डा. गोविन्द केसीसँग पाँचबुँदे सहमति, शनिबार अनसन तोड्ने


२८ पुष २०७४, शुक्रबार
dr. gobinda kc

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको छ । शुक्रबार  साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भएकाे हाे ।dr. gobinda kc

सहमतिपछि केसीले शनिबार बिहान अनशन तोडने सहमति भएको छ ।  उनी पाँच दिनदेखि अनशनमा छन् । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन शुरू गरेको थियो ।
सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।
अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उनलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो । यो उनको १४आैं आमरण अनशन हो ।

यस्ताे छ सहमतिकाे पाँच बुदा

१. चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति आजको मितिले ७ दिनभित्र गठन गर्ने।

२. श्री सर्वोच्च अदालतको मिति २०७४।९।२३ गतेको मुद्दा नं ०७०–ध्इ–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा “जहाँसम्म हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको” भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने।

३. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौताहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने। आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल त्रिवि सभा (सिनेट)को विशेष बैठक बोलाउने।

४. त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी मागसम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने।

५. डा गोविन्द केसीले आमरण अनशनको कार्यक्रम अन्त गर्ने ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७