दाम्पत्य सम्बन्धमा झनझनै दरार, सेलिब्रेटीकै समस्या ‘छताछुल्ल’


प्रकाशित मिति : 18 March, 2020 3:54 pm

पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जिपी (गणेशप्रसाद) तिम्सिना

काठमाडौं, ५ चैत । नेपाली समाजमा साँस्कृतिक भ्रष्टिकरणको दर यति कहालिलाग्दो छ कि, हरेक अड्डा–अदालत त्यस्ता बनावटी वा साँच्चैका मुद्दाहरूले खचाखच छन् ।

अहिले पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जिपी (गणेशप्रसाद) तिम्सिनाको वैवाहिक सम्बन्ध चर्चामा छ । यसअघि सांगीतिक क्षेत्रका रामकृष्ण ढकाल, यम बराल, अञ्जु पन्त, मिलन ताम्राकारहरूको घरबार बिग्रियो । साढे तीन वर्षअघि सेलिब्रिटी सांसद शान्ता चौधरी पारिवारिक कलहमा परिन् ।

पोखराकी लेखिका सरस्वती प्रतीक्षाले चार वर्षअघि नै एकल जीवन रोजिन् । यी सबै पात्रको दाम्पत्यमा संकट हुनुसँग संकीर्ण चेतनाको जगमा विकास भएको आधुनिक मनोविज्ञानको प्रभाव छ ।
अर्थात्, कुनै न कुनै रूपमा, कोही न कोही (पति वा पत्नी) मा विद्यमान रुढीग्रस्त चिन्तन र व्यवहारका कारण यस्ता घटना हुन्छन् । त्यसमाथि महिलामैत्री कानुनी सुविधाले कतिपय बेकसुर पुरुष पनि प्रताडित हुन थालेका छन् । पीडाका नाममा मुद्दा हाल्ने र पैसाको हिसाबमा टुंग्याउने अनगिन्ती मिलिभगत (होस्टाइल) का घटना समेत छन् ।

कारण हो, समाजका प्रत्येक अवयवहरूमा पूर्ण व्यवसायिकताको विकास नहुनु । घर–घरदेखि अड्डा, अदालत, वकिल, प्रहरीसम्म विकास हुन नसकेको व्यवसायिकताको मारमा यस्ता घटना छिरल्लिएका छन् । भारततिर यस्तो घटनालाई सामान्य मानिन्छ । तर, नेपाली समाजमा व्यवसायिक र गैरव्यवसायिक सम्बन्धको सीमा स्पष्ट छैन ।

व्यवसायिक सम्बन्धलाई स्पष्ट पार्न नसक्दा घरघरमा समस्या आउँछ । उदाहरणका लागि कोही कामकाजी महिलालाई फलानोसँग किन बोलिस् ? त्यहाँ किन गइस् ? किन ढिलो आइस् ? यस्तो प्रश्नले यातना दिन्छ र घटनाक्रम सम्बन्ध बिच्छेददेखि अन्य जघन्य कसुरका कारक बन्न पुग्छन् ।

प्रश्न गर्नेले कोहीसँग बोलेको, ढिलो भएको वा कतै गएको कुरा उसको व्यवसायिकताभित्र पर्छ भन्ने ख्याल गर्दैन । अर्कातिर, व्यवसायिक काममा व्यस्त भएको बहानामा गलत काममा लाग्ने प्रचलन पनि उत्तिकै छ । काम के हो ? त्यो खुल्दैन, तर मान्छे अति व्यस्त हुन्छ । त्यस्तो अवस्थामा स्वाभाविक हो, प्रश्नहरू खडा हुनु ।

नेपालको परिवर्तित सामाजिक सन्दर्भलाई सम्बोधन गर्दै पछिल्ला कानुनी व्यवस्थाहरू जारी भएका छन् । महिलामा मात्र निहित सम्बन्ध बिच्छेदको हक पुरुषमा पनि कायम त भयो । तर, पुरुषमाथि लगाउन सकिने आरोपको सहजताले समस्या ल्याएको छ । महिलामाथि दुर्नियतका साथ गरिने जुनसुकै व्यवहार कानुनतः दण्डनीय छन् ।

अर्कातिर, कानुनी यही सुविधाको गलत परिचालन र प्रयोगले समाजलाई नै बिगारेको छ । अर्काको सम्पत्ति खानलाई, बार्गेनिङ गर्नलाई पनि कानुन सहयोगी बनेको छ । जस्तो कि, जबरजस्ती करणी उद्योग । अर्थात्, करणी नभएको, त्यसका लागि प्रयाससम्म भएको मुद्दा बढेका छन् ।

‘शोषणमा परें’ भन्दै रोएपछि जाहेरी दर्ता हुने भयो । पछि आर्थिक क्षतिपूर्तिका कुरा आउने र जाहेरवाला र आरोपितबीच कुरा मिलेपछि मुद्दा ‘होस्टाइल’ गर्ने क्रम बढेको छ । उदाहरणका लागि पूर्वसभामुख कृष्णबहादुर महरा छन् ।

