वीरगञ्ज र जनकपुरबाट पनि कोरोनाको उपचार


१६ चैत्र २०७६, आईतवार
national medical collage

काठमाडौं १६, चैत । सरकारले कोरोना रोकको परीक्षण र उपचारको दायरा बढाउँदै लगेको छ ।

महामारीको रुपमा फैलिइरहेको कोरोना उपचारमा नागरिकको सहज पहुँच बढाउन सरकारले राजधानी बाहिर पनि परीक्षण र उपचारको थप व्यवस्था मिलाउँदै लगेको छ । यसैक्रममा आज (आइतबार) देखि प्रदेश–२ को जनकपुर र वीरगञ्जमा पनि कोरोना संक्रमितको उपचार हुने भएको छ ।

प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेज वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको प्रदेश सरकारले जानकारी गराएको छ । कोरोना संक्रमितका उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा १० वेड छुट्याइएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जानकारी गराएका छन् ।

कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीलाई मात्र उपचारका लागि वार्डमा राखिने यादवले जानकारी दिएका छन् ।

‘यहाँ कोरोना चेकजाँचको ल्याव छैन । शंकास्पद बिरामीको स्वाव लिएर परीक्षण गर्न काठमाडौं नै पठाउनु पर्छ,’ उनले भने । ‘कोरोना उपचारका लागि हाललाई १० वटा बेड छुट्याएका छौं, बाँकी व्यवस्थापनको काम पनि गरिरहेका छौं । उपकरणहरु आउन बाँकी छ ।’

कोरोनाका बिरामीको उपचार शुरु गरे पनि अस्पतालमा अकास्मिक, प्रसुति, ज्वरो, डायलाइसिस लगायतका अतिआवश्यक सेवा सुचालु नै रहने उनले जानकारी दिए । यसअघि कोरोनाको उपचार जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुरस्थित सिटी हस्पिटलमा हुने निर्णय प्रदेश २ सरकारले गरेको थियो ।

तर, शिक्षण अस्पतालको व्यवस्थापन पक्ष प्रतिवद्धताबाट पछि हटेपछि जनकपुर प्रादेशिक अस्पतालमा नै उपचार गर्ने व्यवस्था मिलाइएको हो ।

प्रदेश–२ का समाजिक विकासमन्त्री नवलकिशोर साहको संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण कमिटीले शनिबार जनकपुरमै कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताएका छन् ।

प्रदेश–२ मा प्रादेशिक अस्पताल जनकपुरको अलावा पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा पनि कोरोना उपचारको व्यवस्था मिलाइएको छ ।

‘नेशनल मेडिकल कलेजमा ५० वटा आइसोलेशन बेड तयार गरिएको छ । कोरोनाका शंकास्पद बिरामी अथवा पुष्टि भएका बिरामीलाई वीरगञ्ज र प्रादेशिक अस्पताल जनकपुरमै आइतबारदेखि उपचार गर्ने व्यवस्था मिलाएका छौँ,’ बरिष्ठ अधिकृत झाले भने । यस्तै पूर्वको सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाको परीक्षण हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७