फ्रान्सेली राजदूतावासले पोखराबाट काठमाडौं ल्यायो आफ्ना ५९ नागरिक

सगरमाथा क्षेत्रमा अलपत्र १९ पर्यटकको उद्धार


१३ चैत्र २०७६, बिहीबार
tourist scaled

काठमाडौं, १३ चैत । कोभिड –१९ को सङ्क्रमणले नेपाल घुम्न आएका पर्यटक अलपत्र परेपछि काठमाडौंस्थित फ्रान्सेली दूतावासले आज पोखराबाट बुद्ध एयर चार्टर गरेर ५९ जना आफ्ना नागरिक काठमाडौंं लगेको छ ।

सरकारले कोरोनाको सङ्क्रमणको बढ्दो जोखिम न्यूनीकरण गर्न देशभरि लकडाउन गरेपछि यतिबेला विभिन्न देशबाट आएका पर्यटक अलपत्रमा परेका छन् । पोखरा र आसपास क्षेत्रमा पदयात्रामा रहेका फ्रान्सेलीलाई दूतावासले परराष्ट्र र गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय पोखरामार्फत पत्राचार गरेर आफ्ना नागरिकलाई काठमाडौँ लैजाने प्रबन्ध मिलाएको हो । अहिले विभिन्न देशले आफ्ना नागरिकको खोजी गर्दै स्वदेश फर्काउने पहल थालेसँगै दूतावासले पनि सो प्रक्रियालाई अगाडि बढाएको हो ।

पर्यटन प्रहरी पोखरा कास्कीका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले पोखरामा सम्पर्कमा आएका ती नागरिकलाई पोखरा विमानस्थलमा पुर्‍याइएको बताए । उनले भने, ‘हामीले पोखरा लेकसाइडमा सम्पर्कमा आउनु भएका ५९ जना फ्रेन्च नागरिकलाई पोखरा एयपोर्टसम्म यातायातबाट पुर्‍याउने व्यवस्था गर्‍यौँ ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले मुस्ताङबाट १२१ विदेशी पर्यटकलाई पोखरा पठाएको र सबैभन्दा बढी फ्रान्सका २१ पर्यटक भएको जानकारी दिए । उनले मुस्ताङ र मनाङमा रहेका सबै विदेशी पर्यटकलाई सम्पर्कमा रहन समेत आग्रह गरिएको र अलपत्र परेका पर्यटकलाई उद्धार गरिएको बताए ।

लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपाल ‘लग डाउन’ भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकको आज उद्धार गरी काठमाडौं लगिएको हो ।

आज उद्धार गरिएका मध्ये एक नेपाली र १८ विदेशी रहेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिइन् । उनका अनुसार १४ फ्रान्सेली पर्यटक तारा एयरबाट काठमाडौं गएका छन् भने डाइनेस्टिक एयरको हेलिकप्टरमार्फत दुई र सिम्रिक एयरको हेलिकप्टरमार्फत तीन जनाको उद्धार गरिएको हो ।

1585209950Tara Air

मङ्गलबार र बुधबार दुई दिनमा १० बिरामी पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् । अहिले पनि लुक्लामा करिब १५० को हाराहारीमा पर्यटक रहेको अनुमान गरिएको छ ।

उद्धार गरिएका फ्रान्सेली नागरिकलाई आफ्नो देश फर्काउन फ्रान्सबाट चार्टर विमान नेपाल पठाउने तयारी भइरहेको बताइएको छ । फ्रेन्च दूतावासकै पहलमा देशका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई काठमाडौ लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७