नेकपाले प्रस्ताव गरेको जानकी प्रदेश अस्वीकृत, पक्षमा खस्यो ३७ मत

दोस्रो चरणमा कांग्रेसले प्रस्ताव गरेको मिथला प्रदेशका लागि मतदान हुने


४ चैत्र २०७६, मंगलवार
lalababu

जनकपुर, ४ चैत । प्रदेश–२ को नाम र राजधानीको टुङ्गो लगाउन आज (मंगलबार) भएको मतदानबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी प्रदेश अस्वीकृत भएको छ ।

मंगलबार भएको जानकी प्रदेशको पक्षमा ३७ मत खसेको छ । नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशका लागि भएको मतदानमा ३७ मत खसेको प्रदेश–२ सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । नेकपाका ३२ बाहेक ५ मत नेकपाको पक्षमा परेका छन् । तर ती मत कुन पार्टीका सांसदले दिए भन्ने खुलेको छैन । दोस्रो चरणमा कांग्रेसले प्रस्ताव गरेको मिथला प्रदेशका लागि मतदान हुनेछ ।

सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’, कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र केही सांसदले ‘मध्यमधेश प्रदेश’ नाम राख्न प्रस्ताव गरेका छन् ।

सबैभन्दा पहिले नामको विषयमा मतदान हुने र त्यसपछि राजधानीका विषयमा मतदान हुने जनाइएको छ । जसमा नेकपाले राखेको ‘जानकी प्रदेश’ बाट मतदान शुरु भएको थियो । अन्य नाममा क्रमशः मतदान हुने बताइएको छ । जुन नाममा नामका पक्षमा दुई तिहाइ पुग्छ सोही नाम सदर हुने प्रावधान छ ।

प्रदेश २ सभामा जम्मा १०७ प्रदेश सांसद छन् । नामको टुंगोपछि आजै स्थायी राजधानीको टुंगो लगाउन पनि मतदान हुनेछ । प्रदेश सभामा नेकपा ३२, सत्तारुढ समाजवादी पार्टी ३०, सत्ता साझेदार राजपा २५, प्रतिपक्षी कांग्रेसको १९ र १ जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७