‘कृषिमा इतिहासको दुश्चक्र तोड्छौं’


५ चैत्र २०७६, बुधबार
ghanashyam bhusal 1

यो कार्यक्रम दुई महिना अगाडि नै होओस् भन्ने हाम्रा शुभचिन्तकहरुको चाहना थियो । तर कृषि क्षेत्रका विभिन्न सरोकारवालाहरुसँग छलफल, विद्यमान नीति निययमहरुको आवश्यकअध्ययन र स्रोत साधनको स्थितिको लेखा जोखा नगरी अगाडि आउनु उपयुक्त हुँदैनथ्यो । विषयको गम्भीरता, सम्माननीय प्रधानमन्त्रीले दिनु भएका सुझाव र निर्देशनका साथै प्रदेश सरकारका मन्त्रीहरुका अनुभवहरुलाई ध्यानदिनु र विभिन्न कोणबाट धैर्यतापूर्वक अध्ययन गर्नु आवश्यक थियो । आज विश्वव्यापी महामारीले हामीलाई प्रभावित पारिहेको छ तापनि आफ्ना राष्ट्रिय प्राथमिकताबारे छलफल गर्नु उचित नै हुन्छ भन्ने ठानेर यो कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली समाजको विकासको अवस्था, हाम्रो छिमेकमा भैरहेको कृषिको विकास, विगत ६० वर्षको योजनावद्ध कृषि विकासका अनुभवहरु, समाजवाद उन्मुख हाम्रो राज्य र संविधानले प्रत्याभूत गरेको नागरिकका खाद्यसुरक्षा तथा खाद्यसम्प्रभुताको अधिकार, हाम्रो कृषिश्रमको अवस्था, केन्द्रीकृत विकास परम्परा तथा बसाइँसराइ, सामाजिक तथा राजनीतिक द्वन्द्व तथा संक्रमणको हाम्रो इतिहास र वर्तमान, जलवायु परिवर्तन र अहिलेको विश्वव्यापी महामारीहरुको प्रकोप जस्ता अनेकौँ यस्ता कारणहरु छन् जसले हामीलाई ठूलै जोखिम र सङ्कल्पका लागि तयार पार्छन् ।

हाम्रो कृषि विकासको इतिहासको एउटा टड्कारो अनुभव के छ भने किसानलाई विकास दिनसक्ने गरी मन्त्रालयलाई बलियो बनाउन हामीले लामो समय खर्च गर्‍यौँ । कृषिको विकास किन भएन भन्ने प्रश्नको उत्तर ‘हामी पर्याप्त बलियो नभएर’भन्ने दियौँ । परिणाम के भयो भने हामी साधन–श्रोत र कानूनले बलियो हुँदै गयौँ तर किसान र कृषि बलियो भएनन् । दातृ निकायको सहयोगले नेपालको कृषिमा महत्वपूर्ण भूमिका खेलेको छ तर त्यसबाट पनि अपेक्षित परिणाम निकाल्न सकेनौं । आज हामी जता जान खोज्दैछौँ त्यसले इतिहासको त्यो दुश्चक्र तोड्छ भन्ने हामीलार्ई लाग्छ ।

बलियो सामाजिक–आर्थिक जीवनमा नटेकेको लोकतन्त्र सँधै खतरामा रहन्छ । नेपालको सामाजिक–आर्थिक जीवनमा कृषि क्षेत्रको महत्व कूल गार्हस्थ उत्पादनमा यसको योगदान र यसमा संलग्न-आश्रित जनसङ्ख्याले बताउँछ । यसर्थ हाम्रो राजनीतिक तथा संवैधानिक गणतन्त्रलाई धान्न सक्ने कृषि अर्थतन्त्रको विकास गर्नैपर्छ । यसरी हेर्दा किसानको सुरक्षा र कृषि उत्पादनको विकास केवल उत्पादन र उत्पादकत्व बढाउने प्राविधिक मामिला मात्र होइन बरु सामाजिक तथा राजनीतिक विषय पनि हो ।

