महानगपालिकाका चार स्थानमा ट्राफिक आइल्याण्ड बन्दै, प्रभू र कृषिविकास बैंक सहयोग गर्ने


४ चैत्र २०७६, मंगलवार
90090144 552096552078965 1874939394356412416 n

काठमाडौं,४ चैत । काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका बढी भिडभाड हुने स्थानहरु जमल, रत्नपार्क, माइतीघर मण्डललगायतका स्थानमा ‘ट्राफिक आइल्याण्ड’ बन्ने भएका छन् ।

प्रभु बैंक र कृषि बिकास बैंकसँग काठमाडौँ महानगरपालिकाले आज छुट्टाछुट्टै सम्झौता गरी काठमाडौंका रत्नपार्क, जमल, तीनधारा पाठशाला गरी ३ स्थानमा ट्राफिक आइल्याण्ड बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
त्यसैगरी माइतीघर मण्डला अघिल्तिरको बगैँचालाई अहिलेको डिजाइन नविग्रिने गरी सौन्दर्यीकरण र हरियाली प्रवद्र्धन गर्ने गरी कृषि बिकास बैंकसँग सम्झौता गरेको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगै अन्य क्षेत्रसँग पनि साझेदारीमा यस्तो सम्झौता गरेसँगै सहरी सौन्दर्यीकरण र हरियाली प्रवद्र्धनमा थप टेवा पुग्ने देखिएको छ । काठमाडौँ महानगपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको रोहवरमा यी दुबै सम्झौतामा आजराष्ट्रिय सभा गृहमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिका विभिन्न स्थानमा ट्राफिक आइल्याण्ड आफैँ बनाउन सक्षम रहे पनि नीजि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि यस्तो सम्झौता गरेको बताए । ‘हामीसँग पैसा नभएर नीजि क्षेत्रलाई ट्राफिक आइल्याण्ड बनाउन दिएका होइनौँ,’ प्रमुख शाक्यले भने, ‘नीजि क्षेत्रलगायतलाई पनि प्रोत्साहन गर्न हामीले यस्तो सम्झौता गरेका हौँ ।
तपाईँहरुले आफ्नो प्रचार-प्रशारलाई बढी महत्व दिने अनि आइल्याण्ड बेवास्था गर्ने गरी ट्राफिक आइल्याण्ड बनाउनुभयो भने हामीलाई मान्य हुँदैन । तपाईँहरुले बनाएका आइल्याण्डमा मौसम अनुसारका फुल फुलाउने, सहरको सौन्दर्यीकरण बढाउने जस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।’ प्रमुख शाक्यले महानगरले आफ्नो क्षेत्र भित्रका आइल्याण्डहरु निर्माण गर्दा संस्कृति र सम्पदा झल्किने गरी निर्माण गर्ने रणनीति अनुसार नै डाँछी अप्पाको प्रयोगमा प्रोत्साहन गरेको पनि बताए । ‘ट्राफिक आइल्याण्डमा डाँछी अप्पा नै प्रयोग गर्नुहोला अनि रात्रिकालिन लाइटको पनि व्यवस्था गर्नुहोला’ उनले भने, ‘राम्रो गरे भने आगामी दिनमा अन्य ठाउँमा पनि हामी सहकार्य गरेर अघि बढ्न यसले सहयोग गर्ने छ ।’

प्रभु बैंकले तीन स्थानमा निर्माण गर्ने आइल्याण्डको सम्झौतामा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमति पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै शेरचनले सामाजिक उत्तर दायित्व अन्तरगत नै महानगरसँग ट्राफिक आइल्याण्ड निर्माणका लागि सम्झौता गरेको बताए । ‘काठमाडौं महानगरपालिका केन्द्रीय राजधानी पनि हो, यहाँ देश–विदेशबाट आउने सबैले देख्ने ठाउँ भएकाले पनि यी ठाउँहरु सुन्दर राख्नुपर्छ भने हामीले ट्राफिक आइल्याण्ड निर्माणका लागि सम्झौता गरेका हौँ,‘ उनले भने, ‘खाली ठाउँ सुन्दर हुन भन्ने हाम्रो धारण हो । महानगरपालिकासँग धेरै चरणको छलफलपछि यो सम्झौता भएको हो ।

यसले सहरलाई सफा र सुन्दर सहर बनाउ सबैको उत्तिकै दायित्व हुन्छ भन्ने सन्देश जान्छ भन्ने हामीले ठानेका छौँ । उनले सार्वजनिक स्थानमा ट्राफिक आइल्याण्ड हुने भएकाले यसलाई जोगाउनु ठूलो चुनौति हुने भन्दै सबैको सहयोग भयो भने १२ महिना सुन्दर राख्न सकिने पनि बताउनुभयो । उनले तीन ओटा ट्राफिक आइल्याण्ड निर्माणका लागि करी ४० लाख जति खर्च हुने भन्दै अबको तीन महिना भित्रमा काम सम्पन्न गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

सम्झौताबमोजिम बैङ्कले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।
आउँदो ५ बर्षका लागि भएको सम्झौताबमोजिम आइल्याण्डको व्यवस्थापन गरेवापत्को खर्च बैङ्क आफैंले व्यहोर्नेछ । आइल्याण्डमा बैङ्क र महानगरको परिचय झल्कने लोगो राखिनेछ । यसमा बिज्ञापन सामाग्री राखिने छैन । आपसी सहमतिमा राखिने डिजिटल बोर्डमा सन्देशमुलक सामाग्री मात्र राखिनेछ । 

त्यसैगरी माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने सम्झौतापत्रमा महानगरकातर्फबाट ज्ञवाली र बैंक तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रबचन्द्र गौत्तमले हस्ताक्षर गरेको थियो ।
सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै कृषि विकास बैङ्कका का. मु. उपमहाप्रबन्धक गौत्तमले, महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्वलाई बैंकले पूरा गर्ने बताए ।
सम्झौताबमोजिम अहिले भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गर्न सकिनेछ । आउँदो ५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने छ । उक्त क्षेत्रमा बैंकले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्नेछ । तर, यस्तो सामाग्री विज्ञापन मुलक हुनेछैन ।

राष्ट्रिय पर्वसँगै महानगरले अनुरोध गरेको अवस्थामा मण्डलालाई बहु प्रयोग गर्न सकिने छ भने यस वरिपरिका ट्राफिक आइल्याण्डहरुलाई कलात्मक ढङ्गबाट मर्मत गर्ने र सौन्र्दयकरण झल्काउन आवश्यक पर्ने फूल वोट विरुवा लगाउने काम बैंकले गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७