युरोप लकडाउन : अन्योल र त्रासमा नेपाली


५ चैत्र २०७६, बुधबार
Europe

काठमाडौं, ५ चैत । युरोपमा अवैध (बिना भिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले संकटमा परेका छन् । पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएपछि युरोपका नेपाली आतंकित भएका छन् ।

अध्ययन गर्न गएका तथा वैधानिक रूपमा काम गर्ने नेपालीलाई त्यहाँको सरकारले कामबराबरको रकम उपलब्ध गराएको हुनाले दैनिकीमा समस्या छैन । जो अवैध छन् उनीहरूको हकमा भने समस्या हुने देखिएको छ । पोर्चुगल र स्पेनमा नेपाली अवैध रूपमा बसोबास गर्दै आएका छन् ।

त्यहाँ सजिलै वैधानिक हुन सकिने हुनाले त्यस्ता नेपालीको संख्या ती दुई मुलुकमा बढी छन् । त्यहाँ कागज बनाएर अन्य मुलुक पुग्ने गर्छन् । अन्य युरोपेली मुलुकमा पनि केही न केही नेपाली ओभरस्टे (भिसा बाहेक) बस्दै आएका छन् । उनीहरू बढी चिन्तित रहेको नेपाली दूतावासको अनुमान छ ।

युरोपमा हजारौंको संख्यामा नेपाली अवैध बसोबास गरिरहेका छन् । युरोपमा रहेका राजदूतका अनुसार नेपालीमा महामारी भएको जानकारी आएको छैन । ‘नेपालीसँग कुनै न कुनै माध्यमले जोडिएका छौं’, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले मंगलबार भने, ‘पोर्चुगलको फारवामा एक नेपालीलाई संक्रमण भएको र त्यहाँ ४०–४५ नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी आएको छ ।’

नेपालीको नाम सार्वजनिक गरिएको छैन । आइसोलेसनमा राखेर र उपचार भइरहेका नेपालीको स्थिति सामान्य रहेको जानकारी उनले दिए । युरोपेली महासंघ (ईयू)का लागि राजदूत रहेका लोकबहादुर थापाले पनि यहाँका नेपालीलाई कोरोनाले आक्रमण गरेको जानकारी नभएको बताए ।

सिंगो युरोप आक्रान्त रहेकाले सबै सचेत भएर घरमै बस्नुको विकल्प नभएको उनले उल्लेख गरे । ‘युरोप औपचारिक रूपमै लकडाउनझैं छ’, उनले भने, ‘बुधबार साँझ ईयू नेतृत्वको भिडियो कन्फरेन्स गर्दै नियन्त्रण र उपचारका थप निर्णय लिनेछन् ।’

अधिकांश मुलुक १५ दिनका लागि लकडाउन भएका छन् । इटाली र स्पेन यसअघि नै लकडाउन थिए । बेल्जियम, नेदरल्यान्ड र लग्जेम्बर्ग समेत हेर्ने राजदूत थापाले त्यहाँ रहेका नेपालीमा समस्या नभए पनि सन्त्रास रहेको बताए ।

‘वैधानिक रूपमा काम गर्नेलाई अन्य समस्या पनि रहँदैन। सरकारले खानाका लागि पैसा उपलब्ध गराउँछ’, उनले भने, ‘अवैध बस्ने तथा दैनिक ज्यालादारी गर्नेलाई असहज भए दूतावासले सहयोग गर्नेछ । आफ्ना नागरिकलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो ।’

ईयूअन्तर्गतका सबै मुलुकमा कोरोना महामारी फैलिएपछि १५ दिनका लागि सटडाउन गरेका हुन् । उनीहरूलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । कतिपय स्थानमा नागरिक बाहिर निस्किरहेकाले त्यहाँ उनीहरूलाई सुरक्षाकर्मी परिचालन गरेर भए पनि भित्रै राख्ने नीति ईयूले लिएको अधिकारीले बताए । सुरुमा अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जान दिइएको थियो । इटाली र स्पेन प्रभावित रहे पनि अहिले फ्रान्स, जर्मनी, पोर्चुगल, डेनमार्क, स्विटजरल्यान्डमा फैलिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युरोप कोरोना महामारीको केन्द्रबिन्दु बनेको जनाइसकेको छ । इटाली र स्पेन हुँदै ठूलो जनसंख्या रहेको मुलुक फ्रान्समा फैलिएको मात्र होइन, ९१ जनाको मृत्यु भएको छ ।

