भारतबाट बैतडी आएका पाँच जना आइसोलेसन र ८५ क्वारेन्टाइनमा

स्याङजामा ६० जना होम क्वारेन्टाइनमा


१३ चैत्र २०७६, बिहीबार
Prasi sunawal quareintine 20200325004938

बैतडी, १३ चैत । भारतबाट फर्केका बैतडीका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बैतडीले क्वारेन्टाइनमा राख्न स्थानीय तहको जिम्मा लगाएको छ ।

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट मङ्गलबार आएका जिल्लाका विभिन्न स्थानीय तहका ८५ जनालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका १७ र सुर्नया गाउँपालिकाका ११ जना रहेका छन् । यस्तै पाटन नगरपालिका र मेलौली नगरपालिका ६–६ जना, पुर्चौडी नगरपालिकाका ४ र शिवनाथ गाउँपालिकाका २ जना रहेका छन् ।

मङ्गलवार बिहानैदेखि भारतबाट आएका यात्रुहरु कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका थिए । उनीहरुलाई प्रदेश सरकारका तर्फबाट सम्बन्धित जिल्लामा पु¥याउने व्यवस्था गरिएको थियो ।

अहिलेसम्म कोरोनाको प्रभाव जिल्लामा नपरेको भए पनि मानसिक र सम्भावित सङ्क्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन प्रजिअ पौडेलले आग्रह समेत गरेका छन् ।

अरु स्थानीय तहमा पनि भारतबाट आउनेको संख्या धेरै भएकाले सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध बाहेक केही गरेका छैनन् । यसबाट शहरभन्दा गाउँ असुरक्षित बनेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बेला बेलामा आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिन र घरमै बस्न आग्रह गरिएको छ ।

यसैबीच गएको एक हप्ताको अवधिमा भारतबाट बैतडी फर्किएका नागरिकको खोजी गरिँदै गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । कुन ठाउँमा कति जना मानिस जिल्ला भित्रिएका हुन् स्थानीय सरकारसँग समन्वय गरी वडावडामा स्थानीय जनप्रितिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्याङ्क सङ्कलन गरी सेल्फ होम क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पौडेलले बताए ।

यस्तै लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा घरटोल र छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि र कर्मचारी लागिपरेको छन् ।

अवैधरूपमा भारतबाट आएका पाँच जना आइसोलेसनमा
भारतबाट आएका एक युवकसहित आइसोलेसन वार्डमा भर्ना भएर उपचार गराइरहेका दुईको नमूना परीक्षणका लागि पठाइएको छ ।

भारतबाट आएका बैतडीको पुर्चौडीका एक युवक र दशरथचन्द नगरपालिकाकी ५८ वर्षीया वृद्धाको घाँटी र नाकको स्वाव (र्‍याल) परीक्षणका लागि बुधवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको हो । जाँच गर्दा युवकलाई १००.८ डिग्री फरेनहाइट र वृद्धामा १००.४ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि आइसोलेसनमा राखिएको जिल्ला अस्पताल बैतडीका चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।

युवकलाई दशरथचन्द नगरपालिकाले स्थापना गरेको जगन्नाथ बहुमुखी क्याम्पसको आइसोलेसनर वृद्धालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको उनले बताए । वृद्धालाई पाँच दिनदेखि बिरामी भई अस्पताल आएपछि जाँच गर्दा ज्वरोसँगै खोकी र श्वासप्रश्वासको समस्या देखिएकोले कोरोना भाइरसको जस्तै सम्भावित लक्षण देखा परेकाले आइसोलेशनमा राखिएको हो । यस्तै वृद्धाका घर परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ । बृद्धा १० दिनअघि कैलालीको सुख्खडबाट बैतडी आएको बुझिएको छ ।

यस्तै आइसोलेसनमा रहेका युवक भने सीमानाका बन्द रहेका बेला अवैधरूपमा भारतबाट महाकाली नदीमा ट्युबमा तरेर नेपाल आएका हुन् । युवकसँगै ट्युबमा आएका अन्य चार जनालाई पनि आइसोलेशनमा राखिएको छ तर तिनीहरुलाई भने १०० डिग्री फरेनहाइट भन्दा कम ज्वरो रहेको अस्पतालले जनाएको छ । प्रयोगशाला पठाइएको नमूनाको रिपोर्टपछि मात्रै उनीहरुमा कोरोना भए नभएको थाहा हुने बताइएको छ ।

भारतबाट फर्केकाको व्यवस्थापन गर्दै स्थानीय सरकार

भारतबाट नेपाल फर्किएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । सुर्नया गाउँपालिकाले भारतबाट फर्किएका १३ जनालाई क्वारेन्टाइनमा राखेको हो । आठ जनालाई राष्ट्रिय मावि फाटिगडामा, चन्द्रमणि आधारभुत विद्यालयमा तीन र वासुदेव मावि लिस्कटामा दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसका साथै भारतबाट आएका अन्य नागरिकलाई पनि क्वारेनटाइनमा राख्ने तयारी भएको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।

