स्वास्थ्यका कर्मचारीले उपत्यका छाड्न र विदामा बस्न नपाउने, यस्ता छन् ती कार्यालय


७ चैत्र २०७६, शुक्रबार
health ministray

काठमाडौं, ७ चैत । स्वास्थ्य क्षेत्रका कर्मचारीले अब उपत्यका छाड्न र विदामा बस्न नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका विभागका कर्मचारीलाई काठमाडौं नछोड्न निर्देशन दिएको छ ।

स्वास्थ्य क्षेत्रका कर्मचारीले उपत्यका छोड्न र विदामा बस्न नपाउने मात्र होइन अब शनिबारका दिन समेत कार्यालयमा उपस्थित हुनुपर्ने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका कर्मचारीलाई उपत्यका छाड्न र विदामा बस्न नपाउने जनाएको छ ।

यस्तै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका कर्मचारीले काठमाडौं छोड्न पाउने छैनन् ।

यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल कान्ति वाल अस्पताल, मानसिक अस्पताल, पाटन, नरदेवी आयुर्वेद चिकित्सालय पशुपति होमियोप्याथिक चिकित्सालय, राष्ट्रिय औषधि प्रयोगशालाका सह सचिव स्तरका कर्मचारी र विभाग प्रमुखलाइ काठमाडौं नछाड्न निर्देशन दिइएको हो ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड १९ रोगको संक्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नु पर्ने भएकोले काठमाडौं नछोडन निर्देशन दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७