भ्वाइस अफ नेपालले नक्कली कागजात बनाई झुक्यायो सहभागी र दूतावास दुबैलाई

सम्झौता १२ लाखको, दिइयो ५० हजार मात्र


४ चैत्र २०७६, मंगलवार
the voice

काठमाडौं, ४ चैत । पछिल्लो समय प्रतिभा खोजीका नाममा नेपालमा विभिन्न किसिमका रियालिटी शोहरुको बाढी नै आएको छ ।

यस्ता रियालिटी शोहरुले केहि हदसम्म देशका लुकेका प्रतिभालाई प्रष्फुटन हुने अवसर दिए पनि रियालिटी शो आयोजनाभित्र पनि विभिन्न स्वार्थका खेलहरु हुने गरेको कुरा विस्तारै बाहिर आउन थालेका छन् । जसको उदाहरण बनेको छ– भ्वाइस अफ नेपाल ।

भ्वाइस अफ नेपालको पहिलो सिजन सकिएको दुई वर्ष बितिसकेको छ । तर, उक्त सिजनका सहभागीहरुले अझै सम्झौता बमोजिम पारिश्रमिक नपाएको गुनासो सम्बन्धित व्यक्तिलाई मात्र होइन, खुल्लेआम सामाजिक सञ्जालमा लेखेर जानकारी गराइरहेका छन् । अन्तिम चार प्रतिस्पर्धीमध्येका दुई प्रतियोगी श्रीजय थपलिया र सप्तक दूतराजले मंगलबार बिहान आ–आफ्नो फेसबुक पेजमा ‘खुल्ला पत्र’ पोष्ट गर्दै भ्वाइस अफ नेपालबाट सम्झौता अनुसारको रकम नपाएको बताएका छन् ।

अन्तिम चार प्रतिस्पर्धीको यी दुईले १६ डिसेम्बर २०१८ मा लागू हुनेगरी व्यवस्थापन पक्षसँग सम्झौता गरेका थिए । १५ डिसेम्बर २०१९ मा समाप्त हुने यो सम्झौतापत्रको दोस्रो बुँदामा सम्झौता अवधिभर शीर्ष चार जनालाई काठमाडौंमा खाने बस्ने व्यवस्था आयोजकले नै गर्ने स्पष्ट उल्लेख छ । काठमाडौंमा घर हुनेहरु पनि आयोजकले तोकेको स्थानमा नै बस्नुपर्ने र जे जति खर्च हुन्छ, त्यो सबै आयोजकले व्यहोर्ने उल्लेख छ । तर, आयोजकले खाने बस्ने व्यवस्था नगरेको श्रीजयले बताएका छन् ।

दोस्रो बुँदामा मासिक एक लाख रुपैयाँ तलब दिइने उल्लेख छ । त्यस हिसाबले १२ महिनाको १२ लाख आउनुपर्छ । तर, श्रीजय र सप्तकले अहिलेसम्म ५० हजार रुपैयाँ मात्रै पाएको दाबी गरेका छन् । त्यस्तै, तेस्रो बुँदामा प्रतिस्पर्धीहरुले सम्झौता अवधिभर वल्र्ड टुर गर्ने र त्यसबापत आउने रकमको ७० प्रतिशत आम्दानी प्रतिस्पर्धीकै हुने उल्लेख छ । तर, सप्तक र श्रीजयले भ्वाइसमार्फत् जम्मा दुई देश युके र अष्ट्रेलियाको मात्र भ्रमण गरेको बताएका छन् । त्यहाँ प्रस्तुति दिएबापत् तोकिएको रकम अझै नपाएको उनीहरुको गुनासो छ ।

‘उहाँहरुलाई हामीले सम्झौता पत्रको कुरा गर्दा, हामीले वल्र्ड टुर भनेकै छैन, त्यो सम्झौता पत्र त दूतावासका लागि बनाएको हो भन्नुभयो ,’ श्रीजयले भने, ‘हामीलाई मात्र होइन भ्वाइस आफ नेपालले दूतावासलाई नक्कली सम्झौता पत्र दिएर झुक्यायो । अन्तर्राष्ट्रिय फ्रेन्चाइजको सम्झौता पत्र नक्कली बनाएर बेलायत, अष्ट्रेलियाको दूतावासलाई दिने ? अनि यो दूतावासमै देखाउन बनाइएको भए हाम्रो सम्झौता पत्र खोइ ?’

