डब्ल्युएचओले भन्यो, ‘अब कोरोनाको खतरा नेपालसहित दक्षिण-पूर्वी एशियाका देशमा’

युरोपमा कोरोनाको कहालीलाग्दो संक्रमण, इटालीमा एकै दिन ३४५ को मृत्यु


५ चैत्र २०७६, बुधबार
poonam

काठमाडौं, ५ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको वुहानबाट शुरु भएर अहिले सिङ्गो युरोपलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीको खतरामा अब नेपालसहित दक्षिण पूर्वी एसियाका देश रहेको बताएको छ ।

डब्ल्युएचओले अहिले चीनबाट शुरु भई युरोपमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अहिले दक्षिण–पूर्वी एशियाका देशमा फैलने क्रम बढेको जानकारी गराउँदै बेलैमा सचेत हुन आग्रह गरेको छ ।

कोरोनाविरुद्ध लड्न आफूलाई समयमै तयार अवस्थामा नराखे दक्षिण–पूर्वी एशियाका देशमा संकटको अवस्था सिर्जना हुनसक्ने समेत डब्ल्युएचओले चेतावनी दिएको छ ।

mask 4

डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन सावधानी बढाउनु पर्ने बताएकी छन् । यो संक्रमण थप विस्तार हुन नदिन राष्ट्रिय तथा समुदायस्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले औंल्याएकी छन् ।

डब्ल्यूएचआ दक्षिण पूर्वी एसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखिएको छ । तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । जसअन्तर्गत सबैभन्दा बढी थाइल्याण्डमा कोरोनाबाट १७७ जना संक्रमित भइसकेका छन् ।यस्तै इन्डोनेसियामा १३४, भारतमा १२५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा पाँच जना संक्रमित भेटिएका छन् ।

यस्तै नेपाल र भुटानमा १–१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ । तर, नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारले जनाएको छ ।

युरोपमा कोरोनाको कहालीलाग्दो संक्रमण, इटालीमा ३४५ को मृत्यु
युरोपमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र गतिमा फैलिँदै गएको छ । मंगलबार स्पेनमा थप दुई हजार व्यक्तिमा कोरोना पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण स्पेनमा ५३३ जनाको मृत्यु भइसकेको छ । मंगलबार मात्रै स्पेनमा १९१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ ।

korona 2 1

युरोपमा कोरोना भाइरसका कारण बढी प्रभावित हुने इटालीपछि स्पेन दोस्रो मुलुक हो । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट इटालीमा ३४५ जनाको ज्यान गएको छ । यस अवधिमा थप तीन हजार ५२६ मा यसको सक्रमण देखिएको छ ।

बुधबार बिहानसम्म इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ सय ३ पुगेको छ । इटालीमा संक्रमितको संख्या ३१ हजार भन्दा धेरै पुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
चीनपछि इटाली, स्पेन र इरान कोरोना संक्रमणबाट बढी प्रभावित बनेका छन् । चीनमा लगभग कोरोना संक्रमण नियन्त्रणमा आइरहँदा युरोपियन मुलुकमा यसको महामारी तीब्र गतिमा फैलिँदै गएको छ ।

त्यसैगरी इरानमा मंगलबार थप १३५ जनाको मृत्यु भएको छ । एकै दिन संक्रमणबाट थप एक हजार ७७८ जना प्रभावित छन् । अहिलेसम्म इरानमा कोरोनाको कारण ९८८ जनाको मृत्यु भइसकेको छ । संक्रमित १६ हजारभन्दा धेरै छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ । बुधबार बिहानसम्म यसको संक्रमणबाट ७ हजार ९६५ जनाको मृत्यु भइसकेको छ । २ लाख भन्दा धेरै यसबाट संक्रमित छन् । छिमेकी देश भारतमा कोरोनाबाट तीन जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७