प्रदेश-२ ले पाएन नाम, चार वटै प्रस्ताव अस्वीकृत

फेरि नयाँ प्रक्रिया शुरु हुने


४ चैत्र २०७६, मंगलवार
state 2

जनकपुरधाम, ४ चैत । प्रदेश–२ को नाम र राजधानी टुङ्गो लगाउनका लागि आज (मंगलबार) भएको मतदानले पनि कुनै निष्कर्ष दिन सकेन । सत्तारुढ दलले प्रदेश–२ लाई ‘मधेश प्रदेश’ नामाकरण गर्ने प्रस्ताव पनि खारेज भएको छ ।

सत्तारुढ समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको ‘मधेश प्रदेश’ को पक्षमा मात्र ६० मत खसेको छ । विपक्षमा ४६ मत परेको छ । एक मत बदर भएको छ ।

प्रदेश–२ को प्रदेश सभामा १०७ सदस्य छन् । नाम स्वीकृत हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ । जसका लागि १०७ मध्ये ७२ मत पुग्नुपर्छ । प्रदेश २ मा सबै दलले आ–आफ्नो नाम प्रस्ताव गरेका थिए ।

नामको विषयमा सत्तारूढ समाजवादी पार्टी र राजपा नेपालले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुर प्रदेश र कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले मध्य मधेश नाम प्रस्ताव गरेका थिए ।

यसअघि नेकपाद्वारा प्रस्तावित नाम ‘जानकी’मा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो भने कांग्रेसको मिथिला भोजपुरा नामको पक्षा मात्र २८ र मध्य मधेशको पक्षमा ४२ मत खसेपछि सबै प्रस्ताव खारेज भएको थियो । चारवटै प्रस्ताव अस्वीकृत भएपछि अब फेरि शुरुदेखि नै प्रक्रियामा जानुपर्ने भएको छ । दलहरुले पुनः प्रस्ताव दर्ता गराउनु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७