मिडियाले उचालेकै भरमा कतिपय गायक-संगीतकार चलेका छन् : सुमन दियाली


२९ पुष २०७४, शनिबार
suman diyali

‘इलामैको डाँडापाखा चियाबारी छ है राम्रो
माइपोखरी गजुरमुखी पाथीभरा धामै राम्रो’

मोफसलमा रहेर राजधानीलाई चुनौति पस्किने गायक गायक कुवेर राईको गलाले सजिएको यो गीत सुन्दा देश–विदेशमा छरिएर रहेका इलामेको गर्वले छाती ढक्क फुल्छ । गीतका हरेक शब्दहरुले देश–विदेशमा रहेका सबै इलामलेलाई आफ्नो गाउँघरको डाँडापाखा, हरियाली, खेतीपाती र प्राकृतिक सुन्दरतामै पुर्‍ष्याउँछ ।

suman diyali

‘सन्ददकपुरको पानी चिसो हिउँ झर्ने चिसो,
ख्याल–ख्यालैमा माया बस्यो दूध र अम्लिसो
सँगैसँगै घुम्न जाऊ अन्तु डाँडैमा’

यो गीतले कुवेर राईलाई जति चर्चामा पुर्‍यायो, त्यति संगीतकारको चर्चा हुन सकेन । कुवर राईले गाएको यस गीतका संगीतकार पनि इलामकै प्रतिभा हुन् । यस गीतका संगीतकार हुन इलामकै प्रतिभा सुमन दियाली । यथार्थवादी र अनन्तकालसम्म बाँच्न सक्ने र सबैको मन छुन सक्ने शब्दले भरिएको गीतलाई संगीत भर्न रुचाउने सुमनले स्रोताको मन छुने अर्को गीतलाई संगीत पनि मन छुने छ ।

इलामे गीतकार सन्तोष भक्तराजको शब्द र यम इलामकै गायक बरालको स्वरमा रहेको ‘व्यथा दुख्यो दुखी नै रह्यो कसलाई सुनाऊ, मन पनि धरधरी रोयो कसरी पो बुझाऊ ।’ इलाम जस्तो सानो ठाउँमै भए पनि दिन रात संगीतकै साधनमा रहेका सुमनलाई इलामले साँगीतिक जगतमा धेरै प्रतिभा जन्माए पनि यहाँको साँगीतिक माहौल उठ्न नसकेकोमा भने दुःख लाग्छ । उनी भन्छन्–‘इलाममा गायकहरु धेरै छन् तर संगीतकारहरु भने साह्रै कम छन् । यसले गर्दा संगीतमा इलाम अरु स्थानभन्दा धेरै पछाडि परेको छ ।’

संगीत क्षेत्रमा इलाम पछाडि पर्नुका कारण व्यक्तिगत रुपमा दोष कसैमा नभए पनि कलाकारबीचको एकता कम हुनु र नेतृत्व गर्न खोज्नेमा इमान्दारिता नहुनु नै मुख्य रहेको सुमनको निष्कर्ष छ । अर्कातर्फ सांगीतिक क्षेत्रमा आउन चाहने नव प्रवेशीहरुले वाद्ययवादनसम्बन्धी आधारभूत ज्ञान समेत नलिई गीत गाउने गर्नाले संगीतको स्तर उकासिन नसकेको सुमन सुनाउँछन् । २०४७/२०४८ सालदेखि वाद्ययवादनलाई निरन्तरता दिई अहिले पनि दार्जिलिङ्गमा संगीतको कक्षा लिइरहेका सुमनले भ्वाइलिन र मेन्डोलिन बजाउन बढी आनन्द लाग्ने बताउँछन् ।

त्यसका अलावा किवोर्ड, प्यानो, गितारलगायतका बाजाहरु बजाउनमा समेत राम्रो ज्ञान भएका सुमन संगीत क्षेत्रमा लाग्न आफ्ना संगीतकार बुबा राम दियालीको ठूलो हात भएको बताउँछन् । उनी भन्छन्–‘संगीत के हो भन्ने कुरा पहिले बुझ्नु पर्छ । अनि साधनामा अल्छी गर्नु हुन्न ।’

‘चाँहिदैन अमृत अब म मरेकै जाति हुन्छ
तिमीबाट छुट्टिएर म सरेकै जाति हुन्छ’

पछिल्लो समयमा रेजिना राईको शब्द र रेनुका थेबेको स्वरसहित आफ्नो संगीतमा यो गजल रेकर्ड गराएका सुमन आफूले संगीत गरेका गीतहरुको संगालो चाँडै ल्याउने सोंचमा छन् । आफ्नै शब्द र संगीतमा रहेको कृष्ण प्रसार्इंको स्वरको यो गीतले पनि सुमनलाई एकताका मोफसलमा निकै चर्चाको शिखरमा पु¥याएको थियो ।

मेरो एक्लो यात्राले तिम्रो छेऊ पु¥याई दियो
के बोल्यौ मुटुमा गढिगयो
मलाई पनि मुटु खोल्न कर लाग्यो’

उनी भन्छन्–‘गीतसँगै गीतको पछाडि के–के कुरा जोडिएका हुन्छ भन्ने चाँही सबैले बुझ्न जरुरी हुन्छ । सञ्चार माध्यमले चर्चामा पु¥याई दियो भन्दैमा कोही कालजयी रुपमा चर्चाको शिखर अडिइरहन नसक्ने उनी बताउँछन् । गीतका शब्द, स्वर र संगीतको गुणस्तरीयताले मात्र गीत कालजयी बन्ने उनको अहिलेसम्मको अनुभव छ ।

गीतलाई राम्रो र कहिल्यै नमर्ने बनाउन गीतकार, संगीतकार र गायक सबैले उतिकै मेहनत गर्नुपर्ने सुमन बताउँछन् । गीत संगीतको खेतीमा रात दिन खट्ने सुमन राष्ट्रिय गीत संगीतको चर्चामा कम आए पनि जिल्लामा हुने साँगीतिक कार्यक्रमका नेतृत्वकर्ता नै हुन् । जिल्लाका सबैजसो सांगीतिक कार्यक्रमका लागि सुमनको अनिवार्य आवश्यकता हुने गरेको छ । सुमनकै संगीतको खड्किलो टेकेर इलामका धेरै गायक नेपाली सगीत संगीत क्षेत्रमा स्थापित भएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७