कोरोना त्रास : तनाव नलिनुस्, आन्तरिक शक्ति बढाउनुस्


१० चैत्र २०७६, सोमबार
khushi

काठमाडौं, १० चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुन्छ कि भन्ने चिन्तामा हुनुहुन्छ ? नआत्तिनुहोस् । यो विषम परिस्थितिमा तनाव लिनुको साटो आन्तरिक शक्ति वृद्धिमा लाग्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय चौतर्फी रूपमा कोरोना फोबिया देखिएको बताउँछन्। ‘समस्यासँग जुध्न समयमा आन्तरिक शक्ति वृद्धि गर्ने हो’, उनी भन्छन्, ‘आत्तिने होइन, अहिलेको समय त समस्याहरूसँग लड्नका लागि आत्मविश्वास बढाउने हो ।’

चीन, दक्षिण कोरिया, जापान, ताइवान, सिंगापुर र हङकङमा संक्रमितको संख्यामा क्रमशः ह्रास आइरहेको छ । झण्डै ९६ हजार संक्रमित निको भएका छन् । धेरै उपचाररत छन् । ‘सबै सचेत हुने हो भने कोरोना भाइरस नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण छन’, उनी भन्छन् ।

स्वास्थ्य सेवा दिने चिकित्सकीय टिम झन् बढी सचेत र सतर्क हुनुपर्ने देखिन्छ । युवाले समुदायमा रहेका वरिपरिका व्यक्तिको मनोबल बढाउनुपर्ने चिकित्सक बताउँछन् । ‘सावधानी अपनाउने हो । साबुन पानीले हात धुने, संक्रमित व्यक्तिबाट टाढा रहने हो । मास्क उपयोग गर्ने हो’, डा. उपाध्याय भन्छन्, ‘स्यानिटाइजर हातमा दल्ने हो ।’

हल्ला र भ्रमबाट प्रभावित हुनेहरू बढी आतंकित देखिन्छन् । विज्ञ एवं चिकित्सकको सुझाव पालना गर्ने हो भने संक्रमणबाट जोगिन सकिन्छ । वृद्धवृद्धा र जोखिममा रहेको समूहलाई संक्रमण नहोस् भनेर सावधानी अपनाउनुपर्ने चिकित्सक बताउँछन् । यति बेला जिम्मेवारीबोध र मानवीय भावना आवश्यक पर्ने उनीहरूको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालअन्तर्गत क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार कोरोना मान्छेबाट मान्छेमा सर्ने भएकाले भीडभाडमा जानु हुँदैन । ‘हात नियमित रूपमा धुनुपर्छ । हात नधोईकन अनुहारमा लैेजानु हुँदैन’, उनी भन्छन् ।

विकसित मुलुकमा पनि संक्रमण नियन्त्रण गर्न धौधौ परिरहेका बेला नेपालमा के होला भन्ने सोचाइ धेरैमा देखिन्छ । एकातर्फ नेपालमा भाइरस देखिएको छैन भनेर आत्मबल बढाइरहेको देखिन्छ भने अर्कातर्फ अमेरिका र युरोपमा पनि त थिएन भन्ने तर्क गर्नेहरू छन् । ‘विकसित मुलुकमा पनि नियन्त्रणमा हम्मेहम्मे परिरहेको छ भने हामीकहाँ आयो भने के होला ?’ डा. उपाध्याय भन्छन्, ‘यसको आकलन गर्दै आतंकित हुनेहरू धेरै छन् ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७