कृषि विकासका लागि मूलतःदुईवटा समस्या छन् : एकातिर यो सबैभन्दा दुखको, गाह्रोे काम हो भने अर्कोतिर यो बचत नहुने वा असाध्यै कम बचत हुने क्षेत्र हो । यान्त्रिकीकरणले गाह्रो कामलाई सजिलो बनाउँछ । तर, बचत वा नाफाको झण्डाले अगाडिबाट डोर्‍याएन भने हाम्रा उदात्त भावनापूर्ण अपीलका प्रभावले यान्त्रिकीरण आफै नहुँदो रहेछ ।

यान्त्रिकीकरणले गाह्रो कामलाई सजिलो बनाउँछ । तर, बचत वा नाफाको झण्डाले अगाडिबाट डोर्‍याएन भने हाम्रा उदात्त भावनापूर्ण अपीलका प्रभावले यान्त्रिकीरण आफै नहुँदो रहेछ ।

आर्थिक उत्पादनको कटु इतिहासले त्यसै भन्छ । त्यसैले, कृषिमाक्रान्तिकारी परिवर्तन गर्ने हो भने कृषि कर्मबाट न्यूनतम बचत हुन्छ भन्ने प्रत्याभूति किसानलाई दिनै पर्छ । हामीले भन्दै आएका कृषिमा अनुसन्धान, व्यावसायीकरण, बजारीकरण, रोगमुक्त पशुपालन, अर्गानिक कृषि, खाद्य तथा पोषण सुरक्षा र खाद्य स्वच्छता लगायत सबै अवधारणालाई बचतले अगाडिबाट तान्दै लैजानेछ र भविष्यमा भूमिव्यवस्थालाई समेत प्रभावित पार्नेछ ।



यो नै त्यस्तो सन्देश हो,जसले सूदुर मरुभूमि, खतरनाक र अपमानपूर्ण कार्यक्षेत्रमा रगत–पसिना बगाइरहेका हाम्रा नौजवान छोराछोरीलाई भविष्यप्रति आश्वस्त पार्नेछ


कृषि उत्पादन र बचत नै त्यस्तो इन्जिन हुनेछ जसले औद्योगीकरण-उद्यमीकरणको वास्तविकआधार तयार गर्नेछ । हामीले युवा बेरोजगारी र वैदेशिक श्रम बजारमा हाम्रानौ जवानहरुको दारुण कथा सुने–सुनाएका छौँ । यो नै त्यस्तो सन्देश हो,जसले सूदुर मरुभूमि, खतरनाक र अपमानपूर्ण कार्यक्षेत्रमा रगत–पसिना बगाइरहेका हाम्रा नौजवान छोराछोरीलाई भविष्यप्रति आश्वस्त पार्नेछ । यो काम सजिलो अवश्यछैन तर आजको राज्य (सरकार) ले बोक्नै पर्ने कार्यभार हो ।

यी सबै पक्षलाई ध्यानदिँदै किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन व्यवस्था तर्फ पहल कदमी लिनु पर्छ भन्ने निष्कर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयपुगेको छ । त्यस कृषि उत्पादन व्यवस्थाका निम्नानुसार पाँच नीतिगत आधार हुनेछन् : 

  •  उत्पादन सामग्रीमाअनुदानःहामीले दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ-नश्ल, मल, सिँचाई, बिजुली जस्ता उत्पादनका मुख्य सामग्रीहरुमा अनुदान केन्द्रित गरिने छ । तिनलाई सर्वसुलभ बनाइनेछ ।

  •  सबै किसानको घरदैलोमाप्राविधिक सेवा–टेवा : हरेक किसानले प्राविधिक सेवापाउने कुराको ग्यारेण्टी गरिने छ । स्थानीयतहमाकरिब आठ हजार कृषितथापशु सेवातर्फकाप्राविधिकजनशक्तिको दरबन्दी रहेकोमास्थानीयतहसँग समन्वय गरी अहिले रिक्त रहेकाकरिब ६ हजार दरबन्दीमाअविलम्वपदपूर्ति गरिने छ ।

  • सस्तो र सुलभ ऋण : सस्तो ब्याजदरको ऋणमा वास्तविककिसानको पहुँचग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्यगरिनेछ र हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूतिगरिने छ ।

