इटालीको भयावह महामारी प्रत्यक्ष देखेर आएका सशस्त्रका पूर्व महानिरीक्षक भन्छन्, ‘युद्ध मैदान भन्दा डरलाग्दो छ इटाली’


प्रकाशित मिति : 28 March, 2020 8:07 am

काठमाडौं, १५ चैत । सशस्त्र प्रहरी बलबाट अवकाश भएपछि मैले आफ्नै रहरले कानुनमा स्नातकोत्तर (एलएलएम) गरें र केही पहिले मास्टर्स तहको अन्तर्राष्ट्रिय कोर्षका लागि अप्लाई गरें ।

त्यसैको सिलसिलामा अन्तर्राष्ट्रिय कानुनको सम्पदा संरक्षणसम्बन्धी कानुन (हेरिटेज ल) पढ्न करिब डेढ महिनाअघि म इटालीको तुरिन विश्वविद्यालय गएँ । म पुग्दा तुरिन सिटीमा खासै संक्रमण फैलिएको थिएन । बरु रोम र भेनिसतिर व्यापक भइसकेको थियो ।

त्यहाँ जानुअघि नै चीनको खबर थाहा पाएकाले सुरक्षाका लागि पञ्जा र मास्कहरू बोकेको थिएँ । सहपाठी र चिनेजानेका सबैले हात मिलाउने अभिवादनको सामान्य प्रक्रिया थियो । मचाहिँ सबैलाई नमस्कार गर्थें । मेरो त्यो व्यवहारप्रति धेरै साथीहरूले टिकाटिप्पणी गरे । कतिले ‘डरपोक’ भने, कतिले केही हुँदैन भन्दै हात अघि सारे। सबैलाई नमस्कार गर्दा म हाँसोको पात्र बनें ।

डढेलो जस्तो संक्रमण

त्यहाँ फेब्रुअरीको अन्तिम सातातिर एक जनाको निधन भयो । त्यसलगत्तै संक्रमितको संख्या ह्वात्तै बढ्यो । सरकारले सावधानी अपनाउन सार्वजनिक अपिल जारी गर्‍यो । त्यहाँका मानिसहरू अनुशासनमा बस्दैन रहेछन् भन्ने मेरो बुझाइ रह्यो ।

दिनहुँ संक्रमितको संख्या बढ्यो । दुई सातामा यसरी बढेर गयो कि विश्वास गर्नै नसकिने खालको भयो । तैपनि मानिसहरूले चेतेनन् । सामान्य अवस्था जस्तो व्यवहार र क्रियाकलाप जारी राखे । बजारमा जाने, भेला र जमघट गर्ने, खाने फर्कने भइरहेको थियो । म चीनको अवस्था देखेर अलि सतर्क थिएँ तर साथीहरू ‘जाऊँ हिँड, बाहिर गएर खाएर आऊँ’ भनिरहन्थे, म मान्दिनथें ।

केही दिनमै अवस्था निकै भयावह हुन थाल्यो । छिनछिनमा एम्बुलेन्स जाने, एकै छिनमा फर्कने गर्न थाले । अर्कोपट्टि त्यस्तै साइरन बजाएर एम्बुलेन्स र सुरक्षाकर्मीका गाडी दौडने गर्न थाले । हामीले राष्ट्रिय संकट र विपत्तिमा सेना र प्रहरीले काम गर्ने भनेर सिद्धान्तमा पढेका थियौं । सेवामा हुञ्जेल यसको वास्तविक अर्थ बुझ्न सकेको थिइनँ । अब म पनि मर्ने भएँ कि क्या हो

भनेर सबैजना भयभित हुने अवस्था आउन थालेपछि बागडोर सम्हाल्नुपर्ने सुरक्षाकर्मीले नै रहेछ ।
विपत् व्यवस्थापनमा सुरक्षा निकायलाई जिम्मेवारी दिने चलनबारे जहिले पनि म सोचमग्न हुन्थें। हुन त म प्रमुख भएकै बेला सशस्त्र प्रहरी बलमा विपत व्यवस्थापन तालिम केन्द्र स्थापना भएको हो । बन्दुक बोक्ने र युद्धमा जाने मान्छेलाई किन युद्धबाहेकका विपत व्यवस्थापनको जिम्मेवारी दिने होला भन्ने सोच्थें ।

