लकडाउन : मानसिक अस्पतालले घर पठाएन भर्ना भएका बिरामी


१४ चैत्र २०७६, शुक्रबार
patan mental

काठमाडौं, १४ चैत । लगनखेलस्थित मानसिक अस्पतालले बिरामीलाई घर फर्कन कठिन नहोस् भन्दै यहाँ भर्ना भएका बिरामीलाई घर पठाएको छैन ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गत मङ्गलबारदेखि ‘लकडाउन’ गरेसँगै अस्पतालले निको भइसकेका बिरामीलाई समेत घर नफर्काएको हो ।

काठमाडौँ उपत्यकाको पनि नजिकै घर भएका थोरै सङ्ख्यामा बिरामीलाई ‘लकडाउन’ शुरु हुनु पहिले नै पठाइसकिएको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्स डा अनन्तप्रसाद अधिकारीले बताए ।

अहिले यातायातका साधन नपाउने हुँदा अस्पतालमा रहेका बिरामीलाई यहीँ राखिएको हो । उनले भने,

‘उहाँहरुलाई हामी लकडाउन सकिएपछि नै डिस्चार्ज गर्नेछौं ।’ अस्पतालमा भर्ना हुने बिरामीका लागि ५० शैंया रहेकामा हाल झण्डै ३५ बिरामी रहेका छन् ।

अस्पतालले कुनै पनि बिरामी अस्पताल आएपछि जटिल समस्या भएमा भर्ना गरेर केही समय राखेर उपचार गरिँदै आएको छ । अस्पतालले नियमित औषधि सेवन गरिरहेका बिरामीलाई अहिले अति आवश्यक नभई नआउन भनेको छ ।

आवश्यक पर्दा फोनबाट समेत परामर्श दिइरहेको डा. अधिकारीले बताए । उनले भने, ‘औषधि सेवन गरिरहेका वा निको भएका बिरामी र अरु नागरिकले पनि आवश्यक पर्दा परामर्श लिइरहनु भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७