लकडाउन मुलुकभर प्रभावकारी कार्यान्वयन, यस्तो देखियो असर (भिडियोसहित)


११ चैत्र २०७६, मंगलवार
lockdown nepal

काठमाडौं, ११ चैत । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ ।

मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको हाे । सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गरेका छन् ।

उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् । सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ । आदेश कार्यान्वयनका लागि प्रहरीको सक्रियता बाक्लिएको छ ।

काठमाडौँ उपत्यकामा प्रहरी चोकचोकमा खटिएर सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिरहेका छन् । ट्राफिक प्रहरी पनि आवश्यक व्यवस्थापनमा बिहानैदेखि खटिएको छ ।

गत माघ ९ गते चीनको हुबेइ प्रान्तको वुहान शहरबाट आएका र यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपालमा आएका गरी दुई जनामा कोरोना लक्षण देखिए पनि नेपालमा अन्यमा सङ्क्रमण भेटिएको छैन । सम्भावित जोखिम रोक्न सरकारले यही चैत १८ गतेसम्मका लागि उक्त आदेश जारी गरेको हो ।

सरकारले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड­१९ को रोकथाम र निर्मूूल गर्न सोमबार अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको हो ।

आदेशमा ‘औषधोपचार, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन’ भनिएको छ ।

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने पनि आदेशमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७