प्रदेश-२ को राजधानी र नाम : नेकपाद्वारा प्रस्तावित जानकी प्रदेशमा मतदान गरिंदै


४ चैत्र २०७६, मंगलवार
lalababu

जनकपुरधाम, ४ चैत । प्रदेश–२ को नाम र राजधानी टुंगो लगाउन आज (मंगलबार) मतदान शुरु भएको छ । प्रदेशको नाम र राजधानी तोक्न गठन भएको विशेष संसदीय समितिको सुझावअनुसार मंगलबार गोप्य मतदान शुरु भएको हो ।

नेकपाले नाम जानकी र राजधानी जनकपुर, कांग्रेसले नाम मिथिला भोजपुरा र राजधानी जनकपुरको प्रस्ताव दर्ता गराएको छ । पहिलो चरणमा नेकपाको प्रस्ताव जानकी प्रदेशका लागि मतदान भइरहेको छ । मतदान सकिने बितिकै गणना हुनेछ ।

उक्त प्रस्तावमा दुई तिहाई पुगे घोषणा हुने जनाइएको छ । दुई तिहाई नपुगे कांग्रेसको प्रस्ताव मिथिला–भोजपुरामा मतदान हुने संसद सचिवालयले जानकारी दिएको छ । तेस्रो पटक मध्य मधेस र चौथो पटक समाजवादी र राजपाको प्रस्ताव मधेस प्रदेशका लागि मतदान हुनेछ ।

उच्चस्तरीय समितिमा राजधानी जनकपुर राख्न दलीय सहमति जुटे पनि नाममा एकमत नहुँदा मतदानको प्रक्रिया अगाडि बढाइएको संसद् सचिवालयका सचिव रञ्जित यादवले जानकारी गराएका छन् । विशेष समितले बुझाएको प्रतिवेदनमाथि छलफल भएपछि गोप्य मतदानको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन् । दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ । नेकपाको ३२, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७