उनले थपे, ‘हामीले पनि बुझेका छौं, समस्या परेको होला । हामीलाई २०–२५ हजार गरी बिस्तारै दिन सकिन्छ नि ।’ आज (मंगलबार) भ्वाइस आफ नेपालको कार्यशैलीप्रति लेखिएको स्टेटस पछि लगातार फोन आइरहेको उनीहरुले बताएका छन् ।

भ्वाइस अफ नेपालको सिजन टु सार्वजनिक हुने एक दिनअघि नै पत्रकार सम्मेलन गरेर सबै समस्या सार्वजनिक गर्ने तयारी आफूहरुको भए पनि त्यहि बेला आयोजकले बोलाएर ५०–५० हजार थमाएर आफूहरुलाई रोकेको उनीहरु बताउँछन् । ‘अब त सम्झौताको पारिश्रमिक पाइने रहेछ भनेर मुख नखोलेको बताउँदै सप्तक भन्छन्, ‘उहाँहरुको व्यवहार फेरि त्यस्तै भयो । हामीले त आफूले गरेको कामकाे पारिश्रमिक मात्र खोजेका हौं ।’

भ्वाइस बोर्डमा चार सदस्य लक्ष्मण पौडेल, सुशील नेपाल, प्रल्हाद सिंह महत, सदिक्षा आचार्य मुख्य रहेको बताउँदै सप्तक भन्छन्, ‘हामीलाई यसबारे कोसँग डिल गर्ने भन्ने नै अन्योल छ, एउटालाई भन्यो, अर्कोलाई देखाएर पछिन्छने काम भइरहेको छ ।’
आयोजकको आफ्नै दावी
यता भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले दूतावासमा पेस गरिएको सम्झौतापत्र नक्कली भएको स्वीकारे । ‘उहाँहरुको जुन पहिलो वास्तविक सम्झौता पत्र छ, त्यसमा माथि उल्लेखित कुनै पनि बुँदा समावेश छैनन् । मात्र कुनै कार्यक्रमको निश्चित प्रतिशत दिने भनिएको छ ।

यसमा मासिक तलबको कुरा गरिएको पनि छैन, उहाँहरुलाई बस्ने खाने व्यवस्था मिलाइने भन्ने कुरा पनि छैन,’ पौडेलले थपे, ‘श्रीजयले दूतावासका लागि बनाइएको नक्कली सम्झौता पत्रलाई फोटो खिचेर यसलाई नै बलियो आधार बनाएर कम्पनीलाई धोका दिइरहेका छन् । उहाँहरुको भिसा लागिरहेको थिएन । त्यसकारण मासिक कमाई यति धेरै राखिएको हो, खाने बस्ने व्यवस्था पनि आयोजकले नै व्यहोर्ने बताइएको हो ।’

उनले सम्झौतापत्रमा उल्लेख भएअनुसारको रकम दिन नसकिने स्पष्ट पारे । पौडेलले श्रीजयलाई जम्मा १०–१५ हजार मात्रै तिर्न बाँकी रहेको दाबी गरेका छन् । ‘ उहाँले दिएको प्रस्तुतिको रकम नकाटी हिसाब गर्दा कम्पनीले श्रीजयलाई १०–१५ हजार दिन बाँकी छ । प्रस्तुतिको हिसाब गर्दा त उल्टै श्रीजयले पैसा तिनुपर्ने देखिन्छ,’ पौडेलले भने, ‘समस्या छ भने कानूनी उपचारतिर लाग्नुहोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७