इटालीका सुरक्षा निकाय (खासगरी सेना) का मान्छेको काम देखेर म चकित परें । लडाइँभन्दा दर्दनाक अवस्था थियो, लडाइँ बरु सजिलो होला जस्तो लाग्छ । त्यस्तो अवस्थामा सुरक्षाकर्मीले अग्रपंक्तिमा बसेर काम गर्दा रहेछन् । परिवारका सदस्यसमेत नगएको अवस्थामा अस्पतालमा मरेकाहरूको शव व्यवस्थापनलगायतका जोखिमपूर्ण काममा सैनिकहरू परिचालित थिए ।

जनताले अटेर गरेपछि
त्यहाँ संक्रमण सुरु भइसकेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको थियो तर दैनिकी नियमित रुपमा चलिरह्यो, कसैले गम्भीरतासाथ लिएनन् । उनीहरुको जीवनशैली, स्वस्थता, सरसफाइ र स्वास्थ्य सुविधा हामीसँग तुलना हुँदैन, निकै राम्रो छ । तर उनीहरूले यो महामारीको पूर्वसन्ध्यामा आवश्यक सावधानी नअपनाउँदा संक्रमण डढेलोझैं फैलियो ।

त्यहाँको सरकारले संक्रमण नियन्त्रणको केही प्रयास गरेकै हो तर नराम्रोसँग चुक्यो । बेलैमा लकडाउन नगर्दा र नागरिकले सरकारका निर्देशनलाई सामान्य ठानिदिँदा महाभूल भएको देखियो । म पढ्न जाने युनिभर्सिटीको क्लासमा सेनाका अधिकृतहरूलगायत अरु पनि थिए । नेपालमा पनि सेनाकै स्कुलमा पढेको हुनाले फौजी अनुशासनसँग परिचित थिए ।

आफू सतर्क भएर हात नमिलाउँदा म साथीहरुको सोसाइटीबाट बाहेक भए जस्तो देखियो । ‘तँ डराउँदो रहेछस्’ भनेपछि मैले जवाफमा ‘म लड्न डराएको होइन, यो लडाई जस्तो होइन । यो बहादुरी देखाउने नभइ सावधानी देखाउने बेला हो’ भनें । यसो भन्दा उनीहरुलाई जोक सुनाए जस्तो हुन्थ्यो । मेरो भनाइ उनीहरुले सुन्ने र टेर्ने त कुरै थिएन ।

त्यसपछि सरकारले मास्क लगाउनुपर्ने नियम ल्यायो । भीडमा नहिँड्नु भन्यो, कसैले सुनेनन् । ‘चीनले अलि जोरजब्बरजस्ती शैलीमा नियन्त्रण गरेको हो । हामी त प्रजातान्त्रिक प्रणाली भएको मुलुक हो, कहाँ जबर्जस्ती हुन्छ ?’ भन्ने शैलीमा मानिसहरू प्रस्तुत भए । उनीहरुको बोली, व्यवहार र प्रतिक्रियासमेत त्यस्तै खालको थियो ।

सबैले नटेरेपछि प्रधानमन्त्रीले विशेष आदेश नै जारी गर्नुपरेको थियो । त्यो आदेश भएको कागज सबैलाई बाँडियो । त्यही कागजमा साथमा राख्ने र कहीं जाँदा त्यो देखाउनुपर्ने नियम बसाइयो । मैले पनि बाहिर हिँड्दा त्यो कागज लिएर ठाउँ–ठाउँमा देखाएँ ।

यो कामका लागि यतिबेला यहाँ जान्छु भनेपछि उनीहरुले जाँचपड्ताल गरेर मात्रै जान दिन्थे । त्यति गर्दा पनि लकडाउनको नियम प्रभावकारी भएन । अनि सरकारले ठूलो रकम जरिवानाको घोषणा गरेपछि घुमफिरको बन्देज अलि पालना भयो ।

म त्यहाँ रहँदा भात आफैं पकाएर खान्थें । त्यसका लागि सामान किन्न बाहिर निस्कनुपथ्र्यो । पसल जाँदा मास्क लगाएर हिँड्थें । मानिसहरू मदेखि टाढा हुने, डराउने जस्तो व्यवहार गर्न थाले । ‘किन मास्क लगाएर आएको, तिमी बिरामी हौ ?’ भनेर सोध्न थाले ।

