सिल्क एयरबाट साढे ३ घन्टापछि यात्रु ओरालियो, क्वारेन्टाइनमा पठाइने


९ चैत्र २०७६, आईतवार
Silk air
फाइल तस्बिर

काठमाडौं, ८ चैत :  सिंगापुरबाट यात्रु लिएर काठमाडौं आएको सिल्क एयरको विमानबाट साढे तीन घन्टापछि यात्रु ओरालिएको छ । सिंगापुरबाट आएको सिल्क एयरको विमान शनिबार राति ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलले अवतरण नगर्न भन्दा- भन्दै इन्धन सकिएको कारण देखाएर अवतरण गराइएको थियो । विमानमा नेपाल प्रवेश गर्न रोक लगाइएको मुलुक नेदरल्याण्ड्सबाट समेत यात्रु समेत थिए ।तत्कालै प्राधिकरणले उक्त विमान फिर्ता पठाउन निर्देशन दियो । विमानमा रहेका ८५ यात्रु मध्ये एक जना नेपाली मुलका नेदरल्याण्ड्सका नागरिक थिए ।

प्राधिकरणले इन्धन भर्न दिने, तर कोही पनि यात्रु ओर्लन नदिई फिर्ता पठाउने तयारी थियो । तर, मध्यरातमा सबैलाई ओरालिएको छ । ती सवै यात्रुलाई क्वारेन्टाइनमा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रशासन प्रमुख सागर आचार्यले बताए । सोही हवाई जहाजबाट सिंगापुर जानका लागि १६० जना यात्रुहरुले बोर्डिङ पाससमेत लिएका छन् ।

सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउनेगरी प्रतिबन्ध लगाएको थियो। सरकारले भोलिबाट सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

यसअघि पनि प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका थिए । थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७