कोरोना कोषमा एनसेलको १० करोड सहयोग


११ चैत्र २०७६, मंगलवार
1585061094ncell

काठमाडौं, चैत ११ । सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने कम्पनीले विश्वास लिएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् ।

“सिंगो विश्व कोभिड-१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोभिड-१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ” चेक बुझ्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले कम्पनीले ग्राहक सेवा र गुणस्तरीयताका साथै समाजिक योगदान पनि गर्दै आएको र त्यही अनुसार कोषमा योगदान गरिएको बताए।

“एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको १० करोड सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । हामी विश्वस्त छौं, यो हाम्रो योगदानले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ,” चोङ्गले भने ।

यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत रहेको र अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले हामी नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्घ भएको उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको चोङ्गले जानकारी दिएका छन्। उनले शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा एनसेलले योगदान पुर्‍याउँदै आएको बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७