कोरोनाको भाइरस हावामा तीन घण्टा, प्लाष्टिक र स्टिलमा तीन दिन बाँच्छ : अध्ययन


१० चैत्र २०७६, सोमबार

काठमाडौं, १० चैत । कोरोना भाइरस संक्रमितले खोक्दा वा हाछ्यूँ गर्दा निस्कने तरल पदार्थ अर्थात एअरसोईल्डमा तीन घण्टासम्म बाँच्ने अध्ययनले निष्कर्ष निकालेको छ ।

अमेरिकाको नेशनल इन्स्टीट्यूट अफ हेल्थले गरेको अध्ययनअनुसार यस्तो थोपा हावामै रहँदा भाइरस तीन घण्टासम्म बाँच्ने देखिएको हो ।

त्यो भाइरस कागजमा परेमा २४ घण्टा र प्लाष्टिक तथा स्टिलको सतहमा परेमा २–३ दिनसम्म बाँच्ने देखिएको न्यू इङ्गल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्ष छ । अध्ययनकर्ताहरूका अनुसार तामाको सतहमा भने यो भाइरस चार घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ ।

कोरोना भाइरस बढी तापक्रम र आर्द्रता भएको ठाउँमा धेरै बाँच्न नसक्ने र चिसो ठाउँमा बढी समय बाँच्ने अध्ययनकर्ताहरुले बताएका छन् । यसको अर्थ संक्रमितले प्रयोग गर्ने टिस्यू पेपर तथा संक्रमितको सम्पर्कमा रहेका कागजमा २४ घण्टासम्म भाइरस जीवित हुन्छ भने ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटरका किबोर्डहरूमा परेका भाइरस लामो समय जीवित रहन सक्छन् ।

तर सजिलै उपलब्ध हुने स्यानिटाइजरहरुबाट भाइरसलाई सजिलै मार्न सकिने पनि अध्ययनकर्ताहरुले बताएका छन् । ६२ दशमलव ७१ प्रतिशत अल्कोहल वा शून्य दशमलव ५ प्रतिशत हाइड्रोजन प्रोक्साइड वा ० दशमलव १ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाई उत्पादन प्रयोग गर्दा भाइरस नष्ट हुने अध्ययनको निष्कर्ष छ ।

कपडामा भने कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन । संक्रमितको प्रत्येक खोकीमा कति कोरोना भाइरसका निस्कन्छन् भन्ने अध्ययन भएको छैन तर रुघाखोकीको भाइरस प्रत्येक थोपामा दशौँ हजार हुने भएकोले कोरोनामा पनि त्यही अनुमान् गरिएको अध्ययन प्रतिबेदनमा उल्लेख गरिएको छ ।

हावामै रहने थोपामा केही घण्टा तथा सतहमा अझ लामो समय बाँच्ने भएकोले मास्कको प्रयोग, नियमित हात धुने, प्रयोग गरिरहने ढोकाका चुकुल, रेलिङ, कम्प्यूटर लगायतका बस्तु सफा गरिरहने गरेमा संक्रमण फैलने क्रम कम हुने अध्ययनकर्ताहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्यसम्बन्धी संस्थाहरूले कोरोनाबाट बच्न हात धोइरहनु र छोइरहने ठाउँका सतहहरू दैनिक सफा गर्न आवश्यक भएको बताएका छन् ।

अध्ययकर्ताले अनुहारका कुनै अङ्ग छुनु अघि साबुनपानीले राम्रोसँग हात धोएमा र व्यक्तिबीचको दूरी कम्तीमा एक मिटर कायम गरेमा पनि संक्रमण फैलने क्रम निकै रोकिने बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७