कोरोनाले सम्झाएको गाउँ !


१४ चैत्र २०७६, शुक्रबार
village scaled

बागलुङ, १४ चैत । क्यापिटल सिटी काठमाडौंमा गाडीभरि स्टेशनरी सामान लिएर बिक्रीका लागि दिनभर दौडधुप गर्ने जीवन आचार्य यतिबेला खेतबारीको डिलमा टहलिरहेका छन् ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका उनी कोरोना त्रासका कारण केही दिनअघि मात्रै गाउँ फर्किएका हुन् । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था अहिले छैन । खेतमा लगाइएको हिउँदे खेती थन्काएर मकै लगाउने याम छ अहिले छ गाउँमा । मकै लगाउनुपूर्व खेतमा पुर्‍याउनुपर्ने मल बोक्ने काममा उनले आफूलाई व्यस्त राखेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै काठमाडौँ छोडेर उनको गाउँमा थुप्रै युवा आएका छन् । पछिल्लो समय वृद्धाश्रम जस्ता देखिने गाउँमा युवा युवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ । देश नै लकडाउन भएपछि त्यसको असर गाउँमा कम छ । कृषि कर्म चलिरहेकाले दुई–चार जना मिलेर मल बोक्ने, मकै लगाउने, खेत छेउछाउ र घर वरिपरीका झाडी सफा गर्ने काम चलिरहेको शर्मा बताउँछन् ।

बागलुङ बजारमा कानून व्यवसाय गरेर बस्दै आएका रमेश खड्का आफ्नो पुरानो गाउँ तित्याङ फर्किएका छन् । लामै समय भयो, उहाँ चाडपर्व बाहेक गाउँमा कमै जान्थे । एकै दिनमा पुगिने बजारमा दैनिक हुने कामले उनलाई गाउँ बस्न फुर्सद थिएन ।

लामो समय छोडेको घर कतै भत्किएको, कतै झार उम्रिएको अवस्थामा थियो । कोरोनाको त्रासले सदरमुकाम छोडेर गाउँ फर्किएका खड्का दुई दिनयता आफ्नै पुरानो घर सिँगार्न व्यस्त छन् । ‘गाउँ आइयो, काम केही छैन’, खड्काले भने, ‘भत्किएका संरचना बनाउँदैछु ।’

आचार्य र खड्का जस्तै गाउँबाट शहरमा आई काम गर्ने कैयौँ युवा तथा वयस्क यतिबेला गाउँ फर्किएका छन् । कामको चटारो चल्ने समयमा गाउँ फर्किएका युवाले त्यहाँमा रहेका बूढापाकालाई सघाइरहेको काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने बताउँछन् ।

बागलुङ बजारमा होटल व्यवसाय गरेर बसेका जीतबहादुर थापा अहिले पुख्र्यौली गाउँ रेश फर्किएका छन् । केही दिन पहिले गाउँ पुगेका उनका तीनै भाइ बागलुङ बजारमै सपरिवार बस्ने भएकाले गाउँको घरको रुपरङ्ग नै फेरिएको थियो ।

कोरोनाको सन्त्रासले गाउँ फर्केका जीतबहादुरको दैनिकी यतिबेला घर पोत्ने, भाँडा धुने, ठाउँ बनाउने, वरिपरि बार्नेलगायत काममा बितिरहेको छ । ‘दशंँ आएभन्दा बढ्ता भएको छ, गाउँ सिङ्गारिँदै गएका छन्, छोडेका घरले सुसार पाएका छन्’, लामिछानेले भने, ‘त्रास एकातर्फ होला तर गाउँका दिन आए नि ! ।’

बजारमा बस्नेहरु अधिकांश गाउँ फर्केका कारण शहर भने सुनसान छ । पहिले गाउँ जानेहरु दुई–चार दिन पनि बिताउन नसक्नेहरु यस पटक धेरै दिनसम्म गाउँमै बिताउने भएका छन् ।

ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार दशैँको समयमा भन्दा धेरै सर्वसाधारण यतिबेला शहर बजारबाट गाउँमा भित्रिएका छन् । यकिन तथ्याङ्क नरहेको भए पनि लकडाउन पूर्वका केही दिन सवारीमा देखिएको चापले शहरको जनसंख्या सहजै अनुमान लगाउन सकिन्छ । भूकम्पका बेला छोडेका घरहरुले समेत यो समय संरक्षण हुन थालेका छन् भने गाउँमा एक्लै बनेका वृद्धवृद्धाले सहाराको अनुभूति गरेको स्थानीय तहका प्रतिनिधिहरु बताउँछन् ।

‘बाँझिएका खेतमा गोरु नार्ने कोही थिएन, कसरी खेती गर्ने होला भन्ने थियो’, बागलुङको बलेवाका धनपति पौडेल भन्छन्, ‘छोराछोरीहरु गाउँ आएका छन्, विगतमा बाँझिएका खेतबारी यसपटक खनजोत गरी खेतीपाती गर्न थालिएको छ ।’

वैदेशिक रोजगारीबाट फर्केकाबाट त्रसित बनिरहेका गाउँलेले गाउँ फर्किएकाको फेरिएको दैनिकीबाट भने सास फेरेका छन् । लकडाउन भएपछि सदरमुकाम बागलुङ बजार भने सुनसान बनेको छ भने गाउँघरमा निकै चहलपहल बढ्न थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७