खुट्टा भाँचिएका बिरामीलाई ज्वरो देखिएपछि अस्पतालले निकाल्यो


१२ चैत्र २०७६, बुधबार
Prasi sunawal quareintine 20200325004938

नवलपरासी, १२ चैत । रूपन्देही सैनामैनाका २१ वर्षीया अजय सहानी सात दिनदेखि मेडिटेक अस्पताल बुटवलमा उपचाररत थिए ।

ट्याक्टर दुर्घटनामा खुट्टा भाँचिएका उनमा मंगलबार बिहान एक्कासि ज्वरो आयो । उनको उपचार गरेका अर्थाे डा. गोपाल ज्ञवालीले ज्वरो आएका बेला शल्याक्रिया गर्न आईसीयू चाहिने भन्दै भैरहवाको युनिभर्सल मेडिकल कलेज पठाए ।

बिरामी रिफर गर्नुअघि डा. ज्ञवालीले युनिभर्सलका डा. किशोरमान श्रेष्ठलाई अस्वथाबारे जानकारी दिएका थिए । डा. श्रेष्ठले बिरामी भर्ना गर्ने वचन दिए । सहानी मेडिकल कलेजको आकस्मिक कक्षमा पुगेपछि निकालियो। ज्वरो नाप्ने बित्तिकै चिकित्सकले गलहत्याएर निकालेको उनको उपचार गराइरहेका व्यवसायी केशव अधिकारीले बताए ।

‘ज्वरो आएको थाहा पाउनासाथ चिकित्सकले कुरुवासहित बिरामीलाई नै धक्काएर बाहिर निकाले’, उनले भने, ‘स्ट्रेचरमा बस्न पनि दिएनन् ।’ सहानी र उनका कुरुवा एक घण्टा अस्पताल परिसरमा बसे तर उपचार गरिएन । उनीहरू बुटवलको जेनस अस्पतालमा भर्ना भएका छन् ।

नवलपरासीका एक युवाले हालै उपचारका लागि ६ वटा अस्पतालको फन्को मार्नुपरेको थियो । ज्वरो र खोकी लागेकै कारण उनी उपचारबाट वञ्चित भएका थिए । मुख्यमन्त्री कार्यालयको निर्देशनपछि लुम्बिनी अस्पतालले उपचार थालेको थियो ।

कोरोना आशंका गरिएका उनको रिपोर्ट नेगेटिभ आएको छ । उनलाई निमोनिया भएको रिपोर्टमा उल्लेख छ । उनको अवस्था सामान्य रहेको र २–४ दिनमा डिस्चार्ज गर्ने तयारी रहेको पृथ्वीचन्द्र अस्पताल परासीका डा. मोहम्मद नुरुल होदाले बताए ।

सहानीको उपचारका लागि कपिलवस्तुका सांसद विष्णु पन्थीले पहल गरेका थिए । मेडिकल कलेजले उपचार गर्नै नमानेको आफन्तले बताएका छन् । मेडिकल कलेजका प्रशासकीय अधिकृत तेज केसीले यस विषयमा बोल्न चाहेनन् । सूचना अधिकारी सुशील गुरुङले फोन उठाएनन् ।

सामान्य ज्वरो आउँदैमा कोरोना संक्रमण नहुने भनिए पनि चिकित्सक नै बिरामीको उपचारमा आनाकानी गरेका छन् । उपचार रोकिएको भन्दै सर्वसाधारण निराश छन् । निजी अस्पतालमा यो समस्या अझै हटेको छैन ।

२३ जना आइसोलेसनमा

प्रदेश ५ मा सामान्य जाँचपछि २३ जनालाई आइसोलेसनमा राखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार तीमध्ये १३ जनाको परिणाम नेगेटिभ आएको छ । १० जनाको स्वाब परीक्षणकै क्रममा छ ।

आइसोलेसनमा भएकामध्ये केही निको भएर फर्किएका छन्। स्वास्थ्य परीक्षणका क्रममा आशंका लागेका ४० जनालाई अस्पतालमा रिफर गरिएको थियो । तीमध्ये २३ जनाको मात्रै स्वाब परीक्षण गरिएको हो ।

धमाधम बन्दै क्वारेन्टाइन

प्रदेशका स्थानीय तहहरूले धमाधम क्वारेन्टाइन निर्माण गरेका छन्। प्रदेश सरकारसँग यस विषयमा तथ्यांक भने छैन । प्रदेश सरकारको समन्वयमा बनेका आइसोलेसन बेड भने १ सय १० वटा छन्। स्थानीय तह आफैंले कैयौ आइसोलेसन र क्वारेन्टाइन तयार गरेका छन् ।

विद्यालय, सामाजिक संघसंस्था तथा अस्थायी रूपमा क्वारेन्टाइन बनाइएको हो । ती क्वारेन्टाइनमा बिरामी भने राखिएको छैन । तानसेन नगरपालिका–६ को बरतुङको जनप्रिय माविमा ५० बेडको क्वारेन्टाइन बनाइँदै छ ।

शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा राख्ने, उनीहरूको उपचार जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालका चिकित्सकबाट गरिने भएको छ । पश्चिम नवलपरासीमा प्रहरी महाविद्यालय परिसरमा १ सय बेडको क्वारेन्टाइनसहितको उपचार कक्ष निर्माण गरिएको छ ।

क्वारेन्टाइनमा महाविद्यालयका एक चिकित्सकसहित नगरपालिकाको छुट्टै स्वास्थ्य टिम खटाइएको छ । बेडदेखि बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री र खानासमेत नगरपालिकाले व्यवस्था गरेको नगरप्रमुख भीमबहादुर थापाले बताए । उनका अनुसार १० थान पीपीईसहितको सामग्री आइसकेको छ । थप ५० थान पीपीई ल्याउन लागिएको र अन्य सहयोगका लागि प्रदेश सरकारसँग माग गरिएको छ ।

दाङका विभिन्न अस्पताल तथा क्लिनिक गरेर ६१ वटा आईसोलेसन बेड तयारी अवस्थामा छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आईसीयूसहितको अक्सिजन प्लान्टको व्यवस्था गरेको छ । प्रतिष्ठानले १० आइसोलेसन बेडको व्यवस्था गरेको छ ।

१९ नम्बर बाहिनी अड्डा तुलसीपुरले पनि १० वटा, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल लमही, सिसहनिया हेल्थ पोस्ट देउखुरी, फ्लोरेन्स अस्पताल लमही, चिनारी अस्पताल तुलसीपुर, दिपज्योति अस्पताल घोराही, बुद्ध इन्टरनेसनल अस्पताल घोराहीले ३–३ वटा आइसोलेसन बेड व्यवस्था गरेका छन् ।

राप्तीलाइफ केयर अस्पताल तुलसीपुर, मितेरी अस्पताल घोराहीले पाँच बेड व्यवस्था गरेको छ । गोरखा अस्पताल घोराहीले भने चार बेडको व्यवस्था गरेको छ । कोरोना संक्रमितलाई आइसोलेसन बेडमा राखेर उपचार गर्न सरकारले नै विभिन्न अस्पतालमा गरी ६१ बेडको व्यवस्था गरेको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७