पाँच महिनापछि सफाई पाए, आरोप प्रमाणित भएन । तर, त्यसले उनको व्यक्तित्वमा पुर्‍याएको क्षति, कार्यक्षेत्रमा झेल्नुपर्ने प्रश्नका यातना र कसुर परीक्षणका क्रममा बिताइएको पाँच महिनाको मानसिक यातनाको क्षतिपूर्ति के हो ? मानौं, महरालाई आरोप लगाउने रोशनीले आर्थिक क्षतिपूर्ति नै दिइछन् । तर, त्यसले महराको जीवनमा पुर्‍याएका अनगिन्ती क्षतिहरूलाई पुर्ताल गर्छ ? हो, यस्ता प्रवृत्ति समाजमा बढेका छन् ।

यस्तो विसंगति आउनुका पछाडि कानुन व्यवसायी, समाजका दलाल वर्ग, अधिकारवादीका नाममा चम्किनेहरू मुख्य कारक बन्ने गरेका छन् । उनीहरूले सामाजिक धरातललाई बुझ्न नखोज्ने, पश्चिमाहरूको आदर्श र मूल्यलाई अनुशरण गर्ने कारण यस्तो भएको बुझिन्छ । हामी अहिले ग्लोबल सोसाइटीमा छौँ ।

विश्वव्यापीकरणको प्रभावबाट अछुतो हुन सक्दैनौँ । त्यो प्रभावबाट हाम्रा युवा, सबै उमेर र तहका मान्छेलाई असर पार्छ । अहिलेका विसंगति त्यसकारण पनि सिर्जना भएका छन् । पहिला प्रेम नै अपराधसरह भनिन्थ्यो । अहिले ‘बेष्ट फ्रेण्ड’ भनेर जे गर्न पनि पाइन्छ । घोषित रूपमै ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाइन्छन् । शहरिया जीवनमा विवाहित पुरुष र महिलाका ब्वाई र गर्लफ्रेण्ड हुनु सामान्य जस्तै बनेको छ ।

पुरातन सामाजिक संरचनाले घरेलु हिंसा दबायो, थुप्रै महिलाले आफ्नो पीडा व्यक्त गर्न नपाउँदै मृत्यु रोज्नुपर्‍यो । तर, नयाँ कानुनी व्यवस्था र सामाजिक परिवर्तनले हिंसा, यातनाका पीडितलाई मरिहाल्नु पर्दैन, न्याय पाइन्छ भन्ने बनायो । पहिला बाबु आमाले खोजेर विवाह गरिदिन्थे । त्यसरी बनेको सम्बन्धमा केटी मान्छेले पाउने यातना पनि सहेर बस्नुपथ्र्यो । शोषण र विभेद ढाकिन्थ्यो । अहिले एकापसमा बुझेर विवाह गर्ने चलन छ ।

समस्या आएमा न्यायपूर्ण निष्कर्षमा पुग्नुपर्छ भन्ने मान्यताको विकास भएको छ । त्यसका लागि सामाजिक र कानुनी सहायताको क्रम पनि विकास भएको छ । र, फेरि पनि आधुनिक समाजको अभ्यासले नयाँ–नयाँ समस्याहरू नजन्माएका होइनन् । विदेशमा ‘लिभिङ टुगेदर’ चलायो ।

नेपालमा सम्पत्ति आफ्नो नाममा राख्यो । यता फर्किएर मुद्दा हाल्यो । अर्थात्, सहमतिमा आधारित ‘लिभिङ टुगेदर’ नामक सम्बन्धको गलत प्रयोगका कारण आर्थिक आर्जन केन्द्रित गतिविधि शुरु भयो । जबरजस्ती करणी, वैवाहिक बलात्कार, आशय करणी जस्ता मुद्दा सजिलै चल्न थाले । यसका लागि कानुन पनि सहयोगी बनिदियो ।

अर्कातिर, आधुनिक समाजको अभ्यास र हाम्रो आर्थिक, सामाजिक अवस्थितिबीचको विभेदले निम्त्याएको विकराल रूप हो, आप्रवासनको । समाजका अधिकांश सचेतवर्ग यहीँ रहेर आफ्नो सचेतनालाई प्रभावकारी ढंगले प्रयोग गरिरहेका छैनन् । विदेश गयो, पैसा कमायो, अनि देशका बारेमा अनेकन टिप्पणी गर्दै समय खेर फाल्यो– विद्वानहरू यसो गर्छन् ।

विद्यार्थीहरू पनि प्लस टु को पढाई सक्ने बित्तिकै विदेश दौडिने होडबाजीमा हुन्छन् । श्रमिक जनशक्तिलाई स्वदेशमा रोजगारी दिन नसक्दा उनीहरू खाडीतिर भासिएका छन् । अर्थात् ज्ञान र श्रम भएका– दुबै जनशक्ति पलायनको अवस्थामा रहेको खबर जनआस्थाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्