भोलिपल्ट मास्क सकिएपछि औषधि पसलमा मास्क किन्न गएको थिएँ । ‘तिमी बिरामी भएर पनि यति नजिक किन आएको, अलि परै बस’ भने । जवाफमा मैले ‘म स्वस्थ छु, मैले सावधानीका लागि मात्रै मास्क लगाएको हुँ’ भनेर स्पष्टीकरण दिनुपर्‍यो । मास्क लगाउनेलाई बिरामी ठान्ने उनीहरु सरकारले जारी गरेको आदेश समेत उल्लंघन गरिरहेका थिए ।

पर्यटकहरुको भीड हुने सहरहरु संक्रमण बढ्दै गएपछि रित्तिइसकेका थिएँ । निश्चित समयमा अत्यावश्यक सामानका लागि पसल खुल्थ्यो । भीड नगरी सामान किन्न पाइने नियम बनाइएको थियो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अहिले पनि संक्रमितहरूको ट्रेसिङ गरिरहेका छन् । तर स्वतन्त्रताको अत्यधिक उपभोग गरेका आमनागरिकलाई ‘क्वारेन्टाइन’ जस्तो कठोर अवस्थामा ल्याउन सरकारलाई निकै हम्मेहम्मे पर्‍यो । त्यही अवधिमा संक्रमण व्यापक फैलिएको देखिन्छ ।

त्यही दिन साथीहरूले फेरि मलाई बाहिर गएर बेलुकीको खाना खाने अफर गरे । ‘म त जाँदिनँ’ भनेर प्रतिक्रिया दिँदा उनीहरु ‘कहाँ यो फ्लु (रुघाखोकी) सँग पनि डराएर हुन्छ, पेल्नुपर्छ’ भनेर ठट्यौली शैलीमा प्रस्तुत भए । त्यसको भोलिपल्टदेखि सरकारले बन्देज उल्लंघन गर्नेलाई तीन महिना जेल हाल्ने चेतावनी दियो । त्यसलाई पनि कडाइको भाषामा प्रधानमन्त्रीको आदेश भनिएको थियो ।

क्वारेन्टाइनमा छु
म मार्च १७ तारिख (चैत ७ गते मध्यराति) नेपाल आइपुगेँ। नेपाल आउनु २र३ दिन अघिदेखि बजारमा फाट्टफुट्ट मास्क लगाएका मानिसहरू देखिन थालेका थिए । म हिँड्नु अघिल्लो दिन पनि केही कामले बजार गएको थिएँ । त्यतिबेला चाहिँ पसलहरूमा ग्राहकलाई दूरीमा राखेर सामान बिक्री गरिरहेका थिए । म आएको १० दिन भयो ।

आएपछि परिवारका सदस्यसँग पनि बसेको छैन । घरको तलपट्टि बसेर आफैं खाना पकाएर खाने गरेको छु । संक्रमणको त्रासका कारण म विमानस्थलदेखि घरसम्म आउँदा गाडीमा पनि प्लास्टिक ओढेर आएको थिएँ । अहिले मैले सशस्त्र प्रहरी अस्पतालमा समन्वय गरेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको छु । म क्वारेन्टाइनको अवधिभर कतै पनि जान्न ।

फर्केर आउने क्रममा जर्मनीमा पुलिसले अलि बढी सोधपुछ र केरकार गरेको थियो । मेरो फ्लाइट छुटेपछि कतार हुँदै आएँ । म कतार आएपछि त्यहाँ स्वदेश फर्कन लागेका थुप्रै नेपाली भेटिए । उनीहरू अधिकांश मास्क र चस्माबिना बसेका थिए । तपाईंहरू सोझै घर नजानु, क्वारेन्टाइनमा बसेर सुरक्षित भएपछि मात्रै घरमा घुलमिल हुनुहोला भनेर सुझाव दिए।

सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ

विमानमा पनि मैले त्यही सुझाव दिएँ । हामी त घर फर्किने हो, बाँचे सँगै बाँच्ने, मरे सँगै मर्ने हो भनेर जवाफ दिन थाले । उनीहरूलाई मैले सकेको सम्झाएर आफू पनि जोगिनुपर्छ, परिवार र छिमेकीलाई पनि संक्रमणबाट जोगिन दुई साता अलग बस्नुपर्छ भन्ने सल्लाह दिएँ तर उनीहरु त्यो ‘मुड’ मा थिएनन् ।

