निर्धारित समयभित्र मध्यभोटेकोशी आयोजना सक्न कठिनाइ


१० चैत्र २०७६, सोमबार
vote koshi

काभ्रेपलाञ्चोक, १० चैत । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ ।

पटक पटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण चिनियाँ ठेकेदार कम्पनीले आवश्यक जनशक्ति जुटाउन नसकी पूर्ण क्षमतामा काम हुन नसकेपछि आगामी डिसेम्बरभित्र सम्पन्न हुन कठिनाइ देखिएको आयोजनाप्रमुख डा सुनिलकुमार लामाले बताएका छन् ।

चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा शुरु भई सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो तर भूकम्प र बाढीले गर्दा निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको छ ।

आयोजनाको कूल सात हजार ११८ मिटर सुरुङमध्ये हालसम्म ६ हजार ६१८ मिटर सकिएको छ । अब बाँकी टनेल १ को ५० मिटर एक महिना र टनेल २ को ४५० मिटर तीन महिनाभित्र सकिने आयोजनाले जनाएको छ ।

हाल विद्युत् गृहको निर्माण कार्य भइरहेको छ भने हेडवक्र्सको काम आगामी बर्खाअगावै सम्पन्न गर्ने आयोजनाले लक्ष्य राखेको छ । आयोजनाको काममा ढिलाइ हँुदा दैनिक एक करोड रुपैयाँ घाटा व्यहोर्नु परेकाले ठेकेदार कम्पनीलाई अबको नौ महिनाभित्र जसरी हुन्छ काम सक्न दबाब दिइएको आयोजना प्रमुख डा लामाले बताए ।

चिनियाँ र नेपाली कामदारबाट काम भइरहेको उक्त आयोजनामा ठेकेदार कम्पनीले आवश्यकभन्दा आधा संख्याको जनशक्ति मात्र जुटाएको छ । रु १४ अर्ब ५० करोड लागतमा निर्माण भइरहेको आयोजनाको सीभील कार्य चिनियाँ ठेकेदार कम्पनी वाङसी हाइड्रो इलेक्ट्रिक कन्सट्रक्शन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रिया एन्डिज हाइड्रोको भारतीय कम्पनीद्वारा भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनाका लागि ४०० केभीको प्रसारण लाइन बाह्रबिसेमा सबस्टेशन रहने गरी बाह्रबिसे–लप्सेफेदी प्रसारण लाइनको निर्माण कार्य भइरहेको छ ।

उक्त प्रसारण लाइनको काम समयमा पूरा हुन नसके त्यहाँ उत्पादित विद्युत् र ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् खेर जाने हुँदा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले हालै स्थलगत निरीक्षण गरी चाँडै सक्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७