देउवाकै जिल्लाबाट कांग्रेसका दुई गुटबाट छुट्टाछुट्टै उम्मेदवार सिफारिस


१८ आश्विन २०७४, बुधबार
nepali congress flag

डडेल्धुरा, १८ असोज :   प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि दुई गुटबाट छुट्टाछुट्टै उम्मेद्वारको नामावली सिफारिस भएको छ । डडेल्धुरामा रहेका नेपाली कांग्रेस देउवा निकटकै दुई गुटका छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका हुन् ।

nepali congress flag

मंगलबार दुवै गुटका छुट्टाछुट्टै बसेका बैठक तथा छलफलले उम्मेदवारको नाम पनि छुट्टै सिफारिस गरेका छन् । डडेल्धुरा कांग्रेसका पूर्व सभापति रघुवर भट्ट र वर्तमान सभापति कर्ण मल्ल प्यानलका नेताले प्रदेशसभाका लागि खुला र सामानुपातिकतर्फ छुटृाछुट्टै सिफारिस गरेका हुन् ।यसमा रघुवर भट्ट प्यानलबाट प्रतिनिधिसभाका लागि प्रधानमन्त्री देउवालाई सिफारिस गरेका छन् भने सामानुपातिकतर्फ महाअधिवेशन प्रतिनिधि डा आरजु राणा देउवा, सांसद नरभान कामी र महाअधिवेशन प्रतिनिधि तथा नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई सिफारिस गरेका छन् भने कांग्रेस जिल्ला सभापति कर्ण मल्ल गुटले प्रत्यक्षबाट देउवालाई नै सिफारिस गरेका छन् र सामानुपातिकमा नारु ओझा, पदम विष्ट र भरत नेपालीलाई सिफारिस गरेका छन् ।

प्रदेशसभाका लागि क्षेत्र नं १ का लागि रघु गुटले रघुवर भट्ट, नैनसिंह महर, कैलाशकुमार पाण्डेय, हेमराज चटौत र वीरेन्द्रबहादुर थापालाई सिफारिस गरेका छन् भने कर्ण गुटले गोपा थापा, रवीन्द्र खड्का, हिक्मतसिंह ठाकुरलाई सिफारिस गरेको जनाएका छन् ।क्षेत्र नं २ का लागि रघु गुटले खुलातिर गोविन्दराज बोहरा, शेरबहादुर भण्डारी, हरिप्रसाद भट्ट, मोहनराज पाठक, भानबहादुर देउवा र भोजराज भट्टलाई सिफारिस गरेका छन् भने कर्णगुटले कर्णबहादुर मल्ल, करुणाकर भट्ट, तारक बुढाऐरलाई सिफारिस गरेका छन् । समानुपातिक उम्मेदवारका लागि भने भट्ट गुटबाट २२ जना र मल्ल गुटबाट ३० जना नेतालाई सिफारिस गरेका छन् ।

डडेल्धुरामा रहेका मुख्य अन्य दलहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) ले पनि आन्तरिक बैठक बसी उम्मेदवार छनोटको छलफलमा लागेको जनाएका छन् ।नेपाली कांग्रेस डडेल्धुराले मंगलबार बसेका छुट्टाछुट्टै बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका खुला र सामानुपातिकतर्फका उम्मेदवारको नामावली पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन् । दुवै गुटका नेताले आफू नै आधिकारिक कांग्रेस भएको दाबी गरिरहेका छन् ।

डडेल्धुरा जिल्ला विगतमा एक निर्वाचन क्षेत्र रहेको भएता पनि हाल भने दुईवटा निर्वाचन क्षेत्रका लागि दलहरुले उम्मेदवार छनोट गरी केन्द्रीय कार्य समितिलाई सिफारिस गरेका छन् । पर्शुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपलिका र अजयमेरु गाउँपालिकाको वडा नं ५ र ६ एक निर्वाचन क्षेत्रमा छन् भने बाँकी अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिकाका बाँकी चारवटा वडा नं १, २, ३ र ४ दोस्रो निर्वाचन क्षेत्रमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७