वीरगञ्जका बिरामीमा कोरोना भेटिएन : सांसद र सिडिओले नै फैलाए अफवाह


१० चैत्र २०७६, सोमबार
patana 1

वीरगञ्ज, १० चैत । कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ ।

त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो । वीरगञ्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेपछि देशभर सनसनी मच्चियो ।

पर्साका सिडिओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर मिडियालाई प्रतिक्रिया दिएपछि सिंगो देश आतंकित बनेको हो । खासमा व्यवसायी रुंगटालाई संक्रमण भएको आशंकामा परीक्षण मात्र गरिएको थियो ।

उनलाई संक्रमण नभएको रिपोर्ट अस्पतालले दिएको थियो । पटना अस्पतालमा उपचाररत उनमा संक्रमण नभएको रिपोर्ट आएको रुंगटाका आफन्त तथा पूर्व सांसद अनिल रुंगटाले बताए ।

‘उहाँलाई ज्वरो आएको हो, यस्तो वेलामा ज्वरो आउँदा स्वाभाविक रूपमा कोरोना टेस्ट हुन्छ, तर उहाँको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ,’ उनले भने, ‘पटनास्थित मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ ।’

सिडिओ कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले हल्लाकै भरमा रुंगटामा संक्रमण देखिएको प्रतिक्रिया मात्रै दिएनन्, उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्न घरमा सुरक्षाकर्मी समेत पठाएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७