कोरोनाबाट इटलीमा एकै दिन झण्डै ८ सयको मृत्यु, अब सात देशमा मात्र देखिएको छैन कोरोना

नेपालमा छैन आत्तिने अवस्था, के छ ५० लाख परदेशी नेपालीको अवस्था ?


प्रकाशित मिति : 22 March, 2020 7:58 am

काठमाडौं, ९ चैत । चीनपछि सबै भन्दा बढी युरोपियन मुलुक इटालीलाई आक्रान्त बनाएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणले अहिले विश्वका १८८ देशलाई नै चिन्तामा पारेको छ ।

संयुक्त राष्ट्रसंघमा सूचीकृत भएका १९५ देशमध्ये अब सात देश मात्र कोरोना भाइरसको संक्रमणबाट जोगिएका छन् । तर यी देशमा पनि जुनसुकै बेला कोरोनाको संक्रमण भित्रिन सक्ने जोखिम छ । संयुक्त राष्ट्रसंघमा दर्ता भएका १९५ देशसहित विश्वमा २३० देश रहेका छन् ।
कोरोना भाइरस संक्रमणबाट इटलीमा एकै दिन झण्डै आठ सय मानिसको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा थप ७९३ जनाको ज्यान गएर इटलीमा ज्यान गुमाउनेको संख्या चार हजार ८२५ पुगेको बीबीसीले जनाएको छ । यस्तै एकै दिन ६ हजार ५५७ जना नयाँ बिरामी थपिएर इटलीमा संक्रमितको संख्या ५३ हजार ५७८ पुगेको छ । इटालीमा करीब पाँच हजार नेपाली छन् । तर, हालसम्म नेपालीहरु सबै सुरक्षित नै रहेका छन् ।

संक्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घर बाहिर निस्कन पनि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।
अस्पताल, सडक र रेलमा काम गर्ने बाहेक निर्माण लगायतका सबै काम रोकिएको छ भने खुला बजारहरु पूर्णरुपमा बन्द गरिएका छन् ।

यस्तै स्पेनमा शनिबार एकै दिन २८५ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको संख्या एक हजार ३७८ पुगेको छ । इरानमा पनि एकै दिन १२३ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको संख्या एक हजार ५५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा ११२ जना, बेलायतमा ५६ र अमेरिकामा ४६ जनाले ज्यान गुमाएका छन् । विश्वका १८८ देश र एउटा पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै तीन लाख पाँच हजारमा संक्रमण भएको छ ।

संक्रमितमध्ये ९४ हजार सात सय ९३ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप एक हजार ६१४ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ ।
नेपालमा ५७९ को परीक्षण : सबै ‘नेगेटिभ’
सरकारले कोरोना भाइरसको महामारीसँग जुध्न महत्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५७९ जनाको कोरोना परीक्षण गएिको थियो ।

तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण छ । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना आउने गरेको छ । तर, सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिएका छन् ।
प्रयोगशालाले ‘नेजल स्वाब’ र ‘थ्रोट स्वाब’ को नमुनाबाट परीक्षण गर्दै आएको छ । हाल २५ जनाको कोरोना परीक्षण भइरहेको छ ।

चीनबाट आएका एक नेपालीलाई दुई महिनाअघि कोरोना पोजेटिभ देखिएको थियो । उनको रिपोर्ट हङकङ पठाइएको थियो । पुनः कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि हालसम्म कुनै पनि नेपालीलाई कोरोना पोजेटिभ नभएको प्रयोगशालाले जनाएको छ ।

यसैबीच, चिकित्सकहरूले कोरोना भाइरस संक्रमणको जोखिम रहे पनि आत्तिइहाल्नुपर्ने अवस्था नभएको सुझाव दिएका छन् । तर, सतर्कता भने अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । नेपालमा केन्द्रीय प्रयोगशालाका रूपमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण हुँदै आएको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । सतर्कता पनि अपनाउनु पर्छ ।’

परदेशी नेपालीको चिन्ता : चार जनामा संक्रमण
विश्वका लागि टाउको दुखाई बनिरहेको कोरोना भाइरसको जोखिममा परदेशमा रहेका ठूलो संख्याका नेपाली पनि जोखिममा छन् । तर, अहिलेसम्म एकाध बाहेक नेपालीका कोरोना भाइरसको संक्रमण नपाइएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्याङ्कअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख नेपाली छन् ।

 

हालसम्म विदेशमा हालसम्म चार नेपालीलाई कोरोना पोजेटिभ देखिएको छ । अस्ट्रेलिया र बहराइनमा एक–एक तथा संयुक्त अरब इमिरेट्स (युएई) मा दुई जनामा देखिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियामा संक्रमित भएका उपचारपछि डिस्चार्ज भइसकेका छन् । बहराइनमा संक्रमितलाई त्यहाँको सरकारले आइसोलेसनमा राखेर उपचार गरेको छ । युएईमा पनि

२० र २३ वर्षका दुई नेपाली युवाको उपचार भइरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार यी बाहेक अरू देशमा नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी छैन ।
परदेशमा ५० लाख नेपाली, कुन देशमा कति ?

जापान– १ लाख
दक्षिण कोरिया – ४२ हजार
हङकङ – १५ हजार
अस्ट्रेलिया – १ लाख
सिंगापुर – ५ हजार
मलेसिया – ७ लाख
थाइल्यान्ड – ५ हजार
माल्दिभ्स – ५ हजार
चीन – ८ हजार
भारत – १५ लाख
पाकिस्तान – २ सय
अफगानिस्तान – ३ हजार
इरान – २५ जना
साउदी अरेबिया – ३ लाख
इराक – १५ हजार
कतार – ३ लाख ५१ हजार
बहराइन – ३५ हजार
कुवेत – ७० हजार
युएई – ४ लाख
ओमान – १७ हजार
इजरायल – १२ हजार
इटाली – ५ हजार
पोर्चुगल – १० हजार
स्पेन – २० हजार
फ्रान्स – ५ हजार
बेल्जियम – १० हजार
जर्मनी – २० हजार
लक्जम्वर्ग – २२ सय
नेदरल्यान्ड – २ हजार
नर्वे – १ हजार
स्विडेन – १ हजार
डेनमार्क – २५ सय
अस्ट्रिया – १५ सय
बेलायत – १ लाख ५० हजार
अमेरिका – २ लाख
क्यानडा – १५ हजार
तथ्याङ्क स्रोत : परराष्ट्र मन्त्रालय

प्रतिक्रिया दिनुहोस्