चिनियाँ कम्पनीले नेपाल पठायो ३६ लाखको कोरोना परीक्षण गर्ने दुई हजार किट


१२ चैत्र २०७६, बुधबार
cina nepal medical support

काठमाडौं, १२ चैत । चीनको बेइजिङस्थित नेपाली दूतावासले बेइजिङ सभान्ट बायोटेक्नोलोजी कम्पनी लिमिटेडले सहयोग स्वरुप प्रदान गरेको दुई हजार थान कोरोना भाइरस टेष्टिङ किट बुधबार काठमाडौंतर्फ पठाएको छ ।

दूतावासले पठाएका किटहरू ल्हासास्थित नेपाली महावाणिज्य दूतावास हुँदै काठमाडौं आइपुग्ने छन् । ‘नेपाली महावाणिज्य दूतावास ल्हासाले स्थलमार्गबाट छिट्टै नेपाल पठाउने बन्दोबस्त गर्दैछ,’ बेइजिङस्थित नेपाली दूतावासले भन्यो ।

३० हजार अमेरिकी डलर (करीब ३६ लाख रुपैयाँ) रुपैयाँ बराबरका ती किटहरू बुधबार बेइजिङमा एक कार्यक्रमको आयोजना गरी उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले नेपाली दूतावासलाई हस्तान्तरण गरेका थिए । दुई हजार किट नेपाललाई निशुल्क उपलब्ध गरिएको हो ।

टेस्टिङ किट हस्तान्तरण कार्यक्रममा बेइजिङ नगरपालिका वाणिज्य व्युरोका निर्देशक थान छङ्हाइ र बेइजिङ–काठमाडौं अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिओजि आन्लीको पनि उपस्थिति रहेको थियो ।

नेपाल–चीन मैत्रीको उत्कृष्ट उदाहरणको रूपमा रहेको उक्त सहयोगले नेपालमा रहेको परीक्षण उपकरणको थोरै भए पनि अभाव पूर्ति गर्ने अपेक्षा राखिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७