हिरा लुट्ने तीन प्रहरी र पत्रकार पालुङबाट पक्राउ


१० चैत्र २०७६, सोमबार
hira

मकवानपुर, १० चैत । प्रहरीले हिरा लुटको आरोपमा तीन जना प्रहरी र एक पत्रकारलाई मकवानपुरको पालुङबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मकवानपुरको टोलीले सोमबार राति हिरा लुटेर काठमाडौं फर्कंदै गर्दा उनीहरुलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरिक्षक (एसपी) सुशील राठौरले जानकारी दिएका छन् ।

मकवानपुर प्रहरीले गिरफ्तार हुनेहरुको नाम भने औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । तर, पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय सिआरभी शाखा दरबन्दी भई महानगरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, जवान बीरबहादुर बस्नेत, हेमकान्त मगर र पत्रकार सुजन आचार्य रहेको स्रोतले जानकारी दिएको छ ।

प्रहरी जवान बीरबहादुर बस्नेतलाई महानगरीय प्रहरी कार्यालयले केही दिनअघि मात्रै घुमुवाबाट हटाएको थियो । तर, बनमन्त्री शक्ति बस्नेतका स्वकीय सचिव मुक्ति बस्नेतको दवावपछि डिआईजी विश्वराज पोखरेलले उनलाई पुनः दरबारमार्गको घुमुवाका रुपमा खटाएको स्रोतको भनाई छ ।

उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल पनि बरामद गरिएको जनाइएको छ ।
पूर्व तयारीका साथ काठमाडौंबाट लुटपाट गर्ने उद्देश्यले उनीहरु मकवानपुर पुगेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालयको सिआरभी टोलीमा कार्यरत उनीहरु लुटपाटको उद्देश्यले नै काठमाडौंबाट मकवानपुरको कैलाश गाउँपालिका पुगेका थिए । कैलाश गाउँपालिकाका एक व्यक्तिसँग हिरा किन्ने भन्दै उनीहरु काठमाडौंबाट मकवानपुर पुगेका थिए । तर कैलाश गाउँपालिकामा उनीहरुले हिरा लिई आफूहरु प्रहरी भएको र हल्ला गरे फसाई दिने भन्दै हिरा लिएर भागेको पाइएको छ ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो ।

हिरा लुटेर भाग्दै गर्दा उनीहरुलाई प्रहरीले रोकी खानतलासी गरेको थियो । आइतबार साँझ पक्राउ परेका उनीहरुले हालसम्म केही पनि बताएका छैनन् । उनीहरुलाई यतिबेला जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिँदै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७