बेलायतमा कोरोनाको प्रकोप बढेसँगै २ लाख नेपाली त्रासमा, भूतपूर्व गोरखाहरु पनि समस्यामा

ट्वाइलेट पेपरका लागि समेत लुछाचुँडी


कृष्णप्रसाद शर्मा (रासस)
प्रकाशित मिति : 27 March, 2020 3:55 pm

लण्डन, १४ चैत :  चीन, इटाली, स्पेन र अमेरिकाको तुलनामा बेलायतमा शुरुमा कोरोना भाइरसको प्रभाव नपरे जस्तो देखिए पनि पछिल्लो एक हप्तामा यहाँ पनि सङ्क्रमण दर ह्वात्तै बढेको छ । यसबाट यहाँको जनजीवन प्रभावित भएसँगै नेपाली समुदायमा पनि त्रास फैलिएको छ ।

यो हप्ता सङ्क्रमण हुनेहरूको संख्या एक्कासी आकासिएर ११ हजार पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या ५०० नाघेको छ । पछिल्ला पाँच दिनमा मात्र यहाँ प्रत्येक दिन क्रमशः ५७, ४८, ५६ र ८७ र ४३ जनाको मृत्यु भएको छ । यसरी एकाक्सी बढेको कोरोनाको प्रभाव शुन्यमा झार्न कम्तीमा पनि १२ हप्ता लाग्नसक्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

कोरोनाको प्रभाव बढे पनि यहाँ पूरा देशभर ‘लकडाउन’ गर्ने सोच भने सरकारले राखेको थिएन । त्यसैले गत हप्ताको शुक्रबारबाट केवल स्कुल, कलेज र विश्वविद्यालय मात्र बन्द गर्ने घोषणा गरेको थियो ।

नागरिकले अपनाउनु पर्ने सामान्य सावधानी समेत अवलम्बन नगरी पार्क एवं समुद्री किनारमा सयौँको संख्यामा भेला भएको र कोरानाका कारण बजारमा खाद्यान्नको कृत्रिम अभाव समेत देखिए पछि सरकारले यहि २३ मार्च देखि लकडानको धोषणा गरेको छ । अब घरायसी सामान तथा औषधी किन्न बढीमा एकाघरका दुई जना मात्र घर बाहिर जान पाइने र दिनको एक पटक शारीरिक व्यायमका लागि बाहिर निस्कन पाइने भनिएको छ ।

त्यसैगरी काममा जान सार्वजनिक यातायात मात्रै सवारी साधनको विकल्प रहेको अवस्थामा बाहेक अन्य अवस्थामा सार्वजनिक यातायात नचढ्न अनुरोध गरिएको छ । त्यस्तै यहाँका सुपरमार्केटहरुमा पनि एक पटकमा पाँच जना मात्र भित्र छिर्न दिइएको छ । उनीहरुले बजारमा आफूले चाहे जति सामान किन्न पाएका छैनन् । एक परिवारलाई निश्चित परिमाणमा मात्र सामग्री किन्न पाउने नियम बनाइएको छ ।

बेलायतमा कति नेपाली छन् भन्ने खासै यकिन तथ्याङ्क त छैन, तर विभिन्न संस्थाहरूले आँकलन गरेअनुसार यहाँ करिब दुई लाखको संख्यामा नेपाली छन् । यीमध्ये बढी त भुतपूर्व गोर्खाका परिवारहरू अधिक छन् । भने त्यसपछि दक्ष सीपयुक्त नेपाली आएका छन् । त्यसपछिका धेरै विद्यार्थीहरू पर्दछन् । बासस्थानका हिसाबले अध्ययन गर्दा अधिकतम नेपालीहरु लण्डनभन्दा बाहिर बसोबास गर्ने गरेका छन् ।

भुपु गोर्खाहरूको बाक्लो बस्ती रहेका ठाउँहरू फानब्रो, क्यन्ट, अल्टरसट हुन् । यसबाहेक हन्सो, वयम्ली, ह्यारो लगायतका ठाउँमा पनि नेपालीहरुको बसोबास रहेको छ । बेलायतमा भुपु गोर्खा सैनिकहरूको हकहितका लागि भनेर खोलेका करीब आधा दर्जन संघसंस्थाहरु छन् । तर उनीहरूको प्रमुख एजेण्डा भने आफूहरूको असमान पेन्सनमा मात्र केन्द्रित रहेको देखिन्छ ।

