भारत र चीनले गरे नेपाललाई सहयोगको अफर


८ चैत्र २०७६, शनिबार
flag of nepal china and india2020 03 21 06 30 14

काठमाडौं, ८ चैत । भारतले आवश्यक परेको वेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितर्को यापिड रेस्पोन्स टिम पठाउने आश्वासन दिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो अफर गरेका हुन् । ज्ञवालीले भारतको अफरलाई स्वागत गरेको र त्यसका लागि भारतलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरलाई मन्त्री ज्ञवालीले अत्यावश्यक औषधि र खाद्य पदार्थको आपूर्ति थप सहज बनाउनुपर्नेमा जोड दिएका छन् । भारतस्थित नेपाली दूतावासले पनि विदेश मन्त्रालयमा यसबारे छलफल गरेको परराष्ट्र स्रोतले बतायो ।

चीनले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको छ । शुक्रबार चीनको विदेश मन्त्रालय, जनस्वास्थ्यसँग सम्बन्धित विभाग, स्वास्थ्य कमिसनलगायत अधिकारीले नेपालसहित १८ देशका अधिकारीसँग छलफल गरेका थिए ।

बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोको स्थायी समितिले गरेको निर्णयका आधारमा चीन सरकारले सहयोग गर्ने अधिकारीहरूले बताएका छन् ।

सबै देशका अधिकारीसँग चिनियाँ अधिकारीले एकैपटक सामूहिक भिडियो कल कन्फरेन्स गर्दैै वुहान सहरमा कोरोना महामारी नियन्त्रणको अनुभवसमेत सुनाएका थिए । उनीहरूले कोरोनाको मूल स्रोतलाई काट्ने, फैलावट रोक्ने र जोखिममा रहेका उमेर समूहका मानिसलाई जोगाउने सूत्र सुनाएका थिए ।

चिनियाँ अधिकारीले आफ्नो बलबुताले भ्याएसम्म विश्वव्यापी महामारी नियन्त्रणका लागि सघाउने वचन दिएका छन् । नेपाली अधिकारीले भने, ‘चीनले के चाहिन्छ सम्बन्धित कूटनीतिक च्यानलमार्फत पठाउन भनेका छन् र सकेको मद्दत गर्ने वचनबद्धता दिएका छन् । नेपालले आवश्यक पर्ने चिनियाँ सहयोगको सूची पठाइसकेको छ ।’

सरकारले चिनियाँ दूतावासमार्फत नेपाललाई चाहिने स्वास्थ्य उपकरण तथा सामग्रीको सूची चीन सरकारलाई बुझाइसकेको छ । स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पिपिई) र एन९५ मास्क २०–२० हजार थान मागिएको छ ।

त्यस्तै, पोर्टेबल भेन्टिलेटर सय र मोनिटर दुई हजार थान मागेको छ । एबिजी मेसिन, भाइरल डिटेक्टिङ पिसिआर मेसिन र सिआरआरटी मेसिन २०–२० थान मागेको छ । यसैगरी, अक्सिजन प्लान्ट पाँच थान, इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स सात थान, मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स पाँच थान र थर्मो स्क्यानर १० थान माग भएको छ ।

त्यस्तै, रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन १० हजार, इन्ट्युवेटिङ सेट र पिसिआर किट्स दुई–दुई हजार तथा थर्मल थर्मोमिटर हजार थानको सूची छ । चीनका लागि नेपाली कार्यबाहक राजदूत सुशीलकुमार लम्सालले बेइजिङबाट टेलिफोनमा भने, सरकारले काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनलाई सूची बुझाएको छ । हामी त्यसको फलोअप गरिरहेका छौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोरोना भाइरस महामारीविरुद्ध खर्च गरिने संयुक्त आपत्कालीन कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘महामारीसँग जुध्न हाम्रा छिमेकीहरू, क्षेत्रीय मित्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिबद्ध छौं,’ ओलीले भने । यसका लागि दुवै छिमेकी तथा अन्य मित्रराष्ट्रलगायत अन्तर्रा्ष्ट्रिय समुदायबाट सहयोग र सद्भाव प्राप्त भइरहेको पनि उनले बताएका छन् ।

दुबईबाट फर्केका २८ नेपाली दिल्लीमा रोकिए, आज आउँदै
दुबईबाट शुक्रबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल हुँदै काठमाडौं फर्कनुपर्ने २८ नेपाली दिल्लीमै रोकिएका छन् ।

भारतको लामो सुरक्षा तथा स्वास्थ्य जाँचका कारण नेपाल उड्ने एयर इन्डियाको विमान छुटेका कारण उनीहरू आउन पाएनन् । नेपाली दूतावासको समन्वयमा उनीहरूलाई शनिबार बिहान काठमाडौं आउने प्रबन्ध गरिएको छ ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीका अनुसार ट्रान्जिट अवधि छोटो भएको र सुरक्षा तथा स्वास्थ्य परीक्षणका लागि लामो समय लागेका कारण उनीहरू छुटेका थिए ।

रेग्मीले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘यो विषयको जानकारी पाएलगत्तै हामीले एयर इन्डियासँग समन्वय गर्यौँ । उहाँहरूलाई शनिबार बिहानको नियमित उडानबाट स्वदेश फिर्ता गर्ने सहमति भयो । अहिले उहाँहरू एयरपोर्टकै ट्रान्जिटमा हुनुहुन्छ ।’ रेग्मीले अन्य कुनै कारणले नेपालीलाई नरोकिएको सूचना पाएको पनि बताए ।

नेपाल–भारत सीमाना अघोषित बन्द गरिने

नेपाल र भारतले करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरेका छन् । एक सातायता भएका विभिन्न छलफलपछि दुई सरकार सीमा–नाका बन्द गर्ने निष्कर्षमा पुगेका हुन् ।

खुला सीमा–नाकामा निर्बाध आवतजावत हुँदा नेपालमा कोरोनाको जोखिम बढिरहेको छ । सीमा–नाका व्यवस्थापनबारे परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार भारतीय समकक्षी डा. एस जयशंकरसँग टेलिफोनमा छलफल गरेका थिए ।

दुवै परराष्ट्रमन्त्रीहरूको छलफलबारे परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उहाँहरूबीच सीमा क्षेत्रमा कोरोना भाइरसको जोखिम र भयावह अवस्थालाई न्यूनीकरण गर्न प्रभावकारी निगरानीका उपाय अपनाउनेबारे छलफल भएको छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७