परीक्षा दिन हिंडेकी किशोरीको बलात्कारपछि हत्या, यसरी गरियो हत्या


७ चैत्र २०७६, शुक्रबार
hatya 2

इलाम, ७ चैत । परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ । सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या गरिएको हो । स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन घरबाट हिँडेकी राईको शव बुधबार फेला परेको हो ।

विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । बलात्कार गरी खाडलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताए ।

‘बिहान साढे ९ बजेतिर घरबाट स्कुल हिँडेकी उनलाई स्कुल पुग्नुअघि नै बलात्कार गरी मारेर खाडलमा पुरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ सदरमुकाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसपी पाण्डेले भने, ‘अघिल्लो दिनसम्म परीक्षा दिइरहेकी आकृति मंगलबार विद्यालय नपुगेपछि शिक्षक र स्थानीय अभिभावकले खोजतलास गरे । खोजतलासकै क्रममा बुधबार शव फेला परेको हो ।’

प्रहरीका अनुसार आकृतिले लगाएको कपडा घुँडाभन्दा तल झारेर खुट्टा बाँधिएको र टाउको प्लास्टिकको बोरामा हालेर पुरिएको अवस्थामा शव भेटिएको थियो । ‘बलात्कारपछि ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने, ‘अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएकोमा एक जनाले चाहिँ आफैंले हत्या गरेको बयान दिएका छन् ।

रोशन राईले आफूले आकृतिलाई बलात्कार गरी हत्या गरेको स्वीकारेका छन्,’ एसपी पाण्डेले भने, ‘पक्राउ अन्यलाई सोधपुछपछि छाडिएको छ ।’ रोशन सूर्याेदय–१३ लक्ष्मीपुरका हुन् ।

आकृतिको शव अम्रिसो बारीभित्र तरुल खनेको खाडलमा पुरिएको अवस्थमा फेला परेको थियो । आकृतिको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसपी पाण्डेले भने ।
यसरी गरियो हत्या

सधैझैं मंगलबार बिहान साढे ९ बजेतिर घरबाट परीक्षा दिन विद्यालय हिँडेकी थिइन् आकृति । तर उनी विद्यालय पुग्न पाइनन् । घरबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको विद्यालय पुग्न १५ मिनेट बाँकी थियो । विद्यालयमा चलिरहेको कक्षा ११ को परीक्षा दिन २ विषय मात्रै बाँकी थिए ।

परीक्षा सुरु भइसक्दा पनि आकृति स्कुल नपुगेपछि शिक्षकले घरमा सम्पर्क गरे। अभिभावकले आकृति सधैझैं समयमै स्कुल हिँडेको जानकारी गराए । आकृतिलाई सबैतिर खोजियो तर फेला पारिएन ।

‘आकृतिलाई हत्या गरी पुरिएको आशंकामा बुधबार स्थानीयबाट हामीलाई खबर आयो,’ पशुपतिनगर इलाका प्रहरी कार्यालयका निरीक्षक रमेश राईले भने, ‘हामी घटनास्थल पुग्दा दिउँसो साढे १ बजेको थियो ।’

स्थानीयसँग सोधपुछ र अनुसन्धानपछि खाडलमा पुरिएको शव आकृतिकै भएको पुष्टि भएको उनले बताए । ‘रोशनले आकृतिलाई ढुंगाले टाउकोमा हानेर मारेको, हत्यापछि चप्पल र किताब नजिकैको मलखाडीमा लगेर पुरेको बयान दिएका छन्,’ प्रहरी निरीक्षक रमेशले भने, ‘टाउकोमा प्रहार गरेको ढुंगा र चप्पल रोशनले नै देखाएर हामीले भेटाएका हौं ।’ रोशनको चप्पल र लुगामा समेत रगत लागेको उनले बताए ।

रोशनले बलात्कार गरेपछि आकृतिले ‘अरूलाई भनिदिन्छु’ भनेकाले ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रोशनले हत्या गरेको बयान दिए पनि जीवितै खाडलमा पुरे वा मारेपछि पुेर भन्ने चाहिँ खुलिनसकेको प्रहरीले जनाएको छ ।

आकृति र रोशनको घर करिब आधा किलोमिटर दूरीमा पर्छ । आकृतिको शव भेटिएको स्थान नजिकै रोशनको गाईगोठ छ । रोशनका बुबा–आमा त्यसदिन पाथीभरा घुम्न गएकाले रोशन गोठमा एक्लै रहेको प्रहरीले जनाएको छ ।

‘रोशन र आकृतिको चिनजान भए पनि अन्य सम्बन्ध नभएको बुझिएको छ,’ प्रहरी निरीक्षक रमेशले भने, ‘घटना योजनाबद्ध नभई आकस्मिक रूपमा भएको अहिलेसम्मको अनुसन्धानले देखाउँछ ।’

आकृति आर्थिक हिसाबले निम्न परिवारकी थिइन् । उनका बुबा पूर्णबहादुर करिब ७ महिनाअघि अरिंगालको टोकाइबाट बिरामी भएपछि निको भएका छैनन् । पूर्णबहादुरलाई अहिले डाइलाइसिस पनि गराइरहनु पर्छ । आकृतिकी आमा पनि ६–७ वर्षअघि नै अर्काे बिहे गरेर गएकी थिइन् । उनका १३ र १० वर्षका दुई भाइ छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७