यतिखेर बृटिश नागरिक जस्तै बेलायतमा बस्ने नेपाली समुदायका मानिस पनि कोरोनाको त्रासमा रहेका छन् ।

गत हप्ता मात्र लण्डनको ह्यारो बरोमा रहँदै आएका एक पूर्व गोर्खा लीलाबहादुर राईको कोरानाका कारण मृत्यु भएको आशङ्का गरिएपछि नेपाली समुदायमाा झनै त्रास फैलिएको हो । कतिपय समाचारले उनको मृत्यु कोरोनाका कारण नै भनेर लेखे पनि खासमा उनी लामो समयदेखि निमोनियाबाट ग्रसित रहेको अस्पतालको रिपोर्टमा उल्लेख छ ।

यस्तै सोही बरोमा बस्दै आएकी श्रीमती भगवती रानाभाट कोरोनाबाट सङ्क्रमित भई उपचार पछि १४ दिनमा नर्थवीक पार्क अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

यस्तै बिहीबारसम्मको समाचारअनुसार लण्डनको साउथ ईष्टमा एक जना नेपाली कोरोनाको कारण सघन उपचार कक्षमा भर्ना भएका बताइएको छ ।

बेलायतमा कोरोनाको कारण नेपाली समुदायमा खास गरी सबैभन्दा बढी असर भुपु गोर्खा परिवारका ज्येष्ठ नागरिकमा परेको यहाँका नेपाली समुदायका नागरिकको अनुभव छ । त्यस्तै गत वर्ष मात्र डिसेम्बर र यो वर्षको जनवरीमा भर्ना भएर पढ्न आएका विद्यार्थीहरूलाई यस महामारीको बढी प्रभाव परेको देखिन्छ । त्यसमा पनि भुपु गोर्खाहरू जसका आफ्ना सन्तान बेलायतमा छैनन् र एकल पुरुष र महिला छन् उनीहरु बढी मर्कामा परेको देखिएको छ ।

कोरोनाका कारण बाहिर जान कठिनाई हुने, कसैगरी बजारसम्म पुगे पनि खाद्यान्न आभाव हुने गरेको छ । कोरोनाको कारण लकडाउन नहुँदै चाहिने भन्दा बढी सामान थुपारिएको कारण सामान समेत पाइएको छैन ।

यहाँका व्यापारी र सरकारले पनि खाद्य सामग्री बजारमा प्रशस्त मात्रामा रहेको भनिए पनि ठूला सुपरमार्केटमा सामानको अभाव देखिएको छ । जसको उदाहरण ट्वाइलेट पेपरका लागि बजारमा नागरिकले लुछाचुँडी गरिरहेका ‘भिडियो क्लिप’ हरू सामाजिक सञ्जालमा हेर्न पाइन्छ ।

बेलायतमा कोरोनाको प्रकोप बढ्दै जाँदा पछिल्लो सयममा नेपाली विद्यार्थीहरूलाई यसको समस्या बढी देखिन थालेको छ । केही विद्यार्थीले त आँफुले पढ्ने विश्वविद्यालय बन्द भएको र काम पनि नगरेको हुँदा बस्न खानलाई पैसा नभएको भनिरहेका छन् ।

खासगरी गत डिसेम्बरमा पढ्न आएका विद्यार्थीहरूले अझै काम पाएका छैनन् भने कतिपयले भर्खर काम शुरु गर्न लागेको बताएका थिए । यसबीचमा प्रकोप बढ्न थालेपछि काम छोड्नु परेकोले झनै अफ्ठारोमा परेको बताउँछन् । यहाँको सरकारले पनि अत्यावश्यक सामग्री बाहेक कपडा स्टेशनरी लगायतका पसलहरू बन्द गर्न भनेपछि यस्तै ठाउँमा काम भएकाले पनि छाड्नु परेको छ ।

