उपचार नपाउँदा तीन बालिकाको गयो ज्यान, कस्ता थिए बिरामी ?


१६ चैत्र २०७६, आईतवार
kanti bal hospital

काठमाडौं १६, चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी जोखिम न्यूनिकरणका लागि देशव्यापी लकडाउन भएको प्रतिकूल अवस्थामा उपचार नपाएर तीन बालिकाको ज्यान गएको छ ।

काठमाडौंका दुई र सर्लाहीका एकजना बालिकाको उपचारमा पहुँच नपुगेर निधन भएको कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए ।

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याउन नपाउँदै बाटोमै बालिकाको ज्यान गएको हो । अस्पताल आए लगत्तै ८ महिनादेखि ५ वर्षकी बालिकालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

लकडाउनका कारण सवारी साधन नचलेको र अभिभावककमा पनि सुझबुझ नहुँदा अकालमा बालिकाले ज्यान गुमाउनु परेको डा. पौडेलले बताए । दश वर्ष मुनिका तीन जना बालबालिकालाई अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै ज्यान गइसकेको थियो ।

सरकारले चैत ११ गतेदेखि चैत बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द छन् ।

कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको भोलिपल्ट निधन भएको हो । डा. पौडेलकाअनुसार, तीन दिनको अवधिमा तीन जना बालिकाको निधन भएको छ । ‘लकडाउन सुरु भएकै दिनमा यो घटना भयो । लगातार जस्तो बालिकाले ज्यान गुमाउन पुगे । ज्यादै दुःख लाग्यो’, उनले भने । चैत ११ र १२ गते यी घटना भएका थिए ।

कस्ता बिरामी थिए ?

अस्पतालका निर्देशक पौडेलका अनुसार, गोपनियताको दृष्टिले गर्दा नाम दिने गरिएको छैन । लकडाउन घोषणाको पहिलो दिन चैत ११ गते सर्लाहीकी बालिकाको बिहानपख ज्यान गएको हो । त्यसको भोलिपल्ट अर्की बालिकाको ज्यान गयो ।

५ वर्षकी ती बालिका काठमाडौं, बुढानीलकण्ठकी हुन् । बालिकालाई मस्तिष्क पक्षघातको दीर्घ समस्या रहेको डा.पौडेलले जानकारी दिए । यी बालिकालाई चैत १२ गते कान्ति अस्पतालमा लगिएको थियो ।

टयाक्सीमा बिहान ३ बजे अस्पताल लैजाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । ज्यान गुमाएकी अर्की बालिका ८ महिनाकी हुन् । उनका अभिभावक काठमाडौंस्थित कालीकाटी ठेगाना उल्लेख गरेका छन् ।

उनलाई झाडापखाला भएको थियो । अभिभावकले नजिकै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगेका थिए । शुक्रराज अस्पतालमा कोरोना भाइरस संक्रमण देखिएका ४ जना आइसोलेसनमा उपचाररत छन् । सो अस्पतालले बालिकालाई कान्ति अस्पतालमा रेफर गरेको थियो ।

डा. पौडेलले भने, ‘झाडापखाला भएको पछिल्लो केश बचाउन सकिन्थ्यो । धेरै टाढाको पनि होइन कालिमाटीतिर बस्ने रहेछ । अभिभावकलाई कहाँ जाने, के गर्ने ? भन्ने सम्बन्धमा द्विविधामा परेर पनि हो की ? रातिको बेला पनि भएर होला कता जाने भन्ने भयो ।

तयारी गर्दा गर्दै पनि ढिलो भयो होला । यो चाहीं अलि दुःखद हो ।’ ती बालिकाको बिहानपख ५ बजे निधन भएको थियो । देशव्यापी लकडाउनका कारण औषधि र खाद्यान्न बाहेक अन्य ओसार पसार र आवागमन बन्द भएका कारण एम्बुलेन्स समेत चलेका छैनन । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७