भारत र चीनतर्फको नाका एक सातासम्म बन्द गर्ने सरकारको निर्णय


९ चैत्र २०७६, आईतवार
cabine

काठमाडौं, ९ चैत । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिने छ ।

भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली फर्किएका छन् ।

यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन् । भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगत्तै नेपालमा मन्त्रिपरिषद बैठकले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो ।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णय समेत भएको एक मन्त्रीले जानकारी दिएका छन् । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना संक्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरण र विविध विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक भएको हो ।

बैठकमा कोभिड १९ को रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णय र तिनका कार्यान्वयनबारे समीक्षा हुने जनाइएको छ । गत फागुन २१ गते प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गाैला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक अघि प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरी कोभिड १९ को जोखिमबाट बच्न आव्हान गर्दै हवाई र स्थलमार्गबाट अपनाउनुपर्ने सावधानी, जोखिमयुक्त स्थानबाट आवागमन रोकका साथै आजदेखि यही चैत २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्दको घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७