ढलसँगै बगेर आउँछ खानेपानी


प्रकाशित मिति : January 12, 2018

दोलखा : दोलखा सदरमुकाम चरिकोटका स्थानीयले पिउने पानी ढलसँगै बगेर आउने गरेको पाइएको छ । वर्षौदेखि उनीहरू बजार क्षेत्रका नाला र फोहोरहरूसँगै बगेर घरमा आउने पानी पिउन बाध्य छन्।  अाजकाे नागरिक दैनिकमा खबर छ ।

ट्याङकी साथै वितरण केन्द्र मार्फत चरिकोट बजारका स्थानीयहरूको घरमा पुर्‍याइएको पानी नालामा फोहोरको डङ्गुर र ढलसँगै बगेर आइरहेको भेटिएको हो । बिहीबार सदरमुकाम चरिकोटको माथिल्लो क्षेत्रबाट बजार ल्याइएका पानीका पाइपहरु पछ्याएर आउँदा स्वास्थ्यका दृष्टीले साह्रै विभत्स दृश्य देखियो।

कालिञ्चोक स्थित गैरीबाट चरिकोट झर्ने पानी संकलन गर्न देउराली र सिमापानी भन्दा माथिल्लो भागमा ट्याङकी बनाइएको छ । उक्त ट्याङकी मार्फत ठूलो क्षेत्रमा फैलिएको चरिकोट बजारका विभिन्न भागमा निर्माण गरिएको वितरण केन्द्र (चेम्बर) मार्फत घर घरमा पानी जाने गरेको छ।

सिमपानीको माथिल्लो भाग देखि नै चरिकोटमा ल्याउने पानीका पाइपहरू अस्तव्यस्त छन्। पाइपहरू ढल बग्ने नालामा फोहोरसँगै पुरिएका छन्। सिमपानी, मानेडाँडा, पोखरी, पाटी खोला, पेट्रोल पम्प रोड, सातदोबाटो, बिचबजार, बसपार्क क्षेत्रसम्म लगिएका पाइपहरू यत्र तत्र छरिएका छन् । मानेडाँडा भन्दा तल्लो क्षेत्रमा खानेपानीका पाइपहरू नालामा बगिरहेको ढल भित्र डुबेका छन् । बजार क्षेत्रका केही घरका सेफ्टी ट्याङ्कीबाट सिधै दिसा पिसाब र ढल नालीमा मिसाइएको छ । घरमा पुग्ने खानेपानी बगेर आउने पाइप कतिपय स्थानमा त्यस्तै ढलमा मिसिएको भेटिन्छ।
नाला भित्र पाइपका मुठा हालिएका कारण वर्षातमा नाला बन्द भएर भल घरहरुमा पस्ने समस्या समेत छ। स्थानीय नारायण बस्नेतका अनुसार फोहोर बग्ने नाला खानेपानीका पाइपका मुठाले भरिएका कारण वर्षातमा भल घरहरुश्रमा पस्ने गरेको छ।

‘पाइपसँगै घरमा पुग्छ ढल’
प्राविधिकहरूका अनुसार त्यसरी लगिएको खानेपानी पाइपबाट घरका धारामा ढल र फोहोरका किटाणुहरु पुग्ने खतरा हुन्छ । ‘पानी लैजाने पाइप जमिनको सतह र भिरालोको अवस्था अनुसार त्यसले कति प्रेसर थेग्न सक्छ भन्ने आधारमा मोटाइ निर्धारण गरेर पाइप राखिन्छ’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चरिकोटका सव ईन्जिनियर दिपकराज रोकाले भने – ‘त्यसरी राख्दा कतिपय ठाउँमा पाइप नपुग्ने कारण तताएर प्लेट मार्फत टालिने र सकेटहरूको प्रयोग गर्ने साथै उपभोक्ताहरूले समेत आफ्नो पाइपमा पानी आए नआएको जाँच गर्दा काटीले प्वाल पार्ने लगायतका कारण त्यहाँ ढल र फोहोर मिसिने खतरा हुन्छ।’

पाइपका त्यस्ता स–साना प्वालहरूबाट ढल र नालाको फोहोर मिसिने कारण मानव स्वास्थ्यमा गम्भीर असर देखिने रोका बताउँछन्।

उनका अनुसार ट्याङकीबाट वितरण युनिट हुँदै घर छेउ सम्म पुर्‍याइने पानी अनिवार्य रुपमा ९० सेन्टीमिटर सम्म माटो मुनी गाडेर मात्र लैजानुपर्छ । ‘पानी लैजाने बाटो र क्षेत्रहरुमा फोहोर नपरोस भनेर सरकारले ९० से.मी सम्म पुरेर मात्र घरमा पुर्‍याउनुपर्छ भन्ने मापदण्ड बनाएको हो’ उनले भने।

खानेपानी कार्यालयका अनुसार सरकारले मुहानबाट ट्याङकीसम्म पानी ल्याउने, ट्याङकी निर्माण गर्ने, वितरण युनिट/च्याम्बर निर्माण र ट्याङकीबाट ति स्थान सम्म पानी ल्याइदिएर त्यहाँबाट भने उपभोक्ताहरुको आफ्नै खर्चमा घर घरमा धारा जडान गर्ने गर्छ। सरकारी प्राविधिकहरुका अनुसार आयोजना सकिएपछि त्यसको सम्पूर्ण स्वामित्व उपभोक्तालाई नै हस्तान्तरण गर्ने सरकारी चलन छ। ‘बीचमा मर्मत सुधारको कामको प्राविधिक र केही आर्थिक सहयोगका काम वर्षेनी गरिरहेका हुन्छौं’ कार्यालयका सव इन्जिनियर रोकाले भने।

बजार क्षेत्रमा सबै भन्दा ठूलो चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको व्यवस्थापनमा १२ सय ग्राहकलाई पानी खुवाइन्छ । यो बाहेक गैरास्वाँरा, पुरानो बजार लगायत खानेपानी समितिहरू पनि छन्।

चरिकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष बद्री कुमार श्रेष्ठले बजार क्षेत्रमा आउने गरेको पानी ढल हुँदै आएको स्वीकार गरे । ‘यो धेरै वर्ष अघि परम्परागत शैलीमा सम्पन्न भएको योजना हो’ उनले भने – ‘त्यतिबेला देखि जस्तो चल्दै आयो त्यस्तै भयो’। उनले बजेट अभावका कारण पाइप माटो मुनी गाडेर ल्याउन समस्या भएको सुनाए। ‘यति ठूलो नगर भइसकेको यो शहरको खानेपानी समितिलाई सरकारले मर्मतका लागि वर्षको २०/३० हजार रुपैयाँ मात्र छुट्याएर पठाउँछ’ उनले भने – ‘अनि के को खर्चले पाईपहरूको व्यवस्थापन गर्नु?’ उनले बजेट अभावमा खानेपानीको चुहावट रोक्न समेत समस्या परेको सुनाए । दोश्रो चरणमा हातिछहराको पानी समेत ल्याउने तयारी भइरहेको उनले सुनाए।

प्रतिक्रिया दिनुहोस्