डिबाला र माल्दिनी पनि कोरोना संक्रमित


१० चैत्र २०७६, सोमबार
paulo maldini 20200323012105

काठमाडौं, १० चैत । इटालीका थप दुई फुटबल खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
सिरिए क्लब युभेन्ट्सका अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबाला र इटालियन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान पाओलो माल्दिनी कोरोना भाइरसबाट संक्रमित भएको समाचारमा जनाइएको छ । यी दुवै फुटबलरमा कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षणमा दुवैको नतिजा पोजेटिभ आएको बताइएको छ । २६ वर्षीय डिबालाले पनि आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको समाचारको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पुष्टि गरेका छन् ।

डिबालाले आफ्नी प्रेमिका ओरियाना साबाटिनी पनि कोरोना भाइरसबाट संक्रमित भएको बताएका छन् । भाइरसबाट संक्रमित भए पनि दुवै जनाको स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताएका छन् ।

‘हामी दुवैजनाको परीक्षणको नतिजा पोजेटिभ आएको छ तर, भाग्यवश हामी दुवैजनाको स्वास्थ्य अवस्था राम्रो छ’, उनले भनेका छन् । डिबालीकी प्रेमिका ओरियाना अर्जेन्टिनी गायिका, नायिका र मोडल हुन् ।

माल्दिनी भने हाल इटालियन सिरिए क्लब एसी मिलानको प्राविधिक निर्देशकका रूपमा कार्यरत छन् । एसी मिलानका अनुसार ५१ वर्षीय माल्दिनीसँगै उनका छोरा १८ वर्षीय ड्यानियलमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि क्लबले जनाएको छ ।

माल्दिनीका छोरा ड्यानियल पनि एसी मिलानमै अभ्यास गर्छन् । उनीहरू दुवै जनालाई क्वारेन्टाइनमा राखिने क्लबले जनाएको छ । डिबाला कोरोना भाइरसबाट संक्रमित हुने युभेन्ट्सका तेस्रो खेलाडी हुन् । ड्यानियल रुगानी र ब्लाइस माटुडी यसअघि नै भाइरसबाट संक्रमित भएका थिए । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७