  • बालीतथा पशुपन्छी बीमा : कृषितथा पशुपन्छी बिमाकार्यक्रमलाई सहज र सस्तोमाकिसानको पहुँचमा पुर्‍याउने ग्यारेण्टी गरिने छ । प्राकृतिकप्रकोप र अन्य भवितव्यबाट कृषिबालि–वस्तुको हानीनोक्सानीबाट किसानलाई सुरक्षितगरिनेछ ।

  • न्यूनतम बचतको ग्यारेण्टी : किसानले उत्पादनगर्ने मुख्यबालि–वस्तुको उत्पादनलागतको मूल्याङ्कन गरेर उचित बचतको ग्यारेण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने छ । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन् तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्नेछ ।

हाम्रा यी नीतिगत आधारहरुको प्रस्थान विन्दु र गन्तव्य किसान, किसान र फेरि पनि किसान नै हुन् । अब हाम्रा उपलब्धी कति किसानलाई उपरोक्त कृषिउत्पादनव्यवस्थाभित्रल्याइयो भन्ने कुरामाआधारित हुनेछ । यी नीतिगत आधारहरुको कार्यान्वयन र अभ्यासको नेतृत्व संघीय, प्रादेशिक र स्थानीय सरकारहरुले सह-अस्तित्व, सहकार्य र समन्वयका आधारमा गर्नेछन् । हाम्रा नीति, कार्यक्रम र बजेट एवम् वैदेशिक सहयोग तथा हाम्रो समस्त भौतिक तथा मानवीय साधन–श्रोत उक्त उद्देश्य प्राप्तिका लागि केन्द्रित गरिनेछ । परिणामतः कृषिमा रहेको हरेक व्यक्ति न्यूनतम बचतकोे भागिदार छ भन्ने कुरा ग्यारण्टी हुनेछ । संक्षेपमा, ‘संरक्षित कृषि, सुनिश्चितबचत’को आकाङ्क्षा मूर्त हुँदै जानेछ ।

यी नीतिगत आधारको अभ्यासका क्रममा हाम्रा सामु अनगिन्ती प्रश्नहरु आउनेछन् ती सबैको जवाफ हामीले कामबाट दिनुपर्नेछ


सानो भूस्वामित्वको बहुलताले गर्दा हाम्रो कृषिउत्पादनको यस नयाँव्यवस्थामा कृषि सहकारी वा सहकारीताको महत्वपूर्ण भूमिकाहुनेछ । जहाँ सम्मनीजी क्षेत्रको भूमिकाको कुरा छ,हाम्रो सबैभन्दा ठूलो नीजी क्षेत्र नै किसान हुन् । सहकारी र नीजी क्षेत्रको भूमिका र विकासको लागि उपयुक्त व्यवस्था गर्ने जिम्मा सरकारले लिनेछ । यी नीतिगत आधारको अभ्यासका क्रममा हाम्रा सामु अनगिन्ती प्रश्नहरु आउनेछन् ती सबैको जवाफ हामीले कामबाट दिनुपर्नेछ, अनेक सीमा, र कमजोरीहरु प्रकट हुनसक्नेछन् ती सबैलाई सुधार्नु पर्नेछ ।

अन्त्यमा,
आज हामीले जुन कुरा सार्वजनिक गरेका छौँ यो आगामी दिनमा हामीआफैलाई निर्देशित गर्न, आफ्नै परिक्षालिन अघि सारिएका लक्ष्य र प्रश्नहरु हुन् । यी प्रश्नको सार्थक उत्तर दिनु हाम्रो दायित्व हो भन्ने हामीले बुझेका छौँ । भएको सामथ्र्य र इमानका बलमा सबै परिक्षामा हामी राम्रोसँग उत्तिर्ण हुनेछौँ भन्ने विश्वास दिलाउन चाहान्छौँ ।

(कृषि तथा पशुपन्छी विकास मन्त्री भूसालले २०७६ चैत्र ५ गते पत्रकार सम्मेलन व्यक्त गरेको विचार)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७