ती मुलुकका अधिकांश सिनेमा हल, क्याफे, संग्रहालय, विद्यालय, कलेज, रेस्टुराँ, पार्क, खेलकुद स्थल, पसल बन्द छन् । इटालीमा १५ सयभन्दा बढीको मृत्यु भएको छ । सोमबारदेखि त्यहाँ देशव्यापी प्रतिबन्ध लागू गरिएको छ । त्यस्तै प्रतिबन्ध युरोपभर लगाएर रोग नियन्त्रण गरिने निर्णय भएका छन् ।

युरोपमा रहेका सबै नेपाली दूतावासले आफ्नो कार्यक्षेत्रमा पर्ने मुलुकलाई पनि ध्यानमा राखेर सूचना ल्याएका छन् । बेलायत, फ्रान्स, जर्मनी, स्पेन, डेनमार्क, रसिया र स्विट्जरल्यान्डका दूतावासले सिंगो युरोपमा आफ्ना नागरिकलाई पर्ने समस्याबारे सम्पर्क गरिरहेको जनाएका छन् । सरकारले सबै दूतावासलाई सक्रिय रहन र आफ्ना नागरिकको स्वास्थ्यमा ध्यान दिन निर्देशन दिएको छ ।

डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले महामारी नियन्त्रण गर्न आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मानव मृत्यु रोक्न मानिस–मानिसबीचको दूरी कायम राख्न आग्रह गरिरहेका छन् । बेलायतमा पनि पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर हुँदै गएकाले त्यहाँका नेपाली पनि आक्रान्त छन् ।

अधिक नेपाली अवैध रहेको मुलुक स्पेनमा झन्डै ७ हजारमा कोरोना संक्रमण देखिएको छ । स्पेनमा प्रधानमन्त्री पेद्रो सान्चेजीपत्नी बेगोना गोमेजलाई संक्रमण देखिएपछि निवासमै उपचार भइरहेको छ ।

संकटकाल घोषणा भएकाले सरकारले नागरिकलाई आवश्यक उपभोग्य सामग्री र औषधि किन्न वा काममा जानबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको हो । युरोपमा मात्र होइन, खाडी क्षेत्रका नेपालीमा पनि सन्त्रास उत्तिकै छ । अमेरिका र अस्ट्रेलियामा रहेकाको अवस्थाबारे सरकारले जानकारी लिइरहेको छ । खाद्यान्न नपाएको अवस्थामा दूतावासमा सम्पर्क गर्दा त्यस्तो समस्या सल्टाउने कामहरू दूतावासले गरिरहेको जानकारी दिइएको छ ।

हामी समन्वयमा छौं : राजदूत अधिकारी

झण्डै ६ करोड ३५ लाख जनसंख्या रहेको फ्रान्समा ६ हजारभन्दा बढीमा संक्रमण भइसकेको हुनाले सबैमा त्रास रहेको उनले बताए । प्रधानमन्त्री इन्वार फिलिपले कोभिड–१९ का कारण सघन उपचार गराउनुपर्ने बिरामी बढेकाले सकभर अधिक समस्या नभएसम्म आफ्ना चिकित्सकसँग फोनमा छलफल गरेर सेल्फ क्वारेन्टाइन (घर) मा बस्ने र समस्या भए मात्र जानेजस्ता धारणा बाहिर आएका छन्। घरमै बस्ने बाहिर ननिस्कन उर्दी जारी छ। केही अत्यावश्यक भए अनलाइन बसेर सर्टिफाई गरी मात्र निस्किन पाउने व्यवस्था गरिएको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७