यसका साथै भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ । घरपरिवारका अन्य परिवारभन्दा अलग्गै बस्न आग्रह गरिएको हो । सुर्नया गाउँपालिकाले पालिकाभित्रका सबै स्वास्थ्यसंस्थामा आइसोलेसनस्थापना गर्ने जनाएको छ । भारतबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन अभियान पनि शुरु गरेको गाउँपालिका अध्यक्ष विष्टले बताए ।

यसैबीच पाटन नगरपालिका–७ मा रहेको उदयदेव माविमा १० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोनाको आशङ्का लागेकालाई तत्कालका लागि उपचारका लागि क्वारेन्टाइन निर्माण गरिएको कार्यापालिका सदस्य बलदेवराम लुहारले जानकारी दिए । पाटनमा यसअघि विभिन्न स्थानमा गरी ३४ शैंयाको आइसोलेसन केन्द्र पनि स्थापना गरिसकिएको छ ।

यस्तै पाटन नगरपालिका–४ भूमेश्वरमा वडा कार्यालय, स्वास्थ्य चौकी र भूमेश्वर युवा क्लबले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । भारत तथा अन्य मुलुकबाट गाउँमा मानिस भित्रिएकाले तिनीहरुलाई अलग्गै क्वारेन्टाइनमा बस्न वडाध्यक्ष दीपकसिंह विष्टले आग्रह गरेका छन् ।

पाटन नगरपालिका–१० ले १० शैंयाको आइसोलेसन कक्ष स्थापना गरेको छ । ब्रह्म अधारभूत विद्यालय हातामा उक्त आइसोलेसन कक्ष स्थापना गरिएको वडाध्यक्ष देवेन्द्र कुँवरले बताए । आइसोलेसन कक्ष स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रहने र कोरोनाको शङ्कास्पद व्यक्ति भेटिने बितिक्कै रेफर गर्ने उनले बताए ।

आइसोलेसन कक्षमा आउने व्यक्तिहरुलाई खाना, बास बस्न र सरसफाइको व्यवस्था मिलाइएको छ । उक्त कक्षमा भारत तथा अन्य जिल्लाबाट आएका व्यक्तिलाई राखिने वडाअध्यक्ष कुँवरले बताए । यस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत वडाभित्र विदेशबाट आएका व्यक्तिको डाटा सङ्कलनको काम भइरहेको छ ।

शान्ति यज्ञ सम्पन्न

बैतडीको दोगडाकेदारमा रहेको प्रसिद्ध दोगडा धाममा बुधबार शान्ति यज्ञ सम्पन्न भएको छ । दोगडाधाम संरक्षण समितिको आयोजना तथा दोगडाकेदार गाउँपालिकाको सहयोगमा उक्त यज्ञ सम्पन्न भएको होे ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस नेपाल तथा यस क्षेत्रमा नभित्रियोस् भन्ने कामनासहित शान्ति यज्ञको आयोजना गरिएको समितिका सल्लाहकार दिनेश भट्टले जानकारी दिए । बुधवारदेखि १४ गतेसम्म सञ्चालन हुने भनिएको भए पनि भिडभाडबाट सङ्क्रमण बढ्न सक्ने भन्दै एकै दिनमा यज्ञ समापन गरिएको हो ।

विदेशबाट फर्किएका ६० जना होम क्वारेन्टाईनमा
स्याङजाको वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका ६० जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर घरमा पुगेर ६० जनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिरहेका छौं’, नगरप्रमुख खाँणले भने, ‘विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौँ ।’ विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलवासीलाई आग्रह गरेका छन् ।

वालिङ नगरपालिकाको वडा नं. १मा तीन, २ मा सात, ३ मा दुई, ४ मा एक, ५ मा छ, ६ मा पाँच, ७ मा एक, ८ मा एक, ९ मा दुई, १० मा एक, ११ मा तीन, १२ मा पाँच र १४ मा एकजना विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख खाँणले बताए ।

नगरपालिकाले १४ वटै वडामा पुगेर विदेशबाट फर्केकाको तथ्याङ्क सङ्कलन गरिरहेको छ । स्थानीय टोलवासीले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर घरमा पुगेर विदेशबाट आएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको उपप्रमुख कल्पना तिवारीले बताइन् । ‘विदेशबाट आएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं’, उपप्रमुख तिवारीले भनिन्, ‘बसे नबसेको नियमित अनुगमन गरिराखेका छौँ ।’

बुधबार साँझसम्ममा नगरभित्रका सबै वडाका टोलका घर घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई सुरक्षित राख्न क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताइन् ।

दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्श समेत दिइएको छ । नगरका १४ वटै वडामा विदेशबाट आएकाको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७