सरकारले पप रेष्टुरेन्टमा काम गर्ने कामदारलाई तलबको ८० प्रतिशत रकम दिने नीति केही दिनअघि घोषणा गरेको छ । तर तिनमा काम गर्नेमा नेपाली विद्यार्थी भने निकै कम छन् । एक त यहाँ कामै पाउन गाह्रो छ । अर्काे कुरा कामै पाए पनि हप्तामा २० घण्टा मात्र कामगर्ने अनुमति भएका कारण विद्यार्थीहरू निकै अफ्ठारोमा छन् ।

लण्डनभन्दा बाहिर रहेको हडलफिल्ड विश्वविद्यालयमा मात्र यो जनवरीमा एक सय भन्दा बढी विद्यार्थी आएका छन् । तुलनात्मक रुपमा लण्डन भन्दा बाहिर बस्न डेरा भाडा सस्तो हुने गर्दछ । तर ती स्थानमा सुपरमार्केट थोरै हुने हुँदा सामान महङ्गो र पाउने सम्भावना समेत कम हुन्छ ।

सुनसरी घर भई हाल हडलफिल्ड विश्वविद्यालयमा ईन्जिनियरिङ पढ्ने एक जना विद्यार्थीले आफ्नो नाम नबताउने शर्तमा अब दोस्रो हप्तादेखि खान पनि समस्या हुने बताएका थिए । उनले ती क्षेत्रमा आफ्नो जस्तै अवस्थामा अरु कम्तीमा पनि ३० जना विद्यार्थी रहेको बताएका छन् ।

सरकारले पप रेष्टुरेन्ट, जीम, पार्क एवं स्कुलहरू बन्द गर्न भनेपनि पूर्ण रुपमा लकडाउन गरेको थिएन । दुई दिनअघि मात्र एकै दिनमा ५६ जनाको मृत्य भएपछि यहाँ सन्त्रास बढेको हो । बेलायतमा रहेका कतिपय नेपालीले दुःख परेका नेपालीलाई हामी खाना र बास दिन्छौं भने पनि यसको समन्वयको अभाव छ ।

भुकम्पका बेला लण्डनमा रहेको नेपाली दुताबासले समन्वयात्मक भूमिका खेलेका कारण बेलायतका नेपाली संघसंस्थाहरूले साधारण मात्रामा भए पनि सहयोगमा जुटेका थिए । त्यो बेला पनि एनआरएनएले राज्यलाई नदिएर हामीलाई रकम दिनुस् भनेर समेत छुट्टै अभियान चलाएका थिए ।

यो पटक लन्डनस्थित नेपाली दुताबासले कोरोना प्रकोपसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति गठन गरेको छ । यसमा एक मूल समिति र थप पाँच वटा उपसमिति बनाई संयोजक र अन्य सदस्यहरू राखिएको छ ।

यो समिति र दूताबासको भुमिकाबारे दूताबासका प्रवक्ता एव नियोग उपप्रमुख सरदराज आरनले नेपाली समुदायका कसैले सहयोग गर्न चाहेमा ती व्यक्तिहरूलाई पीडितसँग समन्वय गराई सहयोग गर्न आग्रह गर्नेगरी मध्यस्थकर्ताको रुपमा काम गर्ने बताए । दूताबासले छुट्टै आर्थिक वा अन्य खाद्यान्न सहयोग गराउने कुनै योजना नरहेको पनि उनले जानकारी दिए ।

सरकारका अधिकारीहरूले राज्यको ‘फुड ब्याङक’ मा आवश्यक खाद्यान्न छ भने पनि बजारमा खाद्यान्यको अभाव भएपछि दुःख पाउने स्थिति झनै बढेको देखिन्छ । विशेषगरी लन्डनका सुपरमार्केटहरुमा वृद्धवृद्धाहरू खाली बास्केट हातमा लिएर घुमिरहेको देखिन्छ ।

व्यापारीहरूले कामदारहरू समेत अभाव रहेकोले पनि सामान आपूर्ति गर्न कठिनाई भइरहेको बताएका छन् । उनीहरुले अस्थायी कामदारको माग गरिरहेको देखिन्छ तर काम गर्न मानिसहरु त्यति तयार पनि देखिँदैनन् ।