इटालीबाट के सिक्ने ?
नेपालको भन्दा १० औं गुणा गुणस्तर र सेवा प्रवाह क्षमता भएको इटालीमा स्वास्थ्य प्रणालीले मात्रै नसकेर सेना परिचालन गर्नुपरेको छ । त्यहाँ कसैले शव उठाएको छैन, सेना नै खटिनुपरेको छ । मसँगै पढ्ने एउटा सहपाठी त्यहाँको सेनाको उच्च अधिकारी पनि हो । ऊसँग कहिलेकाहीँ कुराकानी हुँदा अवस्था अझै जटिल रहेको बताउँछ ।

इटालीको अनुभवले के देखायो भने मानिस आफैं अस्पताल जाने होइन रहेछ । सबैका लागि एउटा टोल फ्री नम्बर बनाइदिने अनि त्यसमै बिरामी र लक्षण देखिएका मानिसहरूले खबर गर्नुपर्ने रहेछ । बरु सबैलाई पायक पर्ने ठाउँमा स्क्रिनिङ सेन्टर बनाउने, त्यहाँ एम्बुलेन्स पनि राखेर लैजाने । विकसित मुलुकको तुलनामा हामीसँग स्रोतसाधन केही पनि छैन । यहाँ बस्नेहरुले इटालीको समाचार सुनेका मात्रै छन्, त्यसले खासै प्रभाव र असर पर्दैन ।

पछिल्ला दिनहरुमा त्यहाँको अवस्था भयावह थियो । त्यति स्रोत–साधनका बाबजुद स्थिति नियन्त्रण बाहिर गएको थियो । हाम्रोमा त के हाल होला? सम्झँदा कहाली लाग्छ । इटालीमा कसैलाई लक्षण देखियो वा यो कोरोना संक्रमित हो भन्ने भयो भने एम्बुलेन्समा हालेर लगेको देखियो ।

किनभने बिरामी आफैं अस्पताल जाँदा ऊबाट अरु संक्रमित हुने डर हुन्छ । त्यहाँ त्यस्ता स्क्रिनिङ सेन्टरबाट अस्पताल लैजाने एम्बुलेन्सहरु पनि संक्रमण नसर्ने गरी सुरक्षाको उपाय अपनाएर व्यवस्थित गरिएको हुन्थ्यो । नेपालले पनि यही मोडेल अपनाउनुपर्छ होला ।

हामीले हाल अपनाइरहेको मोडेलमाथि पनि सोचविचार गर्नुपर्छ। त्यसैले मेरो व्यक्तिगत सल्लाह– सके शंकास्पद बिरामीको घरसम्म एम्बुलेन्स लगेर उनीहरुको जाँच र उपचार गर्नुपर्छ। नभए झनै जोखिम हुन्छ। शंकास्पद बिरामी आफैं अस्पताल पुग्ने र उपचारका लागि पालो पर्खिने अहिलेको तरिका गलत छ। ऊ अरुका सवारीसाधन वा सहायताबाट अस्पताल जाँदा संक्रमण फैलने जोखिम रहन्छ। बिरामीलाई घरघरबाट उठाएर ल्याउने व्यवस्था अपनाउनै पर्छ।

मैले इटालीको अनुभव देखेर भनिरहेको हुँ, त्यहाँ एकजना मानिस मरेपछि त्यो संख्या १० भएन, झन्डै १०० पुग्यो। डढेलोको शैलीमा संक्रमण बढ्यो। इटालीको पाठ सिकेर हामीले कडा रुपमा अनुशासनको पालना गर्नुपर्छ, त्यसको कुनै विकल्प छैन। हाम्रोमा जसरी लकडाउन भएको छ, त्यो निकै राम्रो काम हो। एकापसमा दुरी बढाउनै पर्छ।

त्यसको कुनै विकल्प छैन। यो कडाइका साथ लागू नगरेमा बेहाल हुन्छ, त्यसपछि कसैले बचाउन सक्नेवाला छैन। उनीहरूले ढिलो भए पनि महसुस गरेका कारण लकडाउनकै रणनीतिमा आइपुगेका हुन्। हाम्रोमा सावधानी नै रोगबाट जोगिने उचित उपाय हो र त्यसमै जोड दिनुपर्छ। कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्