भारतबाट भित्रिने हरेक नेपालीको कोरोना जाँच, ‘सेल्फ क्वारेन्टाइन’ अनिवार्य


९ चैत्र २०७६, आईतवार
kakadbhitta rss kakarvitta

काठमाडौं, ९ चैत । भारतबाट देशका विभिन्न नाका हुँदै भित्रिने हरेक नेपालीको कोरोना जाँच हुने भएको छ । भारतबाट आएका सबैले ‘सेल्फ क्वारेन्टाइन’ मा समेत अनिवार्य रुपमा बस्नु पर्ने भएको छ ।

गृह मन्त्रालयले भारतबाट आउने सबै नेपालीलाई कोरोना जाँच र ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने गरी व्यवस्था मिलाउन र बसे नबसेको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई आन्तरिक परिपत्र जारी गरेको छ ।

त्यसरी नेपाल आउने मानिसहरुलाई निगरानी गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि आइतबारै निर्देशन दिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् । प्रवक्ता शर्मा भन्छन्, ‘आइतबारै प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीर सशस्त्र प्रहरीलाई परिपत्र भइसकेको छ । कोरोनाको सम्भावित जोखिम न्यूनिकरण गर्न यस्तो निर्देशन दिइएको हो ।’

गृह मन्त्रालयको यो परिपत्रसँगै अबदेखि सीमाबाट भित्रिएका नेपालीहरुको विवरण राख्ने जिम्मा जिल्ला प्रशासन कार्यलय र प्रहरीको हुनेछ । सीमाबाट भित्रिएका नेपाली ‘सेल्फ क्वारेन्टाइन’ मा बसे नबसेको नियमित अनुगमन समेत स्थानीय प्रशासनले गर्नेछ ।

भारततर्फबाट नेपाल आउने नेपालीहरु सेल्फ क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएपछि यस्तो निर्णय गर्नुपरेको गृह मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म कोरोना भाइरसका कारण ६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७