कोरोना त्रास : उपत्यका छोड्नेको लर्को, दैनिक दुई लाख बाहिरिंदै


७ चैत्र २०७६, शुक्रबार
buspark scaled

काठमाडौं, ७ चैत । कोरोना (कोभिड-१९) भाइरसको फैलँदो संक्रमण र त्रासका कारण काठमाडौं उपत्यका छोड्ने सर्वसाधरणको लर्को बढ्न थालेको छ ।

काठमाडौंको बाक्लो जनघनत्वमा बस्दा कोरोना संक्रमणको जोखिम अनुमान गर्दै सर्वसाधरण धमाधम उपत्यका बाहिरिन थालेका छन् । अहिले दैनिक दुई लाखको हाराहारीमा मानिसहरु उपत्यकाबाट बाहिरिन थालेका छन् ।

कोरोना त्रासले सरकारले चैत मसान्तसम्म शैक्षिक प्रतिष्ठानहरू बन्द गरेपछि अधिकांश विद्यार्थी आ–आफ्नो थातथलो फर्किन थालेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबार दुई लाख यात्रु काठमाडौंबाट बाहिरिँदै छन् ।

buspark 1

१० चैतसम्मका लागि उपत्यकाबाहिर जाने सार्वजनिक सवारीसाधनको टिकट बुक भइसकेको छ । बिहीबार मात्रै निजी र सार्वजनिक सवारीसाधनबाट दुई लाख यात्रु बाहिरिएको उनको भनाइ छ । काठमाडौंबाट बाहिरिने सवारीसाधनको संख्यामा वृद्धि भएसँगै उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनको संख्यामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गाडी चढ्नुअघि स्वास्थ्य परीक्षण
सरकारले विभिन्न निकायहरूको सहकार्यमा देशका मुख्य–मुख्य बसपार्कहरूमा र काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकाहरूमा हेल्थ डेस्क स्थापना गरिसकेको छ । अब स्वास्थ्य परीक्षण गराएर मात्र यात्रुहरू सवारीसाधनमा चढ्नुपर्ने भएको छ ।

यस्तै, सरकारले नेपाल–भारतमैत्री बस सेवा तत्कालका लागि रोकिसकेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल १३ वटा रुटमा नेपाल–भारत बस सेवा सञ्चालन रहेकामा सबै रुटमा बस सेवा रोकिएको हो ।

सवारीसाधन सफा नराखे कारबाही

यात्रुबाहक सार्वजनिक सवारीसाधनले दैनिक सफा गरी अनिवार्य जीवाणुरहित बनाउनुपर्ने भएको छ । विभागले सम्भव भएसमम्म स्यानिटाइजर प्रत्येक सवारीसाधनमा राख्नुपर्ने गरी अनुरोध गरेको छ ।

त्यस्तै, यातायात व्यवसायीले सिट क्षमताभन्दा एक जना पनि बढी यात्रु चढाउन नपाउने भएका छन् । ‘सिट क्षमताभन्दा धेरै यात्रु चढाउनेलाई कारबाही गर्दैछौं,’ ट्राफिक प्रहरीका प्रवक्ता जीवनकुमार श्रेष्ठले भने । यसलाई आगामी दिनमा अझ कडाइ गर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७