गृहमन्त्री थापा र भारतीय राजदूतबीच भेटवार्ता


९ चैत्र २०७६, आईतवार
badal scaled

काठमाडौं, ९ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज (आइतबार) शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।


नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हाल्नुभएका राजदूत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।

गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे ।

भेटमा उनले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबिच सहकार्यको आवश्यकतामा जोड दिए । यसै सन्दर्भमा नेपाल–भारत सीमाबाट सो महामारी नफैलियोस् भनेर सीमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गरे ।

राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहाँसिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । उनले कोरोना भाइरसविरुद्धको लडाईमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए ।

कोरोनाको त्रास पछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृह मन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७