कोरोना संक्रमितको उपचार गर्नुपर्ने डरले बन्द गरिएको अस्पताल विरोध र दबावपछि खुल्यो

संक्रमित युवतीसँगै फ्रान्सबाट आएकी बागलुङकी महिलाको नमूना संकलनमा समस्या


१२ चैत्र २०७६, बुधबार
hospital

वागलुङ, १२ चैत । कोरोना भाइरस संक्रमितको उपचार गर्नुपर्ने डरले बन्द गरिएको बागलुङका दुई निजी अस्पताल विरोध र दबावपछि खुलेका छन् ।

चौतर्फी विरोध भएपछि कोरोना भाइरस संक्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेका हुन् । मङ्गलबार दिउँसो अस्पतालको ढोकामा सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरिएको जानकारी गराएको थियो ।

कोभिड –१९ परीक्षणलगायत सामग्री नभएकाले अस्पताल बन्द गरिएको उक्त सूचनामा उल्लेख थियो भने अस्पतालका अध्यक्ष सन्तोष रावलले सुरक्षा सामग्री नभएको र अस्पतालका कर्मचारीले काम गर्न नमानेकाले बन्द गर्न बाध्य भएको बताएका थिए ।

उनले सरकारी अस्पतालमा सामग्री र बीमाको कार्यक्रम हुने तर निजीमा नहुने भएकाले चिकित्सक तथा कर्मचारीले काम गर्न नमानेको बताएका थिए । अस्पताल बन्द भएको समाचार सार्वजानिक भएपछि सङ्कटको बेला अस्पताल बन्द गरेकामा चौतर्फी विरोध भएको थियो ।

सर्वसाधारणले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए भने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बन्द गर्ने कार्य गैरजिम्मेवार भन्दै तत्काल कारवाही गरिने चेतावनी दिएपछि अस्पताल सञ्चालनमा आएको हो ।

नगर प्रमुख पौडेलको चेतावनी र सामाजिक सञ्जालमा सर्वसाधारणको ब्यापक विरोध भएपछि मङ्गलबार रातिदेखि अस्पताल खुलेको सूचना व्यवस्थापनले आफ्नै सूचनापाटीमा टाँस गरेको छ ।
भएन नमूना सङ्कलन
स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) को अभाव हुँदा जिल्लामा कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षणका लागि लिइने नमूना सङ्कलन प्रभावित भएको छ ।

सुरक्षा कवचको अभावका कारण यही चैत ५ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी बागलुङ नगरपालिका–४ का एक महिलाको नमूना सङ्कलन गर्न नसकिएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ । काठमाडौंमा कोरोना सङ्क्रमणको पुष्टि भएकी युवतीसँगै कतार एयरवेजबाट आएकी बागलुङकी महिलाको नमूना सङ्कलनमा समस्या आएको हो ।

घरमा नै बसेकी उनलाई केही दिनदेखि ज्वरो आउने, रुघा लाग्नेलगायत लक्षण देखापरेपछि उनको परिवार मङ्गलबार अञ्चल अस्पतालको सम्पर्कमा आएको थियो ।

बिरामीको परिवारले अस्पतालमा सम्पर्क गरेर उनी बिरामी रहेको जानकारी गराए पनि सुरक्ष कवचका अभावमा कोरोना परीक्षणका लागि नमूना सङ्कलन गर्न कठिन भएको अस्पतालका डा. पूजन बल्लले जानकारी दिए । सुरक्षा कवच नभएकै कारण अस्पतालको आइसोलेशन कक्षसम्म उनलाई ल्याउन नसकिएको हो ।

सुरक्षा कवच नलगाई बिरामीलाई आईसोलेशन वार्डसम्म ल्याउन नमिल्ने र स्वास्थ्यकर्मी समेत बिरामीको नजीक जान नमिल्ने भएकाले समस्या भएको डा. बल्लले बताए । अस्पतालमा रहेका दुई थान सुरक्षा कवच सोमबार नै अस्पतालमा आएका बाग्लुङ नगरपालिकाकै अर्का बिरामीको स्वाब सङ्कलनमा प्रयोग भएको थियो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बी पोखरेलले मङ्गलबार अपराह्न गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग पहल गरेर पाँच थान सुरक्षा कवच प्राप्त गरेका छन् ।

पोखराबाट बाग्लुङ आउन समय लाग्ने भएकाले आज बिहानसम्म ती महिलाको घाँटीको स्वाब लिन सकिने अस्पतालले जनाएको छ । डा. बल्लका अनुसार ती महिलालाई आज बिहान मात्रै आइसोलेशन वार्डमा लिन सकिने छ ।

मङ्गलबार भने ती बिरामी महिला घरमा नै क्वारेन्टाइनमा छिन् । जिल्लामा शङ्कास्पद बिरामी देखिन थालेपछि ३० थान सुरक्षा कवच तत्काल खरीद गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ ।
विपन्नलाई दालचामल
सङ्क्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएका बेला काँठेखोला गाउँपालिकाले आफ्ना विपन्न जनतालाई राहत सहयोग गर्ने भएको छ । सबै आ–आफ्ना घरमा नै बस्नुपर्ने भएपछि बिहान बेलुका छाक टार्न समस्या भएका गाउँपालिकाका विपन्न जनतालाई खाद्यान्न राहत वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

सो राहत दैनिक श्रमका आधारमा हातमुख चलाउनेलाई मात्र हो । ‘पालिकाभित्रका विपन्न जनता, जसलाई लकडाउनका कारण बिहान बेलुका छाक टार्न समस्या छ, लाई खाद्यान्न वितरण गर्न लागेका छौं’, अध्यक्ष थापाले भने, ‘प्रारम्भिक राहतका रुपमा प्रत्येक परिवारलाई एक बोरा चामल र दाल दिने तयारी गरेका छौ ।’ परिस्थिति हेरेर राहत र सहयोगको मात्रा बढाइने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७