।

गीतकार चेतन कार्की, गायक तथा संगीतकार गणेश रसिक, गीतकार सुवासचन्द्र ढुंगेल, संगीतकार भुपेन्द्र रायमाझी, गायक गणेश पराजुली लगायतको उपस्थिति रहेको थियो । इलामको स्कुले जीवनदेखि नै गीत–संगीत सिर्जनामा लागेका डेनीले झण्डै तीन सयको हाराहारी विभिन्न विधाका गीतमा संगीत दिएका छन् । यस्तै उनी आफैले पनि केहि गीतहरु गाएका छन् ।

काठमाडौंलाई कर्मथलो बनाइरहेका गायक–संगीतकार डेनी निरौला गीत–संगीत सिर्जनासँग संगीत समेत पढाउँछन् । डेनीको सिङ्गो परिवार संगीत क्षेत्रबाट देश–विदेशमा चिनिएको छ । डेनीका बुबा कोमल निरौला स्वर्गीय स्वर सम्राट नारायण गोपालका समकालीन गायक हुन् । डेनीकमी बहिनी झुमा निरौला पनि गायिका हुन् । डेनी निरौलाले राष्ट्रिय गीत, आधुनिक, चलचित्रका गीतमा संगीत दिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७