सार्वजनिक जग्गा कब्जा गरेर मन्दिर निर्माण


६ चैत्र २०७६, बिहीबार
temple

बेलबारी, ६ चैत । मोरङको बेलबारी नगरपालिका– ९ स्थित नलवारीमा सार्वजनिक सम्पति सुरक्षा ऐन विपरीत मन्दिर बनाउने बहानामा सार्वजनिक जग्गा कब्जा गरिएको छ ।

दुर्गा मन्दिर निर्माण समितिले जबरजस्ती उक्त सार्वजनिक जग्गामा बुधवार मन्दिर शिलान्यास गरेको छ । दुर्गा मन्दिर निर्माण समितिमा अध्यक्ष नरसिंहबहादुर खड्का छन् भने सचिव चन्द्रमणी भण्डारी (विनोद) छन् ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उक्त सार्वजनिक जग्गामा थालिएको मन्दिर निर्माण कार्य अविलम्ब रोक्ने बताएका छन् । सार्वजनिक सम्पत्ति सुरक्षा ऐन विपरीत कुनै पनि काम गर्न नदिने प्रमुख सुवेदीले बताएका छन् ।

1 6
जग्गाधनी तीर्थप्रसाद आर्चाय

सचिव भण्डारीका अनुसार दुर्गा मन्दिर निर्माण गर्न आयोजित शिलान्यास कार्यक्रमबारे पनि स्थानीय सरकारलाई जानकारी गराइएको थिएन । स्थानीयको विभिन्न भेलामा भने मन्दिर बनाउने प्रस्ताव राखेको सचिव भण्डारी बताउँछन् । कानुनी प्रक्रिया पूरा नगरी नै शिलान्यास गरिएको सचिव भण्डारीले बताएका छन् ।

शिलान्यास भएसँगै शान्ति युवा समूह र मन्दिर निर्माण समितिबीच विवाद चुलिएको छ । मन्दिर निर्माण सचिव भण्डारीले शान्ति युवा समूहले वर्षौदेखि संरक्षक संस्थाको भूमिका निर्वाह गर्दै आएको पनि बताएका छन् ।

बेलबारी–९ का अध्यक्ष नगेन्द्र खड्कासँग यसबारे कुराकानी गर्दा दुवै पक्षलाई मिलेर जानु भनी आग्रह गरेको बताउँछन् । शिलान्यास हुँदैछ भनेर अध्यक्ष खड्कालाई पनि थाहा नभएको बताए । तर शिलान्यास कार्यक्रममा भने उनको सहभागिता थियो ।

2 6
शान्ति युवा समूहका अध्यक्ष धिरोज श्रेष्ठ

अध्यक्ष खड्कालाई शिलान्यास कार्यक्रममा तपाई पनि सहभागी हुनु भएछ त भनेर प्रश्न गर्दा उनले भने, ‘झडप हुनसक्ने अवस्था छ भनेर मलाई खबर भयो त्यसपछि प्रहरीसँग म कार्यक्रमस्थल पुगेको हुँ ।’ तर वडाध्यक्ष खड्काले फेरि कुरा बदल्दै मन्दिर शिलान्यास हुँदैछ भन्ने खबर आफूले पाएको स्वीकारे ।

वडाध्यक्ष खड्काले मन्दिर बनाउने समूहको संख्या धेरै भएको बताउँदै कोठामा बसेर दर्ता गरिएको संस्थाको मात्र पनि अधिकार पूर्ण नहुने बताएका छन् । उक्त सार्वजनिक जग्गा बाटोको जग्गा भएकाले स्थानीय सरकारलाई संरचना निर्माण गर्न दिने अधिकार नभएको पनि वडाध्यक्ष खड्काले प्रष्ट पारेका छन् ।

उक्त जग्गाको सीमानामा रहेका जग्गाधनी तीर्थप्रसाद आर्चायले क्लबलाई केही जग्गा प्रदान गर्ने प्रतिबद्धता गरेका पाइएको छ । तर शान्ति युवा समूह र मन्दिर निर्माण समितिबीच विवाद भएपछि अहिले आर्चाय समेत अन्योलमा परेका छन् । विवाद मिले मन्दिरलाई र शान्ति युवा समूह दुवैलाई केही जग्गा दिने आर्चाय बताउँछन् ।

तर मन्दिरको संस्था दर्ता नभएकाले तत्काल जग्गा प्रदान कसरी गर्दिने भन्ने अन्योल भएको आर्चायले बताए । मन्दिरलाई जग्गा मिलाई दिन भनेर जनप्रतिनिधिबाट नै आग्रह पनि आएको आर्चायले बताएका छन् ।

3 2
वडाध्यक्ष नगेन्द्र खड्का

उनले भने, ‘९ नम्बरका वडाध्यक्ष नगेन्द्र खड्काले नै जग्गा मिलाई दिन भन्नुभयो, मिलाई पनि दिन्थे तर दर्ता नभएको संस्थालाई कसरी पास गर्दिने र कसको नाममा पास गर्नु भन्ने अन्योल भयो, यो विवाद मिले र दुवै संस्थालाई केही जग्गा दिने थिएँ ।’

२०६० सालदेखि उक्त जग्गा भोगचलन गर्दै आएको शान्ति युवा समूहको दाबी छ । संस्थाका अध्यक्ष धिरोज श्रेष्ठले उक्त जग्गा २०६० सालदेखि नै भोगचलन गर्दै आएको बताउँछन् । संस्थाको भवन बनाउने योजना भएता पनि आर्थिक अभावको कारण निर्माण गर्न नसकेको अध्यक्ष श्रेष्ठले बताए ।

binod
चन्द्रमणी भण्डारी (विनोद)

उनले भने, ‘योजना अनुसार काम गर्न बाँकी छ तर, सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र निर्माण गर्नेछौ ।’ श्रेष्ठका अनुसार उक्त जग्गाको क्षेत्रफल १ कठा ४ धुर रहेको छ । सोही जमिनमा खुल्ला रूपमा विभिन्न वर्षौदेखि खुल्ला कार्यक्रमहरू हुँदै आएको श्रेष्ठ बताउँछन् ।

शान्ति युवा समूहले अतिक्रमण भएको भन्दै प्रेस विज्ञप्ति पनि जारी गरेको छ । विज्ञप्तिमा स्थानीय नरसिंहबहादुर खड्का र चन्द्रमणी भण्डारी (विनोद) को अगुवाइमा सार्वजनिक सम्पत्ति हडप्न गाउँकै अगुवाहरू लागिपरेको भन्दै वैधानिक सार्वजनिक संस्थाले संरक्षण गरिरहेको सार्वजनिक सम्पत्ति हड्प्ने दोषीहरू उपर आवश्यक अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकाय समक्ष माग गरेको छ ।

ll
l2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७