आस्डा, लिडल, टेस्को, कोपलगायतका ठूला सुपरस्टोरहरूले कम्तीमा पनि ४ हजार जना अस्थायी कामदारका लागि विज्ञापन गरेका छन् । बजारमा औषधीको पनि अभाव हुँदैछ । औषधी बेच्ने सबै भन्दा ठूलो पसल बुड्सले आफ्ना नियमित ग्राहकलाई समेत औषधी पुर्‍याउन कठिन भएको बताएको छ ।

बुड्स जस्ता औषधी पसलहरूले निःशुल्क रुपमै घरमा औषधी पु¥याउन सहयोग गर्छौं भनेर बाचा गरे पनि त्यो काम पूर्ण रुपमा भएको छैन । औषधीको अभावका कारण पनि भुपु गोर्खाका बृद्धृबृद्धालाई असर पर्ने सो समुदायका नागरिकले बताएका छन् ।

एकातर्फ अहिले कोरानाको दुरी कायम गर्न प्राथमिक स्वास्थ चौकीहरूले प्रत्यक्ष भटेर परामर्श दिन छोडेका छन् । फोनबाट चिकित्सक र नर्सले परामर्श दिँदा पनि अङ्ग्रेजी भाषाको समस्या छ । राज्यले दोभाषेको व्यवस्था गरे पनि अधिकांश दोभाषेहरू घरमै एकान्तवास (सेल्फ आइसोलेशन) मा छन् ।

सरकारले घरमा सेल्फ आइसोलेसमा बसेका र परिवारमा अरु कोही सदस्य नरहेकालाई सरकारका स्थानीय प्रतिनिधिहरु र काउन्सिलहरूलाई परिचालन गरी घरमै खाद्यान्य पुर्‍याउने योजना सुनाएको छ । तर त्यसले पनि नेपाली समुदायलाई सहयोग पुगे जस्तो देखिँदैन ।

प्रत्येक दिनको बढ्दो मृत्युका कारण अस्पतालमा शैयाको खाँचो बढ्दै गएको छ । त्यसैले यहाँका निजी अस्पतालले आफ्ना उपकरणसहित प्रयोगका लागि अस्पताल भवन दिएका छन् । सैनिकहरूले पनि आफ्नो अस्पताल दिने घोषणा गरेका छन् ।

पछिल्लो २४ घन्टामा लण्डनमा रहेका कतिपय खाली भवनहरुलाई अस्थायी अस्पतालका रुपमा परिणत गरिएको छ । अस्पतालमा कामदारको अभाव भए पछि यहाँका करिब ४ लाख पूर्व कर्मचारीहरूले स्वयंसेवकका रुपमा काम गर्न तयार रहेको भन्दै फारम भरेका छन् । यसकारण उपचारमा अब अलि बढी सुविधा हुने देखिन्छ ।

यस्तै सरकारले अब एक दुई दिनभित्रै प्रत्येक नागरिकका घरमा कोरोना भाइरस जाँचको लागि कीट निःशुल्क उपलब्ध गराउने घोषणा गरेकोछ । जुन कीटको प्रयोगले पन्ध्र मिनेटभित्र कोरोनाको सङ्क्रमण भए नभएको थाहा हुने बताइएको छ । यो कीट प्रयोगका लागि दिइने परामर्शमा यहाँका नेपाली समुदायले व्यापक रुपमा स्वयंसेवक परिचालन नगरे पुनः नेपालीहरू यसको उपयोगमा पनि ढिला हुनेछन् ।

सन् २०१२ मा गरिएको एक अध्यायनले बेलायतमा रहेका नेपाली समुदाय दक्षिण एशियाका अन्य देशहरू भन्दा निकै कम मात्र अस्पताल जाने देखाएको थियो । यसरी कमै मात्र अस्पताल जानुको प्रमुख कारण अङ्ग्रेजी भाषा बाधक रहेको सो अध्ययनले देखाएको थियो । तर यतिबेलाको यो महामारीका समयमा भने नेपाली समुदाय पनि अन्य समुदाय जस्तै थप चनाखो हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्